एकराज शर्मा अधिकारी
सबै प्राणी जीव हुन् । मानिस, पशुपंक्षी, जनावर, रुख, बिरुवा सबै जीव हुन् । यी सबैमा चेतना छ । यी चेतनशील प्राणी हुन् । प्राणीभरीमा सबैभन्दा विवेकशील प्राणी मानिस हो ।
हाम्रो धर्म शास्त्रले भन्दछ– विवेशील प्राणी भएकोले मानिसले सबै प्राणीप्रति आफू जस्तो व्यवहार गर्नुपर्छ । मानिसको बुद्धिभन्दा शास्त्रको सोचाइ धेरै माथि छ । शास्त्रले मानवलाई सही बाटोमा लगाउन खोजेको छ । शास्त्रले बाटो बिराउँदैन । होसियार गराउँछ । मानिसले के काम गर्न हुन्छ, के काम गर्न हुँदैन भनेर विधि र निषेधको व्यवस्था गरेको छ ।
शास्त्रले बताएको बाटोबाट हिडे जीवनमा सुख शान्ति हुन्छ । मानिसले सबै प्राणीलाई आफ्नो जस्तो व्यवहार गर्नुपर्छ । प्रतिकुल व्यवहार गर्नु हुँदैन । शास्त्रले भन्दछ– आत्मन प्रतिकुलानि परेसां नसमाचरेत) कति राम्रो उदार भावना, कति राम्रा विशाल भावना । यस्तो व्यवहार भए संसारमा कोही दुखी हुने थिएनन् ।
हाम्रा धर्म शास्त्रमा यस्ता किसिमका सिद्धान्त धेरै पाइन्छन् । मनुष्मृति याज्ञबल्कस्मृति र वेद र गीता हाम्रा शास्त्र हुन् । वैदिक कालमा व्यवहारिक रुपमा पशुपंक्षी र मानवलाई भिन्न रुपमा देखाए तापनि पारमार्थिक रुपमा समान रुपले हेरेको पाइन्छ । त्यतिमात्र होइन । रुख, बिरुवा, वनस्पति पहाड, नदी, नाला, हावा, पानी, ढुंगा, माटोलाई समेत श्रद्धाले, प्रेमले पूजा गरेको पाइन्छ । जस्तो हामीले आगोलाई अग्निी देवता भनेर पूजा गर्छौँ ।
पानीलाई गंगा माता भनेर पूजा गर्छौँ । हावालाई वायु देवता भनेर पूजा गर्छौँ । ढुंगालाई शालिकराम भनेर पूजा गर्छौँ । आकाशलाई खंब्रहम भनेर पूजा गर्छौँ । तुलसी कुश पिपललाई विष्णु भनेर पूजा गर्छौँ । वनको संरक्षण गर्नका लागि वनदेवीको पूजा गर्छौँ । जलाशयको संरक्षणको लागि नागदेवताको पूजा गर्छौँ । त्यति मात्र होइन इतिहासिक कथाको आधार कतै शिव लिंग प्रकट भएको, कतै देवी प्रकट भएको भनेर विश्वास गरेर पूजा गर्छौँ ।
त्यस्तै गोसाइकुण्डमा निलकण्ठ महादेव उत्पन्न भएको कोशीको किनारामा बराह भगवान्ले अवतार लिएको स्वर्गद्वारीमा महाप्रभु उत्पन्न भई शिद्धि प्राप्त गरेको श्लेष्मान्तक वनमा किरात रुपमा महादेव मृगको रुप धारणा गरेर किँडा गरेको कालीगण्डकीको किनारमा शिला रुपमा ऋषिकेश भगवान् प्रकट भएको, लुम्बिनीमा भगवान् बुद्धको जन्म भएको यस्ता धेरै ठाउँहरु छन् ।
जसलाई हामी देवता भनेर श्रद्धा भक्तिले पूजा अर्चना गरिरहेका छौँ । हाम्रो वैदिक सिद्धान्त कस्तो विशाल छ ? हाम्रो अन्तर मनसमेत दुषित नहोस् भनेर मन्त्र द्रष्टा ऋषिहरुले प्राणीलाई मात्र होइन, प्रकृतिप्रति पनि आत्मा भाव राख्न सिकाएका थिए । पहिले मानिसको मन शुद्ध थियो । बाहिरी प्राकृतिक बस्तु पनि शुद्ध थिए । आज पनि यही धारणा, यही आदर्शलाई जीवन्त राख्न सकेमा प्रकृति सधा, हराभरा, सुन्दर र सुरक्षित रहने थिए ।
