घोराही खानेपानी संस्थाद्वारा श्रद्धाञ्जलीसभा

दाङ, २० कात्तिक । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आफ्ना स्वर्गीय अध्यक्ष देवीबहादुर डिसी (देवी वकिल)

को सम्झनामा श्रद्धाञ्जलीसभा गरेको छ।

घोराही उपमहानगरपालिका–१५ स्थित जानकी टोलमा बुधवार कार्यक्रमको आयोजना गरेर श्रद्धाञ्जलीसभा गरेको हो । घोराही खानेपानी उपभोक्त तथा सरसफाई समितिका कार्यवाहक अध्यक्ष भरतमणि पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले घोराहीमा खानेपानी क्षेत्रको विकासमा स्वर्गीय डिसीले पुर्‍याएको अतुलनीय योगदानको चर्चा गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा समितिका सल्लाहकार भूपमहादुर डाँगीले स्वर्गीय डिसीलाई घोराहीको खानेपानी विकासको अग्रदूतका रूपमा सम्झिँदै उहाँको नेतृत्वमा समितिले उल्लेखनीय प्रगति हासिल गरेको बताएका थिए । समितिका अर्का सल्लाहकार बमबहादुर डिसीले स्वर्गीय अध्यक्षको समर्पण र लगनशीलता सबैका लागि प्रेरणास्रोत रहेको उल्लेख गरेका थिए ।

समितिका कोषाध्यक्ष ध्रुवकुमार केसीले स्वर्गीय डिसीको दूरदर्शी नेतृत्वले घोराहीवासीलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रमको सहजीकरण समितिका सचिव धर्मेन्द्र श्रेष्ठले गरेका थिए।

क्यान्सर रोगबाट लामो समयदेखि पीडित स्वर्गीय अध्यक्ष डिसीको उपचारका क्रममा यहि कार्तिक १६ गते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० वर्षको उमेरमा निधन भएको थियो।