प्रेरणाके विन्दु : जीवनको डोरी

तुफानबाबु श्रेष्ठ

रमेश नामको एक विद्यार्थी आठ कक्षामा पढ्थ्यो । ऊ अत्यन्तै चञ्चल र विचारशील स्वभावको केटो थियो । विद्यालयमा हुँदा उसलाई खेल्न जाने कुरा मनमा घुम्थ्यो भने खेल्ने समय आउँदा ऊ कतै घुम्न गएको कल्पनामा हराउँथ्यो ।

कहिल्यै पनि वर्तमान क्षणलाई रमाइलो गर्न उसले समय दिन सक्दैनथ्यो । उसको यो आदतले घरपरिवार र साथीलाई पनि कहिले काहीँ हैरान पाथ्र्यो । एकदिन रमेश एक्लै नजिकैको वनतिर घुम्न निस्कियो । घाम हल्का हराउँदै थियो, हावामा हल्का सुस्केरा चलिरहेको थियो र पात सुनौलो प्रकाशमा चम्किरहेका थिए । केही समयपछि ऊ थाकेर नरम घाँसमा पल्टियो । शान्त वातावरण र चिसो हावाले उसको मन शान्त बनायो र उसले निद्राको मिठास महसुस ग¥यो ।

त्यही बेला हल्का आवाज सुनियो– ‘रमेश… रमेश…’ आँखा खोलेर हेर्दा ऊ अचम्मित भयो । उसको सामु सेतो वस्त्रधारी एक सुन्दर परी उभिएकी थिइन् । हातमा एउटा जादुई छडी र अर्को हातमा गोलाकार चम्किलो बल थियो, जसमा सुनौलो धागो झुण्डिएको थियो ।
रमेशले हर्षित हुँदै सोध्यो– ‘परी, तपाईको हातमा रहेको यो बलमा झुण्डिएको धागो के हो ?’

परी मुस्कुराइन् र भनिन्– ‘रमेश, यो साधारण धागो होइन । यो त तिम्रो जीवनको डोरी हो । यसलाई हल्का मात्र तानेर हेर्नु, तिम्रो केही घण्टा केही सेकेन्डमै बित्नेछन् । यदि थोरै बढी तान्यौ भने दिन केही मिनेटमै बित्नेछ र यदि पुरै तान्यौ भने वर्षौँको समय केही दिनमै बित्नेछ ।’

रमेशले उत्साहित हुँदै भन्यो– ‘के म यो डोरी लिन सक्छु ?’ परीले मुस्कुराउँदै भनिन्,– ’लैजाऊ, तर याद राख कि एकपटक समयलाई अगाडि बढायौँ भने त्यसलाई कहिल्यै पछाडि फर्काउन सक्दैनौँ ।’ यो भनिसकेर परी डोरीसहित अदृश्य भइन् ।

अर्को दिन रमेश विद्यालयमा थियो, तर उसको मन खेलमा हराएको थियो । ऊ परीको कुरा सम्झँदै डोरी हल्का तानेर हेर्दा केही सेकेन्डमै मैदानमा खेलिरहेको पाइयो । ‘वाह ! कस्तो रमाइलो !’ उसले सोच्यो तर केही समयपछि ऊ ऊत्तेजित भयो र सोच्यो– ‘केटाकेटी जस्तो खेल्नमा के रमाइलो ? बरु म डोरी तानेर ठूलो उमेरमा पुग्छु ।’
त्यसपछि उसले डोरी थोरै बलका साथ तानेर हे¥यो । रमेश अब जवान भइसकेको थियो । विवाह भइसकेको थियो र ऊ दुई स–साना छोराछोरीको बाबु बनेको थियो । आमाबाबु वृद्ध भइसकेका थिए, आमाको शरीर कमजोर थियो भने बाबु रोगले ग्रस्त थिए । रमेशलाई आफ्नो परिवार भएकोमा खुसी त लाग्थ्यो तर जिम्मेवारी र तनावले ऊ थाक्थ्यो ।

‘अब धेरै जिम्मेवारी भयो– परिवार, काम, सन्तानको… बरु वृद्ध भइसकेको भए सजिलो हुन्थ्यो,’ उसले मनमनै सोच्यो । त्यसपछि उसले जीवनको डोरी यसपटक बलका साथ तानेर हे¥यो । थोरै क्षणमै रमेश ८० वर्षको वृद्ध बनेको थियो । उसको शरीर कमजोर, कपाल सेतो, अनुहारमा गहिरा चाउरी परिसकेका थिए । आमाबाबुले संसार छोडिसकेका थिए भने श्रीमती पनि रोगले बितिसकेकी थिइन् ।

