युवराज शर्मा
नेपाल कृषि कर्ममा निर्भर देश हो । कृषि कर्म पनि गाउँलेहरुले गर्छन् । गाउँमा बस्नेहरु गाउँले जीवनमा हुर्किन्छन्, बढ्छनु र खेतीपातिमा निर्भर छन् । बाबुबाजेको पालादेखि हुर्किएर बढेको हुँदा खेतीपातीबट खाद्य आपूर्ति, बसोबास व्यवस्थित गर्नुका साथै आर्थिक जोहो गरी लुगाफाटोको व्यवस्था गर्छन् । जो मानिसका लागि आवश्यक छ ।
मजदुरी गर्ने, तरकाीहरुलाई बेचेर पैसा जुटाउन बजार आउँछन् । गाउँलेहरुले खाद्य सामग्री, दुध दही, तरकारीहरु बजारमा बेच्न नल्याउने हो भने बजारका बासिन्दाहरुले पैसा भए पनि खरिद गरी खान सक्दैनन् । सहरभन्दा गाउँले जीवन स्वस्थ्कर, प्रदुषणरहित वातावरण र शान्त जीवनशैली बन्छ तर गाउँको विकासका लागि राज्यसत्ताको पहुँच र सम्बन्ध स्थापित हुन सकेन । मानिसहरुको झुकाव सहरमुखी भयो । राज्य सत्ताले गाउँको विकास नगरेर सहरको विकासमा केन्द्रित भयो । यसले गाउँमा बस्नेलाई गवार, सहरमा बस्ने मानिसलाई सभ्य ठाने । जबकि सहरीयाहरुको तुलनामा गाउँलेहरु धेरै चेतनशील छन् तर उनीहरुमा आर्थिक अभाव बढ्दो छ । रोजगारीका अवसरहरु छैनन् । खाई खेती बन्यो ।
आर्थिक समस्यामा गाउँलेहरु छन् । यसको समाधान गर्ने आधार नै रोजगारी हो । नेपालमा कृषि रोजगारलाई राज्यसत्ताले व्यवस्थित नगरेसम्म कृषिमा विकास र वृद्धि हुँदैन । उत्पादन घट्छ । गाउँमा निर्भर भएको बजारमा पनि आपूर्ति संकटग्रस्त बन्छ । देशभरको बजार चलायमान बनाउन गाउँको विकास कृषि कर्ममा निर्भर छ । यदि गाउँको विकास कृषि कर्ममा गरियो भने कृषि पर्यटनले ठाउँ लिन्छ । त्यस्तो पर्यटनबाट किसानको खेतीपाती गर्ने तयारी, व्यवस्थापन र कृषि ार्यमा भएका नीति नियमहरुको ज्ञान सहरका बालबालिकाहरुले ज्ञान गर्न सक्छन् ।
जसमा खेतीपाती, पशुपालन र बगैचाको ज्ञान गर्छन् । दुःखसुखको अनुभव गर्छन् । अहिले सहरमा दुधको आपूर्ति गाउँबाट हुन्छ । गाउँलेहरुले पशुपालन गरेर दुधको आपूर्ति गर्छन् । सहरका बालबालिकाले भन्छन्– दुध डेरीमा पाइन्छ तर उनीहरु भन्न सक्दैनन् कि दुध दिने पशुहरुबाट आउँछ । त्यसलाई गाउँलेहरुले थुनबाट दुहेर बजारमा बेच्न ल्याउँछन् । त्यही दुध डेरीले बेच्छ । हामीले पैसा तिरेर किन्छौँ ।
त्यसकारण त्यसकारण अब बालबालिकाले भन्ने छन्– दुध दिने पशुको थुनमा पाइन्छ नकि डेरी पसलमा । यसरी बालचेतनाका लागि शिक्षा दिन आवश्यक सहरलाई भएको छ । त्यसकारण बालचेतनाका लागि गाउँको कृषि कर्म सम्बन्धि ज्ञानात्मक शिक्षा दिनु पर्ने अवस्था छ । त्यसका लागि कृषि पर्यटन विद्यार्थीलाई गराउनु पर्दछ ।
नेपालमा रोजगारको वातावरण कृषिमा गराउन पर्यटन गर्ने स्थान, पथप्रदर्शक, खेतीपाती र पशुपालन व्यवसाय, पंक्षी र फुलबारी व्यवसाय, बगैँचा र फल उत्पादन व्यवसाय, प्राकृतिक दृश्यावलोकन र होटेल व्यवाय जस्ता क्षेत्रहरुलाई पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता ठाउँमा काम गर्ने वातावरण बनाउन राज्य सञ्चालन गर्ने व्यक्तिहरुले पूर्वाधार बनाउन सकेमा रोजगारीका लागि युवाहरुलाई विदेशी भूमिमा पसिना बगाउनु पर्दैन ।
