गोरक्ष समाचारदाता
लमही, २१ कात्तिक । सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्तालाई तीनदिने तालिम दिन थालिएको छ । समुदायलाई पहिलो स्वास्थ्य प्रतिकार्यकर्ता तयार गर्ने उद्देश्यले बिहिबारदेखि लमहीमा तालिमको आयोजना गरिएको हो ।
गढवा गाँउपालिकाको आयोजना तथा सारथी नेपालको सहकार्य र विश्व स्वास्थ्य संगठन एवम् युरोपियन युनियनको सहयोगमा शुरु भएको तालिमको उद्घाटन गढवा गाँउपालिका अध्यक्ष यमनारायण पोख्रलले गरेका हुन् । समुदाय स्तरमा हुने विभिन्न खालका विपत्तीहरूका कारण उत्पन्न हुने स्वाथ्य समस्या समाधानका लागि पहीलो चरणमा समुदायका मानिसलाई नै प्रतिकार्यका लागि आवश्यक ज्ञान र सिप प्रदान गर्न तालिमको आयोजना गरिएको सारथी नेपालका अध्यक्ष दुर्गेश योगीले जानकारी दिए ।
समुदायमा हुने विभिन्न किसिमका प्रकोप, महामारी, समाजमा घट्नसक्ने विभिन्न दुर्घटनाजस्ता आपतकालीन अवस्थामा मानिसको ज्यान कसरी बचाउन सकिन्छ भन्ने विषयमा तीन दिनसम्म सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने तालिमका प्रमुख प्रशिक्षक डाआशा सिंहले जानकारी दिइन् । उनले भनिन्, ‘ज्यान बचाउने डाक्टरलाई मानिसले भगवा्न मान्छन् तर समयमा उपचार पाउने स्थानमा पुग्न नपाई धेरैको ज्यान जाने गरेको छ ।
त्यसैले समुदायमा हुने अप्ठ्यारो परिस्थितिमा सहयागी र मध्यस्थकर्ताका माध्यमबाट विपतका कारण हुने क्षति कम गन समुदायमा डाक्टर बनाउने तालिमको लक्ष्य छ ।’ उनले यो किसिमको तालिम पहिलो र नयाँ भएको बताइन् । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रलले विपतको हिसाबले गढवा अत्यन्त जोखिम र संवेदनशील भएको बताए । गढवा गाउँपालिकामा डुबान, बाढी, आगलागी तथा सर्पदंशको उच्च जोखिम रहेकाले पालिकाले बर्सेनि विपत्को सामना गर्नपर्ने अवस्था रहेको बताउँदै तालिमले सबैभन्दा पहिलो खट्ने व्यक्ति भनेको समुदायका मानिस भएकाले तत्कालै हुने प्राथमिक उपचार र उपचार केन्द्रसम्म पुग्नका लागि सहजीकरण गर्न तालिम उपलब्धिमूलक हुने अपेक्षा राखे ।
कार्यक्रममा सारथी संस्थाका मनिस गौतमले तालिमको उद्देश्यबारे अबगत गराएका थिए । उद्घाटन सत्रको सहजीकरण सारथी संस्थाका दुर्गेश योगीले गरेका थिए । तीनदिने तालिमका प्रशिक्षकमा प्रमुख प्रशिक्षक डाक्टर आशा सिंह, प्रशिक्षकमा दुर्गेश योगी, अशेष रेग्मी, मनिस गौतमलगायत रहेका छन् ।