वर्षाले १३ करोड ४३ लाख मूल्यको धानबालीमा क्षति

अमरराज आचार्य
दाङ, २२ कात्तिक । बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा १३ करोड ४३ लाख मूल्य बराबरको धानबालीमा क्षति भएको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार केही दिन अघि भएको वर्षाका कारण प्रदेशका १२ जिल्लामध्ये सात जिल्लामा १३ करोड ४३ लाख ५६ हजार चार सय ६१ रुपैयाँ मूल्य बराबरको धानमा क्षति पुगेको हो ।

तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा प्रतिक्विन्टल समर्थन मूल्य र चार दशमलव ३३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका आधारमा यो क्षति भएको निर्देशनालयका कृषि प्रसार अधिकृत नविन गैरेले जानकारी दिएका छन् । उनका अनुसार वर्षाले लुम्बिनीका १२ जिल्लामध्ये सात जिल्लाका आठ सय ९६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ ।

वर्षाले औषतमा तीन हजार आठ सय ७९ दशमलव ६८ मेट्रिक टन धानबालीमा क्षति पुगेको उनले बताए । यो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लामा गरेर दुई लाख ९८ हजार १० हेक्टरमा धान रोपिएको छ । प्रारम्भिक रूपमा सङ्कलन भएको विवरण अनुसार कूल बालीको शून्य दशमलव ३० प्रतिशत धान पूर्णरूपमा क्षति भएको कृषि प्रसार अधिकृत गैरेले बताए ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी रुपन्देहीको दुई सय ४० हेक्टर र सबैभन्दा कम बर्दियामा पाँच हेक्टर क्षेत्रफलको धानबालीमा क्षति भएको छ । ‘प्रतिशतमा हेर्दा थोरै भए पनि किसानको व्यक्तिगत धान खेतीको हिसाब यो पनि ठुलै क्षति भएको निर्देशनालयले जनाएको छ । कार्यालयका प्रमुख रामप्रसाद पाण्डेले सबै जिल्लाबाट विवरण आई नपुगेको बताए ।

‘अहिले प्रारम्भिक विवरण आएको हो, अब प्रदेशका पालिका र किसानका यकिन तथ्याङ्क केही दिनमा आउँछ’, प्रमुख पाण्डेले भने । प्रदेशमा एक लाख ६९ हजार तीन सय १५ हेक्टर अर्थात् ५६ दशमलव ८२ प्रतिशत धानबाली बिना क्षति थन्काइएको र एक लाख २१ हजार दुई सय १५ हेक्टर अर्थात् ४० दशमलव ६७ प्रतिशत धान काट्न बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

काटेर खेतमा राखेका मध्ये सात हजार दुई सय ५० हेक्टर अर्थात् दुई दशमलव ४३ प्रतिशत धानबाली भिजेको कृषि प्रसार अधिकृत गैरेले बताए । आठ सय ९६ हेक्टर अर्थात् शून्य दशमलव शून्य तीन प्रतिशत धानबालीमा क्षति भएको छ । रुपन्देहीमा ५९ हजार नौ सय ६१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतमा भिजेको थियो ।

जसमा दुई सय ४० हेक्टर अर्थात् शून्य दशमलव चार प्रतिशत धानबालीमा क्षति भएको छ । यसैगरी नवलपरासीमा २० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा चार सय १० हेक्टर क्षेत्रफलको धान भिजेको छ भने दुई सय एक हेक्टर अर्थात एक प्रतिशत धानबालीमा क्षति भएको छ ।

यसैगरी कपिलवस्तुमा ६५ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा तीन हजार ६३ हेक्टरमा काटेको धान भिजेको थियो भने एक सय ४४ हेक्टर अर्थात् शून्य दशमलव २२ प्रतिशत धानबालीमा क्षति भएको छ । यसैगरी दाङमा ३५ हजार तीन सय ६४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

जसमा एक हजार ९४ हेक्टर क्षेत्रफलको काटेको धान भिजेको छ भने पूर्णरूपमा के कति क्षेति भएको भनेर तथ्याङ्क आई नसकेको निर्देशनालयले जनाएको छ । बाँकेमा ३३ हजार सात सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । बाँकेमा के कति धानबाली भिजेको र पूर्णरूपमा के कति क्षति भएको भनेर तथ्याङ्क आइपुगेको छैन । यसैगरी बर्दियामा ५० हजार एक सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा एक सय ४६ हेक्टरको काटेको धान भिजेको थियो भने पाँच हेक्टर अर्थात् शून्य दशमलव शून्य एक प्रतिशत धानबालीमा पूर्ण रूपमा क्षति भएको निर्देशनालय जनाएको छ ।

यसैगरी पाल्पामा सात हजार आठ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा चार सय ११ हेक्टरको काटेको धान भिजेको थियो भने ३२ हेक्टर अर्थात शून्य दशमलव शून्य चार प्रतिशत धानमा पूर्ण रूपमा क्षति भएको छ । यसैगरी अर्घाखाँचीमा छ हजार छ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा छ सय ७६ हेक्टरको काटेको धान भिजेको थियो भने ५३ हेक्टर अर्थात् शून्य दशमलव आठ प्रतिशत धानबालीमा पूर्ण रूपमा क्षति भएको छ । गुल्मीमा सात हजार तीन सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

जसमा सात सय ७५ हेक्टरको काटेको धान भिजेको थियो भने दुइ सय २२ हेक्टर अर्थात् तीन प्रतिशत धानबालीमा पूर्ण रूपमा क्षति पुगेको छ । रोल्पामा चार हजार पाँच सय ४७ हेक्टर क्षेत्रफलमा के कति भिजेको र पूर्ण रूपमा क्षति भएको भनेर तथ्याङ्क आई पुगेको छैन ।

यसैगरी प्युठानमा छ हजार तीन सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा तीन सय १३ हेक्टरको काटेको धान भिजेको थियो भने पूर्ण रूपमा के कति धानबालीमा क्षति भयो भनेर तथ्याङ्क आई नसकेको निर्देशनालयले जनाएको छ । रुकुम पुर्वमा तीन सय ५२ हेक्टरमा धान खेती गरिएको थियो । जसमा दुई हेक्टरको काटेको धान भिजेको थियो भने आठ सय ९६ हेक्टर अर्थात शून्य दशमलव ३० प्रतिशत पुर्ण क्षति भएको कृषि प्रसार अधिकृत गैरेले जानकारी दिए ।