लीलाधर वली
दाङ, २० कात्तिक । दाङमा आगामी निर्वाचनका लागि १२ नयाँ मतदानस्थल थप्ने तयारी गरिएको छ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै निर्वाचनमा सवै मतदाताको भोट सुनिश्चिता गर्ने गरि जिल्लाका सात स्थानीय तहमा १२ मतदानस्थल थपका लागि प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बिहिबार घोराहीमा बसेको बैठकले वडास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट सिफारिस भएर आएका १२ मतदानस्थलबारे छलफल गरेको छ । छलफलमा राजपुर गाउँपालिकाको नाका क्षेत्रसँगै बबई गाउँपालिकाको विकट क्षेत्र भागाबारीलगायतका भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई निर्वाचनमा मतदानका लागि सहज हुने गरी आएका मतदानस्थल थपका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
वडास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्रदेश निर्वाचन कार्यालय घोराहीमा राजपुर र बबई गाउँपालिकाबाट तीन÷तीन वटा, लमही नगरपालिकाबाट दुई वटा, राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट एक÷एक वटा मतदानस्थल थपका लागि सिफारिस भएका छन् । प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार राजपुर गाउँपालिका–१ को बालबिसौनी प्राथमिक विद्यालय पटौली नाका, वडा नं. ६ को बालकल्याण माध्यमिक विद्यालय खंग्रा नाका र वडा नं. ७ को गौरीशंकर माध्यमिक विद्यालय भैसाही नाकामा नयाँ मतदानस्थल थपका लागि सिफारिस आएको छ । नाका क्षेत्रमा मतदानस्थल नहुँदा निर्वाचनमा मतदान गर्न लागि अघिल्लो दिन नै घरबाट हिडेर राजपुर आउनुपर्ने स्थानीयलाई बाध्यता छ ।
यसैगरी बबई गाउँपालिका–१ को जनकल्याण आधारभूत विद्यालय भाँगाबारी, वडा नं. २ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय बैसरी र वडा नं. ४ को सिद्धिगणेश प्राथमिक विद्यालय सुन्दरखाल, लमही नगरपालिका–४ को वडा कार्यालय र वडा नं. ८ को श्री आधारभूत विद्यालय भत्तरकुण्डा, घोराही उपमहानगरपालिका–३ स्थित सरस्वती प्राथमिक विद्यालय मुसोट खोला, दंगीशरण गाउँपालिका–७ स्थित रात्रि आधारभूत विद्यालय मिठाना, राप्ती गाउँपालिका–५ को जनता माध्यमिक विद्यालय करङ्गे र बंगलाचुली गाउँपालिका–३ को भेडाबारी मुलाबासी माध्यमिक विद्यालय नयाँ मतदानस्थलका लागि सिफारिस भएका छन् ।
भौगोलिक विकटता र पूर्वाधार अभावका कारण मतदातालाई असज भएको भन्दै जिल्लामा अधिकांश स्थानमा नयाँ मतदानस्थल थपका लागि विभिन्न वडाबाट सिफारिस आएको सूचना अधिकारी कवँुरले बताए । उनका अनुसार बिहिबार बसेको बैठकले निर्वाचन आयोगमा नयाँ मतदानस्थल थपका लागि सिफारिस गर्न सम्बन्धित स्थानीय तह र वडालाई कात्तिक २४ गतेसम्मका लागि मतदाताको सङ्ख्या छुट्याउने समय दिएको त्यही क्रममा सुरक्षा संवेदनशीलताका दृष्टिले थप गर्न योग्य भए नभएको अनुगमन गरेर २८ गते बस्ने जिल्ला स्तरीय बैठकबाट निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख लालवीर खड्काले जिल्लामा हाल भएका निर्वाचनस्थल र मतदान केन्द्र तथा नयाँ थपका लागि सिफारिस भएका मतदानस्थलबारे प्रस्तुति राखेका थिए । हाल जिल्लामा एक सय ५३ वटा मतदानस्थल र चार सय ६४ वटा मतदान केन्द्र छन् ।
बैठकमा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपाका विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, मालेका जिल्ला सचिव नेत्रलाल पाण्डे, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, लमही नगरपालिका प्रमुख जोगराज चौधरी, राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेम बुढाथोकी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक दीपक श्रेष्ठको सहभागिता रहेको थियो । बैठकको सहजीकरण लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहेन्द्र कवँरले गरेका थिए ।