सन्तान टाढा सहरमा थिए । घरमा ऊ एक्लै मौन र असहाय जस्तै गरी जीवन बिताइरहेको थियो । पहिलो पटक रमेशले बुझ्यो कि जीवनका स–साना खुसीका पल उसले गुमाएको रहेछ । विद्यालयको रमाइलो, साथीसँगको हाँसो, आमाबाबुसँग बिताएका प्रेमका क्षण सबै छिट्टै हराइसकेका थिए ।

सन्तानको बाल्यकाल पनि उसले देख्न सकेन । दुःखले भरिएको मन लिएर ऊ वृद्ध अवस्थामा फेरि त्यही वनमा पुग्यो जहाँ पहिलो पटक परीलाई भेटेको थियो । घाँसमा शान्त मुद्रामा बसेर उसले आँसु बगाउँदै भन्यो– ‘काश ! मैले समयलाई यति छिटो अघि नबढाएको भए…’

त्यसैबेला फेरि आवाज आयो– ‘रमेश… रमेश…’ उसले हेर्दा परी मुस्कुराउँदै उभिएकी थिइन् । परीले सोधिन्– ‘के उपहार मन परेन ?’ रमेशले रुदै भन्यो– ‘त्यो उपहारले मलाई जीवनबाट टाढा पु¥यायो । मैले न दुःख भोग्न सकेँ, न सुख महसुस गर्न सकेँ । जीवनका सुन्दर क्षण मैले अधैर्यले गुमाएँ ।

ईश्वरले दिएको अनमोल जीवन म स्वयम्ले खेर फालेँ ।’ परीले करुण दृष्टिले भनिन्– ‘यदि मैले तिमीलाई फेरि एक पटक अवसर दिए भने के चाहन्छौँ ?’ रमेशले आँसु पुछ्दै भन्यो– ‘म विद्यालयमा पढ्ने, आमाबाबुसँग हाँस्ने, साथीसँग खेल्ने पुनः त्यो सानो रमेश बन्न चाहन्छु । अब म हरेक क्षण जिउने प्रतिज्ञा गर्छु ।

अब म ‘भोलि’ को चिन्ता गरेर ‘आज’ लाई नष्ट गर्ने छैन ।’ परी मुस्कुराइन् र छडी घुमाइन् । क्षणभरमै रमेशले आमाको आवाज सुन्यो– ‘रमेश, बाबु, यहाँ किन यसरी सुतिरहेका छौँ ? सपना देख्दै बर्बराउँदैछौँ ।’ रमेशले आँखा खोलेर आमालाई अँगालो हाल्यो र रुदै भन्यो– ‘आमा, म अब हरेक दिन खुसी भएर जिउँछु । अब म कुनै क्षण व्यर्थ जान दिन्न ।’

त्यसकारण जीवन कुनै दौड होइन, जहाँ जित्नेले मात्र मूल्य पाउँछ । यो त एउटा यात्रा हो– जसको सुन्दरता त्यसको गति होइन, अनुभूतिमा लुकेको हुन्छ । रमेशको कथाले हामीलाई सम्झाउँछ कि समयलाई तान्दा जीवन अगाडि त जान्छ तर अनुभव पछाडि छुट्छन् । हामी सधैं ‘भोलि राम्रो हुनेछ’ भन्दै आजको रमाइलो गुमाउँछौँ, तर सत्य त यही हो– विगत फर्किँदैन र भविष्य निश्चित छैन ।

जीवनका स–साना खुसी– आमाको मुस्कान, साथीको हाँसो, बाल्यकालको खेल यिनै त हुन् जीवनका सबैभन्दा ठूला र अमूल्य रत्न तर अधैर्य र हतारमा हामी ती क्षण ‘भोलि’ को प्रतीक्षामा हराउँछौँ । जीवनको डोरी तान्न होइन, धेरै माया र धैर्यका साथ सम्हाल्नका लागि दिइएको हो । किनभने हरेक मोड, हरेक दुःख, हरेक मुस्कानले हामीलाई जीवनको वास्तविक अर्थ सिकाउँछ । ‘जीवनको अर्थ गन्तव्यमा होइन, यात्राको प्रत्येक कदममा हुन्छ ।’