जनस्तरबाट प्रहरीको भवन निर्माण गरिँदै

आर.के. शीतल
नारायणपुर, २२ कात्तिक । घोराही उपमहानगरपालिका–१० मा रहेको इलाका प्रहरी कार्यालय नारायणपुरको भवन शिलन्यास गरिएको छ । स्थानीयको अगुवाइमा शुक्रवार भवनको निर्माण कार्य सुरुवात गरिएको हो ।

साविक त्रिपुर नगरपालिका कार्यक्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापनका लागि काम गरिरहेको इलाका प्रहरी कार्यालय नारायणपुरको आफ्नो भवन नहुँदा समस्या झेल्नु परिरहेको समयमा स्थानीयको अगुवाइमा भवन निर्माणको सुरुवात गरिएको छ । भवनको घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष दीपककुमार पाण्डेय र भवन निर्माण समितिका संयोजक गोपालप्रसाद लम्सालले शिलन्यास गरेका हुन् । स्थानीयको बाक्लो उपस्थितिमा भवनको शिलन्यास गरिएको हो ।

भवन निर्माण समितिका संयोजक लम्सालको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष पाण्डेयको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले जनस्तरबाट सहयोग सङ्कलन गरेर प्रहरीको भवन निर्माण गर्नु प्रशंसनीय कार्य भएको बताएका थिए ।

उनीहरूले भवन निर्माण भएपछि नेपाल प्रहरीलाई शान्ति सुरक्षा व्यवस्थापन गर्न र दैनिक कार्य सञ्चालन गर्न सहज हुने अपेक्षा गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले साविक त्रिपुर नगरपालिकाको शान्ति सुरक्षामा खटिने प्रहरी कार्यालयको भवन निर्माणमा स्थानीयले देखाएको अग्रसरताले प्रहरीको मनोबल उच्च हुने बताए । उनले यस भवन निर्माण कार्यमा सबैले सहयोग गर्न आवश्यक भएको भन्दै आफूले पनि समन्वय, सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले नागरिक स्तरबाट प्रहरीको भवन निर्माणमा नारायणपुर क्षेत्रबासी र समग्र त्रिपुर क्षेत्रका नागरिकले देखाएको अग्रसरता प्रशसनीय भएको बताए । उनले यस्ता कार्यले नागरिक र प्रहरी बिचको सम्बन्ध थप बलियो बनाउन भूमिका खेल्ने बताए ।

उनले अपराध अनुसन्धानमा प्रहरीलाई सधैँ सहयोग गर्न पनि अनुरोध गरे । कार्यक्रममा घोराही उपमहानगरपालिका–९ का वडाध्यक्ष रुपक चौधरी (चैतु), घोराही उपमहानगरपालिका –८ का कार्यवाहक वडाध्यक्ष चूडामणि चौधरी, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण)लगायतले मन्तव्य राखेका थिए ।

नवदुर्गा पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् भवन निर्माण समितिका सल्लाहकार वसन्त न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण भवन निर्माण समितिका सचिव दीपककुमार सुवेदीले गरेका थिए । लामो समयदेखि भाडाको घरमा बस्दै आएको भवनमा पनि इप्रकामा भदौ २४ गते भएको जेन–जीको आन्दोलनमा आगजनी एवम् तोडफोड भएको थियो । स्थानीय व्यवसायी युवाहरूको अगुवाइमा विजयादशमी २०८२ को अवसरमा इप्रकाको भवन निर्माणका लागि नव दुर्गा पूजा सञ्चालनबाट आर्थिक सङ्कलन सुरुवात गरिएको थियो ।

सो दुर्गा पूजामा सङ्कलन भएको रकमबाट भवन निर्माणको सुरुवात गरिएको छ । भवन निर्माणका लागि स्थानीय व्यवसायी एवम् युवाले स्वइच्छिक रूपमा रकम सहयोग गरेका छन् । भवन निर्माणका लागि हालसम्म नौ लाख ४० हजार नौ सय ५५ रुपैयाँ सङ्कलन भएको भवन निर्माण समितिका कोषाध्यक्ष धरमबहादुर बस्नेतले जानकारी दिए । उनले भवन निर्माणको कार्यमा सहयोग गर्न सम्पूर्णमा अनुरोध गरे ।