‘धारापानीलाई धार्मिकसँगै कलाको हब बनाउन सकिन्छ’

गोरक्ष समाचारदाता
दाङ, २० कात्तिक । पाण्डवेश्वर धाम धारापानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विशेष चासो देखाएको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केली, परिषद् सदस्य प्रदीप अधिकारी र दिनेश्वर महतोको टोलीले धारापानी व्यवस्थापन समितिसँग भेटघाट गरी यहाँको विकासका सम्भावना र कलात्मक योगदानका विषयमा छलफल गरेको हो ।

अवलोकनपछि सदस्य सचिव थुम्केलीले धारापानीको प्राकृतिक र सांस्कृतिक संरचना मूर्तिकला निर्माणका लागि अत्यन्त उपयुक्त रहेको बताए । ‘धारापानी ढुङ्गामूर्तिका लागि अनुपम् स्थान रहेछ । यहाँ मूर्ति बगैँचा बनाउन सकिन्छ र ललितकला प्रतिष्ठान यसका लागि सहकार्य गर्न तयार छ’, थुम्केलीले भने । उनले दाङको माटो बलियो र सिर्जनात्मक सम्भावनाले भरिएको उल्ले गरे ।

उनले भने, ‘यहाँको माटोबाट त्रिशूल, लकेट, ब्रासलेट जस्ता कलात्मक चिनोहरू उत्पादन गर्न सकिन्छ । यसले स्थानीय उद्यमशीलता र पर्यटन दुवैलाई जोड्न मद्दत पु¥याउँछ ।’ धारापानी व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले प्रतिष्ठानको पहललाई स्वागत गर्दै सहकार्य गर्न तयार रहेको बताए । पाण्डवेश्वर धामको विकासका लागि तात्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढिरहेको भन्दै अध्यक्ष अधिकारीले यसका सम्भावनाको खोजी गरिरहेको बताए ।

‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देखाएको चासोले हामीलाई उत्साहित बनाएको छ । कलात्मक मूर्तिहरू र स्थानीय हस्तकलाका माध्यमबाट धारापानीलाई अझ आकर्षक धार्मिक गन्तव्य बनाउन सकिन्छ । यसतर्फ हामी योजना बनाएर प्रतिष्ठानसँग सहकार्यको प्रस्ताव पठाउँछौँ’, अध्यक्ष अधिकारीले भने । भेटमा समितिका सचिव विष्णुराम आचार्यले धारापानीलाई धार्मिक आस्था र संस्कृतिको प्रतीकका रूपमा विकास गर्न चाहेको बताए ।

सचिव आचार्यले भने, ‘यहाँको ढुङ्गा र माटो आफैँमा ऐतिहासिक छन् । यदि कलाले त्यसलाई नयाँ रूप दिन सक्यो भने धारापानी नेपालको सांस्कृतिक परिचय बन्नसक्छ । प्रतिष्ठानले देखाएको चासोले धारापानीलाई जीवन्त बनाउन थप मद्दत गर्नेछ भन्ने विश्वास जगाएको छ ।’ प्रतिष्ठानले भविष्यमा स्थानीय कलाकार, मूर्तिकार र समितिसँग मिलेर धारापानी क्षेत्रको कलात्मक संरक्षण र मूर्तिकला प्रवर्धनका कार्यक्रम अघि बढाउन सहयोग गर्ने सदस्य सचिव थुम्केलीले बताए ।