चारलेनका चार पुल : तीन गुमनाम, एउटामा दुई पिलर मात्रै

खेमराज रिजाल

दाङ, २१ कात्तिक । सरकारले दाङका दुई उपमहानगरपालिका जोड्ने घोराही–तुलसीपुर सडकलाई चारलेनमा स्तरोन्नतिको काम थालेसँगै पुलहरू पनि चारलेनको मापदण्डमा निर्माण गर्ने भन्दै नयाँ बन्ने पुल चारलेनको मापदण्डमा ठेक्का भयो । निर्माण भइसकेका पुललाई पनि चारलेनको मापदण्ड थेग्ने गरी साइडमा अर्को पुल निर्माणका लागि करिब तीन वर्ष अघि ठेक्का सम्झौता ग¥यो ।

सडक विभागको पुल महाशाखा अन्तर्गत पुल सेक्टर नेपालगन्जले ठेक्का लगाएका चार पुलमध्ये एउटा मात्र सुरु भएको छ । अन्य पुल निर्माणका काम अझै सुरु भएका छैनन् । चार पुलमध्ये सेवार खोला, हापुर खोला, ग्वार खोला (साइडमा अर्को पुल गाँस्ने) र काला खोलामा पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको करिब तीन वर्ष बितिसकेको छ ।

सेवार खोलामा दुई वटा पिलर ठड्याएर कामको सुरुआत देखाउनु बाहेक हापुर खोला, ग्वार खोला र काला खोलामा पुल निर्माणको प्रक्रिया सुरु नै भएको छैन । निर्माण कम्पनी सम्पर्कमा आएका छैनन् भने काम लगाउने पुल सेक्टर नेपालगन्जले कार्यप्रगतिका विषयमा दाङको कुनै पनि निकायलाई जानकारी गराएको छैन । यसमा स्थानीय प्रशासन बेखबर छ । स्थानीय सरकार बेखबर छन् अनि नागरिक समाज पनि बेखबर छन् । ‘ए ! होर ! चार पुलको ठेक्का भइसकेको’, यो सडकमा दैनिक बस चलाउने चालक भीमबहादुर डाँगीले आश्चर्य प्रकट गरे ।

घोराही–तुलसीपुर सडक खण्डको हापुर खोलामा एक सय ५० मिटर लम्बाइको चारलेन मापदण्ड चौडा पुल निर्माण गर्न पुल सेक्टर नेपालगन्जले शर्मा सगुन जेभी रुपन्देहीसँग २०७९ असार २९ मा ठेक्का सझौता ग¥यो । निर्माणको काम २०८२ पुस २८ मा सम्पन्न गर्ने गरी सम्झौता भएको पुल निर्माणको प्रक्रिया थाल्न एक पटक पनि निर्माण कम्पनी साइटमा आएन । निर्माण सम्पन्न हुने अन्तिम मिति आउन अब करिब दुई महिना मात्रै बाम्की छ तर यो विषयमा पुल सेक्टर नेपालगन्ज बेखबर जस्तै छ ।

ठेक्का सम्झौता कार्यालयको ढड्डामा मात्र सीमित छ । रुग्ण आयोजनाको ठेक्का रद्द गर्ने वर्तमान सरकारका भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बताए पनि पुल सेक्टरले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । पुल निर्माणको जम्मा बजेट २७ करोड ८४ लाख, ३१ हजार सात सय रुपैयाँ थियो । यसैगरी ग्वार खोलामा दुई सय २० दशमलव १० मिटर लम्बाइको पुल निर्माणको ठेक्का सम्झौता रुपन्देहीकै शर्मा सगुन जेभिसँग गरियो ।
एक्त पुल निर्माणको ठेक्का सम्झौता २०७९ असार २९ गते नै भएको थियो । यो पुल निर्माण सम्पन्न गरी सक्नुपर्ने अन्तिम मिति २०८२ भदौ २८ गते थियो । जुन मिति सकिएको दुई महिना पुगिसकेको छ तर यो ठेक्का सम्झौता पनि न तोडिएको छ, न त नविकरण नै गरिएको छ । सम्झौता रकम २२ करोड, पाँच लाख ४७ हजा पाँच सय रुपैयाँ थियो ।

