गोरक्ष समाचारदाता
तुलसीपुर, २२ कात्तिक । दलित महिला संघ तुलसीपुरले दलित समुदायका अगुवा जोडीलाई लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणसम्बन्धि तालिम प्रदान गरेको छ ।
बुधवारदेखि सञ्चालन गरिएको दुईदिने तालिममा मानव अधिकार, लैङ्गिक हिंसा, घरेलु हिंसा, सम्बन्ध बिच्छेद, सार्वजनिक र कार्यस्थलमा हुने ंिहंसा, लैङ्गिक विभेदको न्यूनीकरण, समावेशीकरण र लैङ्गिताको भूमिका, संवैधानिक व्यवस्थामा महिलाको सहभागिता र वर्तमानको अवस्था, नेतृत्व विकासका पक्ष, नेतृत्व विकासबारे प्रशिक्षण दिइएको थियो ।
‘परिवारको भूमिका र सबै प्रकारका विभेद अन्त्यका लागि साझा नेतृत्वको आवश्यकता’ विषयवस्तुमा आधारित प्रशिक्षण दिइएको आयोजक संस्था दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले जानकारी दिइन् । महिलामाथि हुने हिंसाको प्रमुख स्थान घर र परिवार भएकै कारण हिंसा न्यूनीकरणको बुझाइमा स्पष्टता ल्याउन श्रीमान् र श्रीमती अर्थात् जोडीलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको उनले बताइन् ।
पटक पटक भएको छुट्टाछुट्टै तालिम तथा प्रशिक्षणले एक पक्षले मात्र बुझ्ने र प्रभावकारी अझै हुन नसकेकाले जोडी प्रशिक्षण कार्यक्रम गरिएको उनले बताइन् । तालिममा सहभागीले यस्ता खालका तालिमले दम्पत्तिलाई परिवारलाई थप बलियो बनाउन मद्दत पु¥याउने भन्दै खुसी व्यक्त गरेका थिए ।
उनीहरूले विशेष गरी अन्तरजातीय विवाहमा हिंसाका घटना धेरै हुने गरेको महसुस हुँर्दै आएको बताएका थिए । दुई दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका १२ जोडीका २४ बढीको सहभागिता रहेको थियो ।
तालिममा पत्रकार एवम् अधिकारकर्मी सुशील बस्नेत, अधिकारकर्मी निर्मल नेपाली र तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले प्रशिक्षण दिएका थिए ।