स्वदेशमा नै प्रशस्त रोजगारी पाइन्छ । गाउँको विकास गर्न सडक मार्ग नै सहज र सरल हुनुपर्छ । घर–घरमा खानेपानीर विद्युत आपूर्ति हुनुपर्छ । खेतीयोग्य जमिनमा पानी पटाउनका लागि सहज बनाउन सिँचाइ कुलाहरु पक्की बन्नुपर्छ । गाउँमा नेटवर्कको व्यवस्था गरी सबै नागरिकलाई सूचना, मनोरञ्जन, विचारका स्तम्भहरुको ज्ञान गर्ने वातावरण बनाउनुपर्छ । तबमात्र गाउँलाई धेरै चेतनाकरण गर्न सकिन्छ ।
गाउँ जागेत नभएसम्म कृषि व्यवसायमा विकास हुन सक्दैन । कृषि उपज बढ्न सकेन भने आपूर्ति सहर बजारमा पुग्दैन । देश खाद्य संकटमा हुन्छ । नागरिक भोक र रोगबाट प्रताडित हुन्छन् । सरकारमा बस्नेहरुको महत्व हुन्न । राज्य सत्ताले गाउँलाई हेरेको छैन । गाउँलेहरुलाई चिन्दैन । सत्ताले चिन्ने मानिसहरु नै सहरबासी हुन् ।
उनीहरुका वरीपरी घुम्ने मासिनहरु कै सत्ताका साझेदार हुन् । ती व्यक्तिहरु अपराधिक चरित्रका भए पनि असल व्यक्ति मान्ने शासकको आसय हुन्छ र उसँग त्यस्तै व्यवहार गर्छन् तर गाउँमा बसेर कृषि व्यवसाय गर्ने व्यक्तिलाई प्रशासक वर्गका मान्छेहरुले चिन्दैनन् ।
उनीहरुमा जतिसुकै ज्ञान र सिपको योग्यता भए पनि उनीहरुको लेखाजोखा हुँदैन । त्यसकारण गाउँहरुले भन्छन्– सहरबासी जतिसुकै चरित्रहीन भए पनि प्रशाकहरुको नजरमा योग्य देखिन्छ । उसले गाउँलेहरुलाई भन्छन्–मेरो पहँुच र सम्बन्ध उच्च पदाधिकारीहरुसँग छ । गाउँमा बसेर खेतीपाती गर्ने वर्गलाई चरित्रहीन पाखे भन्छन् । आफूलाई चरित्रवान व्यक्तिका रुपमा स्थापित गर्छन् । गाउँहरुले उब्जनी नगरेमा सहरबासीले उपभोग्य बस्तुहरु खरिद गर्न समस्या पर्छ भन्ने ज्ञान उनीहरुमा छैन ।
सहरबासीहरुले गाउँलेहरुलाई हेप्छन् । उनीहरुले उत्पादन नगरेमा बजारीकरण हुँदैन । मौसम अनुसारको उत्पादन गर्ने हुँदा बजारमा पनि मौसमी तरकारीहरु पाइन्छन् । जस्तै तोरीको समयमा तोरीको साग, भाजी र साग वर्णका तरकारी बजारमा छ्यापछ्याप्ती छन् । आलु र टमाटर वर्षभरी हुने तरकारीको परिकार बन्यो । वर्षामा उब्जनी हुने तरकारीहरु कम मात्रामा छन् ।
युवाहरुलाई कृषि व्यवसायमा सरकारले आकृष्ट गरेन । त्यसैले उनीहरु विदेशीए । गाउँमा निर्भर बजार भए पनि गाउँलेहरुले आफूले खाने तरकारी मात्र उब्जनी गर्न थाले । त्यसैले होला बजारमा तरकारीको बिक्री घट्दै
गएको छ । यसमा सरकारी ध्यान पुग्नुपर्छ ।
अहिले नेपालमा तीन तहका सङ्घीय प्रदेश र स्थानीय सरकार छन् तर तीनै तहका सङ्घीय प्रदेश किसानलाई माथि उठाउने काम गरेनन् । आफ्नै भलोको काम मात्र गरेका छन् । युवाहरुलाई कृषि व्यवसायमा लगाउने नीति कुनै तहको सरकारले गरेन । कसरी गाउँमा तरकारी, फलफूल, खाद्यान्न, दुध, मासु आदि आपूर्ति भारतीय बजारहरुबाट हुनु नै परनिर्भरता बढेको हो ।
आफ्नो देशमा रोजगारको वातावरण नभएपछि युवाहरु विदेशमा गए । गाउँमा बुढाबुढीहरु बस्ने वातावरण भयो । यस्तो अवस्था ल्याउने काम तीनै तहका सरकार चलाउने वर्गबाट भएको सुनाउँछन्–गाउँलेहरु ।
वास्तवमा गाउँको विकास नभएसम्म सहरको आपूर्ति हुँदैन र गाउँलेहरुले उत्पादन नबढाएमा सहरबासीलाई खाद्य, तरकारी, दुधको अभाव र माछा मासुको आपूर्ति हुँदैन । त्यसकारण गाउँलेहरुलाई उत्पादन गर्न प्रोत्साहन अनुदान, सहयोग र सहकार्य गर्नुपर्दछ । उनीहरुलाई बजारमा आपूर्ति गर्न स्थानीय उत्पादनमा ध्यान दिनुपर्छ ।