भुवन पोख्रेल
मुलुकको राजनीतिक प्रक्रियाले सही ढंगले अघि बढेर गति लिन सकेन भने आर्थिक, सामाजिक प्रक्रिया पनि ठिक ढंगले अघि बढ्न नसकेर दिग भ्रमित बन्न पुग्दछन् । कुनै पनि राजनीतिक प्रक्रिया लोकतान्त्रिक ढंगले अगाडि बढ्न सकेन भने मुलुकमा विद्रोहका स्वरहरु उर्लिन्छन् ।
लोकतन्त्र र प्रजातन्त्रको विकल्पमा कुनै पनि राजनीतिक तन्त्र हुनै सक्दैन अहिले मुलुकमा लुटतन्त्र, घुषपैठतन्त्र जस्ता अराजक तत्वहरुले टाउको उठाउन खोजिरहेका छन् । हो राजनीतिकमा पुस्तान्तरणको खाँचो देखिएको छ । यसमा कुनै दुई मत छैन तर युवाहरुले मुलुकको राजनीतिक परिवर्तनमा नेपाली जनताले बगाएको रगत र पसिनाको अबमूल्यन हुन दिनु हुँदैन ।
अहिले मुलुकमा नयाँ पुस्ताले चलाएको अभियानको परिणाम स्वरुप अन्तिमा अन्तरिम सरकार गठन भएको छ । जने–जी आन्दोलनको जगमा अडेर बनेको सरकारको प्रमुख अभिभारा भनेको फागुन २१ गते चुनाव सम्पन्न गराई देश र जनतालाई एउटा राजनीतिक स्थिरताको अध्यायमा लैजानु हो । मुलुकको यस विषम परिस्थितिमा गठन भएको सरकारसँग जनआकांक्षा खासै छैन । बरु मुलुकमा शान्ति, स्थिरता र राजनीतिक निकासको वातावरण सहज बनोस् भन्ने अपेक्षा छ ।
शान्तिपूर्ण र धाधली रहित चुनाव सम्पन्न गरी जनमतको सम्मान गर्नसक्ने र जनआकांक्षाको सम्बोधन गर्ने सरकार गठन होस् भन्ने देशबासीको चाहना छ । नागरिक अहिले संशय, चिन्ता, डर र त्रासको परिस्थितिबाट गुज्रेका छन् । थुप्रै सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी भएको छ । धेरै नै जनधनको क्षति भएको छ । अब यो वा त्यो बहानामा जनताका छोराछोरीको रगतको खोला बग्न बन्द गरिनुपर्छ ।
मुलुकमा राजनीतिक परिवर्तनको निहुँमा थुप्रै आन्दोलन भयो । नागरिकले विकास, समृद्धि र राजनीतिक रुपान्तरणका खातिर गरेका बलिदानीले सार्थकता पाउन अझै सकेको छैन । पछिल्लो समय जेन–जी आन्दोलनमा पनि कलिला बालबालिकाको बलिदानी भएको छ । नेपालमा जेन–जी विद्रोहको उथलपुथलबाट राजनीतिक कोर्ष करेक्सन हुन जरुरी छ । दलहरुलाई प्रतिबन्ध लगाएर लोकतन्त्रमा ताल्जा मारेर मुलुक अग्रगामी बन्न सकेको विश्वको इतिहास छैन ।
बरु लोकतन्त्र र प्रजातन्त्रमा लोकतान्त्रिक आचरण भएका नेतृत्वको छनोट गर्न सक्नु जेन–जी पुस्ताको अभिभारा देखिएको छ । अब चुनावमा नेतृत्व चयन गर्दा जेन–जी पुस्ता सक्रिय भएर लाग्नु पर्छ । फेरि राज्य संस्थाको चाबी भ्रष्टहरुको हात नपरोस् भनी सचेत हुन जरुरी छ । पुराना दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वापा लगायत सम्पूर्ण दलहरु चुनावी मैदानमा अवश्य भिड्ने छन् । सबै दलहरुमा जेन–जी पुस्ताको प्रतिनिधित्व होखोस् भन्ने हेतुले जेन–जीहरु सरकार सामु अभिनुपर्छ ।
