‘निजी विद्यालयमाथि चुनौतीका चाङ’

गोरक्ष समाचारदाता
दाङ, २२ कात्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्य अरुणकुमार शर्माले निजी विद्यालयमाथि चुनौतीको चाङ रहेको बताएका छन् ।

शुक्रवार प्याब्सन दाङको विस्तारित बैठकका प्रमुख अतिथिसमेत रहेका शर्माले बैठकलाई सम्बोधन गर्दै निजी विद्यालयमाथि बग्रेल्ती चुनौती रहेको बताएका हुन् । शर्माले निजी विद्यालयले सुरुवातीदेखि नै समस्या झेल्दै आएका बताए । ‘निजी विद्यालयले सुरुवातीदेखि नै समस्या भोग्दै आएका छन् । चाहे स्थापनाका बेला होस् या जनयुद्धका बेला निजी विद्यालयले समस्या झेल्दै आएका छन्’, शर्माले भने, ‘शैक्षिक गुणस्तरको धरोहरको रूपमा रहेका निजी विद्यालयको समस्याप्रति राज्य गम्भीर बन्न सकेको छैन । शैक्षिक गुणस्तरमा निजी विद्यालयले दिएको योगदानको मूल्याङ्कन राज्यले गर्न सकेको छैन ।’

नयाँ आउन थालेको विद्यालय शिक्षा ऐनमा समेत निजी विद्यालयको हितविपरीत रहेको शर्माले उल्लेख गरे । ‘जेन–जी आन्दोलन पूर्व संसद्मा टेबल भएको शिक्षा ऐनले निजी विद्यालयको माग सम्बोधन गर्न सकेको छैन । बन्दै गरेका तथा बन्ने ऐनले पनि निजी विद्यालयलाई तारो बनाउँदै आएको स्पष्ट नै छ । निजी विद्यालय सञ्चालकहरू यसप्रति सचेत रहन आवश्यक छ’, शर्माले भने ।

केन्द्रीय प्याब्सनका निवर्तमान सचिव यादव गिरी, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाकार केशव थापा, प्याब्सन दाङका सल्लाहकारहरू जीवनकुमार आचार्य, रेशमबहादुर बुढा, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेज विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । प्याब्सन दाङका उपाध्यक्ष शोभाखर भुसालको स्वागतबाट सुरु भएको बैठकको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।