बालाराम खड्का
तुलसीपुर, २२ कात्तिक । गुरु जजुर माध्यमिक विद्यालय तुलसीपुर–४ रक्षाचौर, दाङमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सम्पन्न भएको छ । गुरु जजुरको आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको निःशुल्क आँखा जाँच कार्यक्रममा एक हजार छ सय बढी विद्यार्थीको आँखा जाँच गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य ताराप्रसाद पोख्रेलको विशेष उपस्थितिमा भएको आँखा जाँच कार्यक्रममा १ देखि १२ कक्षासम्मका विद्यार्थीको आँखा जाँच गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले जानकारी दिए । उनले विद्यालयको नियमित वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीको आँखा जाँच कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रममा चस्मा प्रयोग गर्नुपर्ने विद्यार्थीलाई निःशुल्क चस्मा उपलब्ध गराउने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जमा बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिए । आँखामा अन्य समस्या भएका विद्यार्थीलाई निःशुल्क औषधी आवश्यतका अनुसार वितरण गरिएको थियो भने आँखामा थप समस्या भएका विद्यार्थीलाई अस्पताल रिफर गरिएको थियो ।
यसैबिच बबई गाउँपालिकाका विभिन्न वडामा पनि निःशुल्क आँखा जाँच कार्यक्रम गरिएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएबिपी नर्वेको आर्थिक सहयोगमा बबई–३ मा निःशुल्क आँखा जाँच कार्यक्रममा दुई सय १६ जनाको आँखा जाँच गरिएको हो ।
आँखा जाँच गरिएकामध्ये ५१ जनामा मोतियाविन्दु फेला परेको आँखा चिकित्सकले जानकारी दिएका छन् । यसैगरी वडा नं दशमलव ६ मा भएको आँखाजाँच कार्यक्रममा एक सय २५ जनाको आँखा जाँच गर्दा ३७ जनामा मोतियाविन्दु फेला परेको छ । यसैगरी बबई–४ मा एक सय ८० जनाको आँखा जाँच गरिएकोमा २६ जनामा मोतियाविन्दु फेला परेको थियो । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई राप्ती आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको छ । उनीहरूको एनएबिपी नर्वेको आर्थिक सहयोगमा शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।