दलीय राजनीतिमा कुनै न कुनैको दलको प्रतिनिधित्व गर्दै जेन–जी सरकारमा पुग्ने वातावरण तयार पार्नुपर्छ । जेन–जी कुनै राजनीतिक दल होइन, बरु परिवर्तनको सोच राख्ने युवा उमेर समूह हो । चुनावमा टिकट बाढ्दा प्रत्येक दलमा निश्चित प्रतिशत जेन–जी समूहका लागि छुट्टयाउनु पर्छ । जेन–जीहरु जुनसुकै दलको प्रतिनिधित्व गरेर भए पनि संसद बन्नुपर्छ अनि बल्ल उनीहरुमा मुलुक बदल्न सक्ने अख्तियार प्राप्त हुन्छ ।
परिवर्तन सडकबाट होइन सदनबाट गर्न सकिन्छ भन्ने प्रजातान्त्रिक अभ्यासमा सबै जुट्नुपर्छ । सडक तताएका जेन–जी सेलाएर हुँदैन चुनावमा पनि सोही राप र तापका साग अंग्रपक्तिमा उभिएर जनताको अभिमत प्राप्त गर्न सक्नुपर्छ । तोडफोड, हत्या, हिंसा जस्ता अराजक गतिविधि लोकतान्त्रिक मुलुकमा शोभनीय हुँदैन । सडकमा ढुंगा मुडा र तोडफोड आगजनीले जनभावना र जनलहर समात्न सकिँदैन ।
चुनाव जितेर संसदमा गई जनभावनाको कदर हुने विधेय बनाई कानुनी राज्यमा कानुनी शासन प्रक्रिया अगाडि बढाउनुपर्छ । भर्खरै मुलुक प्रमुख अंग कार्यपालिका व्यवस्थापिका र न्यायापालिकामा आक्रमण हुँदा नागरिक त्रसित छन् । यो डर त्रासको बिचमा विश्वासको वातावरण तयार पारी चुनावी माहोलमा होमिएर विजय प्राप्त गर्न जुनसुकै राजनीतिक दलका लागि चुनौतीपूर्ण छ ।
राजनीतिक दलका शीर्ष नेताहरुले गुमाएको जनविश्वास जागृत गर्न उम्मेदवारहरुलाई कठिन हुन्छ । लामो समयसम्म सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी जस्ता ठुला दलहरुले के ऐजेण्डा बोकेर जनता माझ जाने यसमा निकै चनाखो हुन जरुरी छ । उनै पुरानो अनुहारहरु जसले राजनीतिमा अवसर पाएर मुलुक र जनताको पाटी बनाउन सकेनन् तीनलाई चुनावमा गएर जनमत भाग्ने कुनै अधिकार छैन ।
युवा पुस्ताले पनि पार्टीभित्र विद्रोह गर्न सक्नुपर्छ यदि पार्टीलाई सुद्दिकरण गरेर अघि बढ्नु पर्छ । राजनीतिक दलका युवा पुस्ताले गम्भीर भएर सोच्ने बेला भइसकेको छ । यदि युवा पुस्ताको भावनालाई कदर गरिएन भने दलभित्र द्वन्द्वको स्थिति सिर्जना हुनुपर्छ । फेरि पनि जेन–जीको काँधमा टेकेर पुरानै पुस्ताले रजाई गर्ने हो भने जनआक्रोश बढेर जान्छ । अबको निर्वाचनबाट प्राप्त म्यान्डेडलाई सही ढंगले कदर गरेर देश र जनताको भलाइका लागि अघि सर्ने बेला आएको छ ।
