गोरक्ष समाचारदाता
दाङ, २० कात्तिक । लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआइजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधवारदेखि सुरु भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई शिक्षासँगै खेलकुदका गतिविधिमा अघि बढाउने र उनीहरूमा भएको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले नेपाल पुलिस स्कुल घोराहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक दीपक श्रेष्ठले खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने बताए । शिक्षासँगै बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले हरेक विद्यालयले शिक्षासँगै खेलकुदका गतिविधिलाई बढाउँदै बालबालिकालाई सहभागी गराउनुपर्नेमा जोड दिए ।
नेपाल पुलिस स्कुलका प्रिन्सिपल नुमलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, घोराही नगर खेलकुद समितिका अध्यक्ष नरेन्द्र पुनलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रहरी निरीक्षक रामकुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी मेधावी बुढाथोकी र पूजा पाण्डेले गरेका थिए ।
घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित नेपाल पुलिस स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाका २२ वटा विद्यालयका २४ वटा टिमको सहभागिता छ । २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता हुने स्कुलले नगद ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगिताको सेमीफाइनल पुग्ने टोलीलाई नगद छ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विधागत रूपमा पुरस्कृत गरिने प्रिन्सिपल पाण्डेले जानकारी दिए । प्रत्येक वर्ष सञ्चालन हुने प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी रहने गरेका छन् ।
नेपाल पुलिस स्कुलको बिजयी सुरुवात
यसैबिच प्रतियोगिताको नेपाल पुलिस स्कुल (ब्लु) टिम विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस स्कुल (ब्लु) टिमले ज्ञानज्योति एजुकेसन एकेडेमीको टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
नेपाल पुलिस स्कुलको ब्लु टिमलाई जित दिलाउन क्याप्टेन अमित मल्ल र प्रतीक थापाले १÷१ गोल गरेका थिए । क्याप्टेन थापाले खेल सुरु भएको चौथो मिनेट र थापाले पहिलो हाफको १७ औँ मिनेटमा गोल गरेका थिए । खेलमा ज्ञानज्योति एजुकेसन एकेडेमीको तर्फबाट खेलाडी दुर्गाप्रसाद गिरीले दोस्रो हाफको एक मिनेटमै गोल गरेका थिए । उक्त खेलमा नेपाल पुलिस स्कुल ब्लु टिमका जर्सी नं. १४ का खेलाडी केशम वली म्यान अफ द म्याच भएका थिए ।