गोरक्ष समाचारदाता
दाङ, २० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ललितकलाको प्रवर्धन र विकासमार्फत् प्रदेशलाई उत्कृष्ट बनाउन सकिने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग भेटका क्रममा बुधवार मुख्यमन्त्री आचार्यले कला र सिर्जनालाई रोजगारसँग जोड्दै सांस्कृतिक क्षेत्रलाई आर्थिक अवसरको माध्यम बनाइने बताएका हुन् ।
मुख्यमन्त्री र प्रतिष्ठानबिचको भेटमा सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परिषद् सदस्य प्रदीप अधिकारी र परिषद् सदस्य दिनेश्वर महतो सहभागी थिए । छलफलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२, सेरामिक्स हब गढवा, मूर्तिकला बगैँचा (मूर्तिकला उद्यान) लगायतका विषयमा विस्तृत रूपमा कुराकानी भएको थियो ।
मुख्यमन्त्री आचार्यले ललितकलालाई प्रदेशको पहिचानसँग जोड्दै अनुसन्धान, सिर्जना र सम्मानलाई प्रमुख आधारका रूपमा अघि बढाइने बताए । उनले ललितकला र सांस्कृतिक सम्पदाको जगेर्नासँगै यस क्षेत्रलाई रोजगारी र पर्यटन प्रवर्धनसँग जोड्न सकिने बताए ।
ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघदेखि चैत महिनाभित्र रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२ आयोजना गर्ने तयारी गरेको छ । ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा प्रदेशका दुर्गमदेखि सुगम क्षेत्रका कलाकारलाई सहभागी गराइनेछ ।
प्रदर्शनीबाट छानिएका उत्कृष्ट कलाकृतिहरू राष्ट्रिय ललितकला प्रदर्शनी–२०८३ मा समावेश गरिनुका साथै उत्कृष्ट कलाकारलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, विधागत पुरस्कार र नवप्रतिभा पुरस्कार प्रदान गरिनेछ । प्रदर्शनीबाट नेपाली कला र संस्कृतिको जगेर्ना, कलाकारबिच सहकार्य, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको पहिचान विस्तार हुने अपेक्षा गरिएको छ ।