गोरक्ष समाचारदाता
तुलसीपुर, २० कात्तिक । रुकुम पश्चिमको डिग्रेमेलामा आँखासम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । आँखा उपचारसम्बन्धी सर्वसाधारण नागरिकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र सर्जिकल आँखा उपचार केन्द्र रुकुम पश्चिमको आयोजना तथा एनएबिपी नर्वेको आर्थिक सहयोगमा रुकुम पश्चिममा लाग्ने ऐतिहासीक डिग्रेमेलामा निःशुल्क आँखा जाँच तथा जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।
मेलामा आउने दर्शक तथा डिग्रे साइकुमारी मन्दिर दर्शनका लागि रुकुमलगायत विभिन्न छिमेकी जिल्लाका नागरिकलाई आँखा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम गरिएको हो । आँखामा लाग्ने रोग उपचार तथा अस्पताल र उपचार केन्द्रबाट दिने सेवाका साथै विशेषज्ञ सेवासम्बन्धी सचेतना दिएको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
मेलामा आएका करिब पाँच हजार बढीलाई जनचेतना दिइएको थियो । अस्पतालले एनएबिपी नर्वेको सहयोगमा विभिन्न जनचेतना कार्यक्रम गदै आएको छ । अस्पतालले आँखा उपचारसँगै सचेतनात्मक, शिक्षात्मक कार्यक्रम गर्दै आएको छ । यसले गर्दा अस्पतालसम्म आँखाका बिरामीको पहुँच वृद्धि हुनुका साथै आर्थिक र अन्य जानकारीको अभावले अन्धोपनमा घरमै बस्नु पर्ने वाध्यता अन्त्य गर्ने राप्ती आँखा अस्पतालले जानकारी दिएको छ ।