घोराही, २२ कात्तिक । नेपालकै सर्वाधिक उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनले नयाँ उपन्यास नयाँ लुगाको पाण्डुलिपी सार्वजनिक भएको छ ।
नेपालमा धेरै उपन्यास लेख्न दोस्रो नम्बरमा पर्ने प्रियासनले १० दिनमै उपन्यासको पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो । उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षिय साहित्यकार एकराज शर्मा अधिकारीले सार्वजनिक गरेका हुन । उपन्यास प्रकाशन गर्ने अन्तिम तयार भएपनि उनले यसलाई बजारमा मंसिर महिनामा मात्र ल्याउने बताएका छन् ।
‘उपन्यास अबको चारदिनभित्रमा बजारमा ल्याउन पनि सकिन्छ, तर म यसलाई मंरिमा ल्याउने योजना बनाएको छु’, उनले भने,‘भित्रैबाट इच्छा शक्ति हुने हो भने लेख्न सुरु गरेको १५ दिनभित्रैमा बजारमा उपन्यास ल्याउन सकिदो रहेछ ।’कार्तिक २ गते कालो मन उपन्यास प्रकाशन गरेका प्रियासनले कालो मन उपन्यास लेख्न सुरु गरेको २५ दिनमा बजारमा ल्याएका थिए । कार्तिक महिनामा एउटा उपन्यास प्रकाशित गरिसकेकाले कम्तिमा एक महिनाको ग्याप राखौं भनेर साथीभाईहरुको सल्लाह ग्रहण गरेर नयाँ लुगा मंसिरमा ल्याउन लागि रहेको प्रियासनले जानकारी दिएका छन् ।
नयाँ लुगासँगै प्रियासनको १३ उपन्यास, एक कथा र एक सम्पादकीयको संग्रह बजारमा आउनेछ । यस वर्ष उनले कडी र कालो मन उपन्यास प्रकाशित गरिसकेका छन भने नयाँ लुगा अब केही दिनमा प्रकाशित हुनेछ । यस वर्ष थप केही अन्य उपन्यास पनि प्रकाशन गर्ने योजना बनाएको बताउने प्रियासन हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव समेत हुन ।
सामाजिक अभियानहरुमा सक्रिय प्रियासनले उपन्यास लेखनमा रुची राख्छन । राप्ती साहित्य परिषद्को पूर्व केन्द्रीय महासचिव समेत भैसक्नु भएका प्रियासन हाल साहित्य र पत्रकारितामा पनि सक्रिय हुन ।