देश र जनता अहिले राजनीतिक परिदृश्यबाट आजित भइसकेका छन् । जनताको विश्वासको मत प्राप्त गरेर जनआकांक्षालाई सम्बोधन गर्ने अभिभारा नयाँ बन्ने सरकारको काँधमा छ । अबको राष्ट्रिय राजनीतिक यात्रा कस्तो हुन्छ, देशमा कस्तो राजनीतिक मूल्य र संस्कृतिको स्थापना एवम् विकास गर्न खोजेको छ । त्यो अब कुनै ढिला नगरी सार्वजनिक गर्न जरुरी छ । जेन–जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनले मुलुकलाई नयाँ संक्रमणमा प्रवेश गराएको छ ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मुख्य चुनौती ६ महिनाभित्र चुनाव सम्पन्न गर्नु, भ्रष्टाचार नियन्त्रण र आन्दोलनका घटनाको निष्पक्ष छानविन गर्नु हो । राजनीतिक दलहरुमा नेतृत्व परिवर्तन र नयाँ पुस्ताको सहभागिता अपरिहार्य देखिएको छ भने चुनापछिको राजनीतिक दिशा जेन–जी आन्दोलन निर्धारण गर्दछ ।
जेन–जी आन्दोलनले यत्रो परिवर्तन ल्याउँछ भनेर सायदै कल्पना गरिएको थियो । स्मार्ट फोनमा रमाइरहने यो पुस्ता समाजबाट अलग्गिएर आफ्नै दुनियामा निरपेक्ष र राजनीतिक सोचरहित छ भन्ने धारणा बनेको थियो । यो पुस्तामा असन्तुष्टी चुलिएको रहेछ । जुन जेन–जी विद्रोहको रुपमा बाहिर छचल्किएको हो । जेन–जीमा देखिएको असन्तोषका तीव्र भावनाले मुलुकको राजनीतिकको दिशा नै बदलिएला भन्ने कसैलाई पत्यार गर्ने घटना थिएन ।
गत भाद्र २३ गते काठमाडौँ र बाहिरका सहरमा भएका प्रदर्शन र त्यसपछिका घटना क्रमले मुलुक राजनीतिक संक्रमणको घडीमा उभिएको छ । बानेश्वरमा संसदको ढोका अगाडि भएको कलिला प्रदर्शनकारी माथि अत्यन्त नृशंस एवम् गैर जिम्मेवार ढंगले बर्साइएको तातो गोलीले त्यही बालबालिका ढले, अभिभावकका भविष्यको आधार ढल्यो त्यति मात्र नभई सरकार ढल्यो, सिंहदरबार जल्यो, संसद भवन जल्यो, मुलुक २४ घण्टाभित्र खरानीको थुप्रो र धुवाको मुस्लोमा परिणत भयो ।
कांग्रेस, एमालेको सत्ता ढल्यो र मुलुक नयाँ राजनीतिक २५ गते रातिसम्मको परिस्थिति अनुमान गर्न सकिने अवस्थामा थिएन । मुलुक सरकार विहीनताको स्थितिमा थियो र नागरिक अभिभावक विहीनताको स्थितिमा थियो र नागरिक अभिभावक विहीनताको स्थितिमा थिए । नागरिकको व्यक्तिगत जिउ धनको सुरक्षामा चुनौती देखिने सम्भावना थियो ।
हत्या, हिंसा, आगजनी, लुटपातको स्थिति अझ भड्केर मुलुक आक्रान्त बन्ने स्थिति थियो । संविधानलाई पुरै पन्छाएर गणतन्त्र नै दुर्घटनामा पर्ने होकि, राजतन्त्र फर्किने होकि, सैन्य कु हुने होकि, विदेशी हस्तक्षेप हुने होकि भन्ने आशंका र संशय व्याप्त थियो ।
