दोश्रो गोरखा कप फुटबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत
दाङ,२२ कात्तिक । तुलसीपुरमा दोस्रो गोरखा कप छात्र÷ छात्रा फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । गोरखा ग्रुप प्रालीको आयोजना तथा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको ब्यबस्थापनमा सुरु भएको प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भन्डारीले उद्घाटन गरेका हुन ।

कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष भण्डारीले राज्यले सिङ्गो खेलकुद क्षेत्रलाई उपेक्षा गरेको बताए । ‘खेलकुद मानव जीवनकै अभिन्न अंग हो, स्वस्थ जीवनशैली हो’,उनले भने,‘नेपाल भन्दा कान्छा मुलुकले खेलकुदकै माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि बढाई सक्दा नेपालको खेलकुद दिनप्रतिदिन खस्किनुले स्पष्ट रुपमा राज्यले खेलकुद लाई उपेक्षा ग¥यो भन्न सकिन्छ ।’

साथै उनले खेलकुद क्षेत्रमा हावी भएको राजनीतिले फोहोरी खेलका बिचमा नेपाली खेलकुद क्षेत्र धराशायी भएको बताए । कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले राष्ट्रको सान र गौरव जोडिएको खेलकुद क्षेत्रलाई राज्यका तिनै तहका सरकारले उचित सम्बोधन गर्न नसकेको बताए । खेलकुद राज्यका आवश्यक पर्ने स्वस्थ, अनुशासित,सबल र सक्षम युवा जनशक्ति तयार गर्ने प्रमुख थलो भएपनी यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नबन्दा नेपाली खेल क्षेत्रले उचाई लिन नसकेको धारणा ब्यक्त गरेका थिए ।

सबल शरिर,अनुशासन र सशक्त बिचार – खेलकुद गोरखा ग्रुपको पहिचान र आधार भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको उद्घाटन समारोह गोरखा ग्रुपका अध्यक्ष बिष्णु घर्तीको अध्यक्षतामा भएको थियो । त्यसअवसरमा गोरखा ग्रुपका उपाध्यक्ष बालकृष्ण रोकामगर, एकेडेमीक डाईरेक्टर दुर्गाबहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी हुमबहादुर पराजुली, फुटबलका पूर्व राष्ट्रिय खेलाडी सुधीर गुरुङ, गोरखा माबि तुलसीपुर संचालक समितिका उपाध्यक्ष डोरबहादुर जिसी,गोरखा माबि घोराहीका प्रिन्सीपल मानसिह घर्ती, गोरखा लालमटियाका प्रिन्सिपल वसन्त पुनमगर,गोरखा आवासीय तुलसीपुरका प्रिन्सीपल रबिन खड्कालगाएतको उपस्थिती रहेको थियो ।

गोरखा सेकेन्डरी स्कुल तुलसिपुरका प्रिन्सीपल बिजयमान जिएमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन बिद्यालय सुधांसु गुप्ताले गरेका थिए । यसैबिच प्रतियोगिताको छात्र तर्फ गोरखा घोराही र गोरखा लमहीले फाईनल यात्रा तय गरेका छ्न् । गोरखा लालमटियालाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै गोरखा घोराही फाईनल प्रवेश गरेको हो । त्यस्तै गोरखा तुलसीपुरलाई ट्राईवेकरमा ४ का विरुद्ध ५ गोल गर्दै गोरखा लमहीले गोरखा घोराहीसंगको फाइनल भिडन्त पक्का गरेको हो ।

त्यस्तै छात्रातर्फ गोरखा तुलसीपुर र घोराही गोरखाले बिजयी यात्रा सुरु गरेका छन् । शनिवार भएको खेलमा गोरखा लालमटियालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै गोरखा तुलसीपुर र दोस्रो खेलमा लमही गोरखा लाई १ काविरुद्ध २ गोलले पराजित गर्दै घोराही गोरखा बिजयी भएका थिए । प्रतियोगिताको फाइनल खेल आईतवार विहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको बिजेताले गोरखा कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । दुईदिनसम्म संचालन हुने प्रतियोगितामा गोरखा ग्रुपका गोरखा सेकेन्डरी स्कुल तुलसिपुर,गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही,गोरखा मोडल स्कुल लमही र गोरखा आईडल स्कुल लालमटियाका छात्रतर्फ चार र छात्रा तर्फ तिन टिमको सहभागीता रहेकोछ ।