दिवसमा फलफूल वितरण

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ कात्तिक । विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको अवसरमा प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत ५५ जना बिरामीलाई फलफूल वितरण गरिएको छ ।

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहँदा प्रादेशिक अस्पताल तुलसीपुरका बिरामीलाई फलफूल वितरण गरी मनाइए नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रीय महासचिव प्रेमबहादुर वलीले बताए ।

फलफूल खानाले स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले बिरामीलाई फलफूल वितरण गरिएको उनले बताए । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत् स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३० औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको छ ।

सन् १८९५ नोभेम्बर ८ मा जर्मनीका वैज्ञानिक विल्हेल्म रोइन्टजेनले रेडियोग्राफीको आबिष्कार गरेका थिए । वैज्ञानिक रोइन्टजेनले गरेको विकिरण एक्स–रे को आबिष्कारको सम्झनामा प्रत्येक वर्ष यो दिवस विश्वभर मनाइँदै आइएको छ ।