यस्तो विषम परिस्थितिमा खरानीको थुप्रो मुलुक भइसकेपछि पनि सम्हाल्न तयार हुने अभिभावकीय भूमिकामा प्रधानमन्त्री सुशीला कार्की प्रथम महिलाको रुपमा देश जनताले पाएको छ । अब मुलुक सरकार विहीनताको स्थितिमा छैन । लोकतन्त्र र प्रजातन्त्रलाई प्राण भर्न अहिले संवैधानिक निकायहरु सक्रिय भएर लाग्नु पर्ने देखिएको छ । वर्तमान सरकार मुलुकलाई आपतकालीन र संकटकालिन अवस्थाबाट अवतरण गराउनका लागि जेन–जीको सहमतिमा गठन भएको हो । देशको अहिलेको अवस्थालाई जनताको अधिकार संरक्षणतर्फ अघि बढाउनु पर्छ ।
नेतृत्वले बाटो बिराएर आफ्ना पाइला लडखडाउँदा वर्तमान परिस्थितिको सामना गर्नुपरेको हो । कस्तरी खोज्न हिडेको मृग जस्तै, आफ्नै स्वर्ग भूमिलाई नेतृत्वले चिन्न सकेनौ । यस्तै प्रवृतिका कारण हामी पिल्सिरहेका छौँ । छिमेकिसँग दब्नु परेको छ । वीर गोर्खालीको बजनदार इतिहास बोकेका गौरवशाली नेपाली रोजगारीका लागि विदेशी भूमिमा टेक्न बाध्य छन् ।
जेन–जी विद्रोहले राज्य र राजनीतिक वेथिति कुशासन र अत्याचार विरुद्ध झिल्को बाल्न सफल भयो । बर्षौदेखि राज्यसत्तामा भएको भ्रष्टाचार, लुट, कुशासन, दण्डहीनता, विभेद, अन्याय, अत्याचार अन्त्यका लागि युवाले आन्दोलन गरे अझै पनि भ्रष्टाचार र कुशासन अन्त्य हुन्छ भन्ने आशाको सञ्चार गर्न सकिएको छैन । अझै पनि नेपालको राजनीति आशंका र अन्योल उन्मुख बनिरहेको छ ।
जे भए पनि जेन–जी विद्रोहले नेपालको राजनीतिक नेतृत्व सत्ताको दम्भ बोकेका ओली प्रवृति र भ्रष्टाचार विरुद्ध गहिरो झड्का दिइएको छ । राजनीतिक पार्टीहरुको अकर्मव्यता, चुनाव प्रतिको उत्साहको अभाव र जनआन्दोलनका माग सम्बोधनमा सरकारले देखाउन नसकेको तदारुकताका कारण देशमा आशंका र अन्योल बढाएको छ ।
अग्रगामी परिवर्तनका लागि प्रगतिशील शक्तिहरुको मोर्चाबन्दी र जेन–जी विद्रोशका एजेण्डालाई राष्ट्रिय मुद्राका रुपमा स्थापित गर्न आवश्यक देखिन्छ । जेन–जी विद्रोहले सत्ताको फोहरी खेलमा सीमित शीर्ष पार्टी शीर्ष नेतृत्वलाई अस्वीकार गर्ने परिस्थितिमा पु¥यायो । जसले गर्दा शक्तिले मैमत्त भएका दम्भी, अहंकारी प्रवृति सिंह दरबार छोडेर भाग्ने परिस्थिति सिर्जना भयो ।
राजनीतिलाई पेसा बनाएर लुटतन्त्र र भ्रष्टाचारबाट देशलाई दोहन गरी आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति कुम्ल्याउने राजनीतिक नेता, कार्यकर्ता, कर्मचारी र राज्य संयन्त्रका हर्ताकर्तालाई दरिलो झापट दिएर तर्साएको छ । अब युवाले मुलुकमा हुने वेथितिलाई मौन भएर सहेर बस्दैन ।
विद्रोहका स्वरहरु बुलन्छ गर्नेछन् भन्ने आन्दोलनको जुन राप र ताप देखियो त्यसबाट प्रमाणित भइसकेको छ । त्यसर्थ अब राजनीति गर्नेहरु अकुत सम्पत्ति कुम्ल्याउने, लाभका पदमा बस्ने लोभ मोहको प्रवृति बोकेर भन्दा देश र जनताको भलो चाहने स्वच्छ सेवा भाव लिएर राजनीतिमा होमिनु पर्छ । चुनावमा जनता सामु गरेका प्रतिबद्धतालाई चुनाव जितेर गएपछि पूरा गर्नुपर्छ ।