यो पुलको पश्चिमतर्फ गत असारमा एउटा पिलर उठाउने अभ्यासबाहेक कुनै काम हुन सकेको छैन । तैपनि ग्वार खोलामा पुल सेक्टरले म्याद थपको प्रक्रिया सुरु गरेको छ । काला खोलामा चारलेन मापदण्डको ९० मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने गरी शर्मा सगुन जेभीसँग नै ठेक्का सम्झौता भएको थियो । २०७९ असार २९ मै निर्माण सम्झौता भएर निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८२ भदौ २८ तोकिएको थियो । काला खोलामा पनि हापुर खोलाकै जस्तो अवस्था छ । पुल निर्माणका लागि एक ठाउँमा पनि कोट्याइएको छैन । पक्की पुलको आशामा रहेका जिल्लाबासी निर्माण सम्पन्न गरी सक्नुपर्ने मितिसम्म काम सुरु नहुँदा बेखबर र निराश छन् ।

निर्माण सम्झौताको अन्तिम मिति सकिँदासम्म किन काम सुरु भएन ? गोरक्षको जिज्ञासामा निर्माण व्यवसायी प्रतिनिधि सुमन मिश्र भन्छन्, ‘सम्झौताको सुरुआतीको समयमा पुल सेक्टरसँग मोबिलाइजेसन पेस्की दिने पैसा समेत थिएन, त्यसैले काम नभएको हो ।’ निर्माण कम्पनीले अघिल्लो आर्थिक वर्ष ग्वार खोलाको एउटा पिलर निर्माण गरेको बिल पेस गर्दा पैसा नपाएको जनाएको छ ।

यो वर्ष भने काम गर्दै गएपछि पैसा पाउने आश्वासन पुल महाशाखाबाट आफूले पाएको निर्माण कम्पनीका कन्ट्याक्ट मेनेजर मिश्रले गोरक्षलाई फोनमा भने । सायद यसै सातादेखि तीनवटै पुलमा काम सुरु हुने मिश्रले दाबी गरेका छन् । शुक्रवार साँझ नै यसका लागि प्राविधिक टोली दाङ आइपुग्ने र अबको दुई सातादेखि धमाधम काम सुरु हुने उनले दाबी गरे । दुई वटा पुलको निर्माण सम्झौताको म्याद सकिए पनि म्याद थपको प्रक्रिया अघि बढिसकेको उनले दाबी गरेका छन् ।

त्यसो त सेवार खोलामा पुल निर्माण गर्दै आएको कम्पनीले मोबिलाइजेसन पेस्की नपाई काम सुरु गर्नु परेको थियो । नेताको प्रेसरमा बिना बजेटै पुलको ठेक्का गर्ने प्रकृत्ति रहेको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ । ठेक्का सम्झौता भएको तीन वर्षसम्म पनि निर्माण कम्पनी बेखबर भइरहँदा पुल सेक्टर नेपालगन्ज के गरिरहेको छ ?

जवाफमा पुल सेक्टर नेपालगन्जका आयोजना प्रमुख सविना रानाभाट भन्छिन्, ‘निर्माण कम्पनीले काम गर्छु भन्या छ, एक महिना हेरौँ, प्रोग्रेस देखिएन भने अर्को स्टेपमा जान्छौँ ।’ घोराही–तुलसीपुर सडक खण्डका पुलहरू आयोजनाको प्राथमिकता पर्याप्त पुल भएको स्मरण गराउँदै उनी आफू तिहार अघि दाङमै पुगेर फिल्ड भिजिट गरेको दाबी गर्छिन् । म्याद थप्ने वा ठेक्का तोड्ने सम्बन्धमा सडक विभागमै छलफल भएर निर्माण व्यवसायीले काम तत्काल थाल्ने प्रतिबद्धता जनाएकाले कामको प्रगति हेरेर म्याद थप हुनसक्ने डिभिजन प्रमुख रानाभाटको अभिव्यक्ति थियो । उनले एक महिनापछि फेरि फिल्ड भिजिट गर्नेसमेत आश्वासन दिएकी छिन् ।