दीर्घकालसम्म मानव जीवनका सहयोगी हुने थिए । पशुहरु पनि हाम्रो जस्तै पान्चभौतिक प्राणी हुन् । पशु र मानिसमा भौतिक रुपमा केही भिन्नता छैन । आध्यात्मिक दृष्टिमा केही भिन्नता छ– त्यो हो विवेक । विवेकले गर्दा अरु प्राणीभन्दा मानिस भिन्न छ । पशुहरु पनि ईश्वर कै सिर्जना भएकोले पशुमा पनि वौद्धिक प्रतिभा र मानवीय गुण भएको पाइन्छ ।
त्यसैले विभिन्न पुराणहरुमा विभिन्न पशुप्रति उदार दृष्टिकोण राखी सम्मान गरेको पाइन्छ । जस्तो सिंहलाई देवीको बाहनको रुपमा, साँडेलाई नन्दी भनेर शिवको बाहनको रुपमा, गाईलाई लक्ष्मीको रुपमा पूजा गर्दै आएका छौँ । गाई अत्यन्त उपयोगी जनावर भएकोले हाम्रो देशमा गाईको बध गर्न निषेध गरिएको छ । त्यसैगरी अन्य पशुहरुले पनि देशमा कुनै दैविक आपत्ति आउन लागेको संकेत दिन्छन् ।
बिरालाले बाटो काटे, कुकुरले ठाडो मुख लगाएर भुके अनिष्ट हुन्छ भनेको पुराणहरुमा पाइन्छ । पशुपंक्षीहरुले मानवलाई बाचुन्जेल सेवा गर्छन्, मरेर पछि पनि सेवा गर्छन् । पंक्षीले पनि प्राचिनकालमा चिठ्ठी चुच्चामा च्यापेर ओसारपसार गर्थे रे भन्ने कुरा पाइन्छ । ईश्वरको दृष्टिमा सबै प्राणी बराबर छन् । यो सबै संसार ईश्वरको सृष्टि हो ।
यहाँ कुनै कुराको कमी छैन । बनाउनु पर्ने थप्नु पर्ने केही छैन । केवल संरक्षण गर्नु पर्ने आवश्यकता छ । आफ्नो ठाउँमा सबैको महत्व छ । यो कुरा नबुझेर आजभोलि मानिसले जीवप्रति अन्याय गरेका छन् । आफ्नो स्वार्थपूर्तिको लागि देवीलाई चढाउने नाममा लाखौँ पशुहरुको हत्या गरिरहेका छन् । यसको मूल्य चुकाउनै पर्छ । हामीले पशुहरुप्रति अमानवीय व्यवहार गरेका छौँ ।
पशुपंक्षीले मानिसलाई कुनै अन्याय गरेका छैनन् । रुख, बिरुवाले अन्याय गरेका छैनन् । पशुपंक्षीलाई मार्नु शास्त्रमा निषेध गरिएको छ । अनावश्यक बिरुवाहरुलाई काट्न शास्त्रमा निषेध गरिएको छ । यो संसारमा सबैलाई बाच्ने अधिकार छ । मेरै मात्र अधिकार छ भनेर स्वार्थी दृष्टिकोण राख्नु हुँदैन ।
परमार्थमा हामीलाई बलिको बोको बन्नु पर्ने छ । अहिले होस पु¥याउनु पर्छ । हिंसाले कसैको कल्याण हुँदैन । जनावर र पशुपंक्षीले दैवको नियम पालना गरेका छन् । समयमा उठ्छन्, समयमा सुत्छन्, समयमा खान्छन् । कुखुराले त एक मिनेट तल माथि नगरी बास्ने गर्दछन् । मनपरी गर्ने त मानिस मात्र हो । मानिसमा कुनै नियम छैन । मानिस मर्यादाहीन अधर्मी भएका छन् ।
हो, मानिसले धेरै वैज्ञानिक आविष्कार गरेको छ । त्यो राम्रो कुरा हो तर पशुपंक्षीहरु र रुख बिरुवाबाट धेरै कुरा सिक्ने बाँकी छ । आजको मानव पशुभन्दा तल गिरेको छ । बुद्धिको सदुपयोग गर्न सकेको छैन । बुद्धिको सदुपयोग गरेर सारा प्राणीलाई आफै जस्तो ठाने यो संसार जोगिन्छ ।
मानिसले आफ्नो दृष्टिकोण नबदले यो भोलिको संसार अन्धकारमय हुनेछ । हाम्रो शास्त्रले सम्पूर्ण सृष्टिलाई ब्रहममय देखेको छ । यो नै सर्वच्च दृष्टिकोण हो । यही दृष्टिकोण आजको मानवले राख्न सके हाम्रो भविष्य शान्तिमय र सुखमय हुनेछ ।