चुनावमा उम्मेदवारको टिकट बाड्दा पनि देश र जनताको पक्षमा सर्मपित नेतृत्वलाई अवसर दिनुपर्छ । धन र डनको आँडमा चुनाव जितेकाहरुमा नैतिकता र इमानदारिताको खडेरी हुन्छ । चुनावमा बोराका बोरा पैसा खर्चेकाहरु सरकारमा पुगेपछि अकुत सम्पत्ति कुम्ल्याएर राज्य कोषको दुरुपयोगतर्फ तल्लिन हुन्छन् । जनताका पक्षमा काम गर्ने जनमत बोकेर सत्तामा पुगेकाहरुले जनतासँग गरेको बाँचा भुल्दछन् जसको परिणाम नागरिक नेतृत्वप्रति आक्रोशित बन्न पुग्दछन् ।
अहिले आम नागरिक नेतृत्वप्रति रुष्ट छन् । नेतृत्वको नालायकीपनबाट जनता आजित मात्र छैनन् बरु वैकल्पिक शक्तिको खोजीमा भौतारिएका छन् । अबको चुनावमा जनविश्वास बोकेको युवा, जुझारु र देश र जनताका पक्षमा काम गर्न सक्ने निडर युवा नेतृत्वको खोजी जनताले गरिरहेका छन् । जनतालाई सधै धोका दिएर स्वार्थपूर्ति गर्ने राजनीति प्रवृति र प्रणालीलाई जेन–जी विद्रोहले निकै ठुलो झड्का पैदा गरेको छ ।
संसारका सबैजसो राजनीतिक क्रान्ति, विद्रोह वा संघर्षले जनतामा नयाँ आशा जागृत गरेका हुन्छन् । नेपाल नै भएका ऐतिहासिक जनआन्दोल, संघर्ष र क्रान्तिले जनतामा नयाँ आशाको सञ्चार गरेकै हुन् । मुलुकमा लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रको अभ्यास गर्ने परिवेश निर्माण भएकै हो । जेन–जी विद्रोहमा सरकारको गोलीबाट दर्जनौ मानिस मारिए ।
निहत्या प्रदर्शनकारी माथि गोली हान्ने आदेश दिने जिम्मेवार व्यक्तिमाथि सरकारले कारबाही गरोस् । विद्रोहमा राज्य सत्ताले हत्या गरेका र घाइते भएका व्यक्तिले न्याय पाउनु पर्छ भन्ने आम जनताको चाहना छ तर जेन–जी विद्रोहको जगमा अडिएको सरकार मौन छ त्यही विद्रोहीको घाउमा मलमपट्टी लगाउन सकेका छैन । तोकिएको समयमा निर्वाचन भई राजनीतिक निकास सरकारले दिन्छ भन्नेमा जनता आशंकित छन् ।
राजनीतिक पार्टीहरु पनि चुनावप्रति उत्साहित देखिँदैनन् । यस्तो परिस्थितिमा सरकारले चुनावी वातावरण बनाउन पर्याप्त पहल कदमी खेल्नुपर्छ । तोकिएको समयमा निर्वाचन भएन भने त्यसपछिको राजनीतिक परिवेश कस्तो बन्ला भन्ने आशंका र अन्योल सबैतिर व्याप्त छ सरकारले यस्तो अन्योल परिस्थितिले चिर्दै अघि बढ्नुपर्छ । यो सरकारको म्यान्डेट चुनाव गराउने मात्रै होइन जेन–जीले उठाएका आधारभूत मागको सम्बोधन गर्नु पनि हो ।
पार्टीहरुको अकर्मव्इता, दम्भ र अहमता अग्नि परीक्षा यही चुनावमा हुँदैछ । जनता प्रति समर्पित, जनताको आकांक्षा र सपना सम्बोधन गर्ने दल र नेतृत्वलाई चुनावमा जितायौँ भने देशलाई सफलतातिर डो¥याउँछ ।