Goraksha

National Daily

मेरो खुशी : आफूले पढेकै विद्यालयको अध्यक्ष हुँदा …

सहज सरल र मिजासिला उनी सामाजमा हुने जुनसुकै कार्यक्रममा सक्रिय भएर लाग्ने गरेका छन् । वन वातावरणको संरक्षण होस् वा शैक्षिक क्षेत्रको विकासदेखि अन्य सामाजिक कार्यमा रातदिन नभनी उनी क्रयाशील हुन्छन् ।

तुलसीपुर–४ खाद्रे निवासी कलसिंह रावत अहिले अपाङ्गताको क्षेत्रमा मात्र नभई सामाजिक, राजनीतिकदेखि अन्य विभिन्न सामाजिक क्षेत्रमा सक्रियतापूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिहेका छन् । तुलसीपुर– ४ को खाद्रेमा रहेको श्री जनश्रम माध्यमिक विद्यालयको विगत दुई वर्षदेखि अध्यक्षको जिम्मेवारी बहन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सल्यानको हाल कपुरकोट गाउँपालिका–१ गर्पामा जन्मिएर २०५२ सालदेखि तुलसीपुर–४ खाद्रेलाई कर्मथलो बनाएका रावतले आफ्नो जीवनका उकाली ओरालीमा धेरै सङ्घर्ष गरेको भन्दै सङ्घर्षमै खुसी भेटेको बताए । सात महिनाको हुँदा आगोले जल्दा शारीरिक रूपले अपाङ् हुन पुगेको भए पनि रावतले आफूलाई अपाङ्ग भएको महसुस कहिलै नभएको बताउँछन् ।

‘शारीरिक रूपले अपाङ्ग भए पनि मलाई यो समाजले पत्याएको छ, जिम्मेवारी दिएको छ, यो जिम्मेवारीले नै मलाई खुसी तुल्याएको छ’, रावतले भने । तुलसीपुर–४ को खाद्रेमा रहेको श्री जनश्रम माविबाट एसएलसी पास गरेका रावतले आज सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचन लडेर अध्यक्ष बन्दा खुसी लागेको बताए ।

‘शिक्षा जस्तो पवित्र संस्थाको जिम्मेवारी यो समाजले मलाई दियो, त्यो नै मेरो जीवनको पहिलो खुसी हो’, रावतले भने । उनले विद्यालयमा निर्वाचन गर्ने कुरा राम्रो नभए पनि आफू समय परिस्थितिले अध्यक्षका लागि निर्वाचन लडेको सुनाए । ‘म अध्यक्षमा लड्दै गर्दा मनमा डर त थियो तर आँट पनि थियो, मलाई समाजले पत्यायो र आफूले पढेकै विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दियो । मलाई यो अवसर मेरा लागि असाध्यै खुसीको क्षण हो’, रावतले भने ।

उनले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जितेसँगै विद्यालयमा शैक्षिक, भौतिक विकासका लागि रात दिन नभनी लागेको सुनाए । ‘अहिले विद्यालयमा धेरै परिर्वत भएको छ, सबै अभिभावकले मलाई जिम्मेवारी दिनुभयो, सबैको साथ, सहयोगले विद्यालयमा विभिन्न शैक्षिक, भौतिक सुधारमा लागेको छु, यसैमा म खुसी छु’, रावतले भने । उनले आफू विद्यालयको नेतृत्वमा आएसँगै विभिन्न संघसंस्था, व्यक्तिबाट सहयोग पाएर विद्यालयमा खानेपानीको व्यवस्थापन, प्रतीक्षालय निर्माणदेखि पार्किङ स्थान बनाएको भन्दै खुसी व्यक्त गरे ।

यसैगरी जिल्लामा शैक्षिक सुधार भएको र यस वर्षको एसइईमा ८२ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खुसी व्यक्त गरे । ‘अहिले खानेपानीदेखि विद्यार्थीलाई धेरै कुराको सहज भएको छ । शैक्षिक विकासका लागि तीन करोड भौतिक विकासमा बजेट आएको छ, यो मेरो र हामी सबैको लागि खुसीको कुरा हो’, उनले भने ।

स्थानीय न्याउली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका रावतले आफू वनमा आउँदा वन ऋणमा रहेको र अहिले त्यो सबै तिरेर वन व्यवस्थापनमा राम्रो काम गर्न सफल भएमा आफू खुसी भएको सुनाए ।‘म अध्यक्ष भएसँगै समूहका सबैले साथ र सहयोग दिनुभयो, अहिले दिगोवन व्यवस्थापन वैज्ञानिक वन व्यवस्थापनलगायतका क्षेत्रमा काम भइरहेको छ, वनसँग उपभोक्तालाई जोडेर उद्यमशीलताको विकासमा हामी लागेका छौँ, यसमा पनि मलाई खुसी लागेको छ’, रावतले भने ।

रावतले अहिले वनबाट आयस्रोतसमेत बढेको भन्दै यसले उपभोक्तालाई भविष्यमा सहयोग पुग्ने आशा व्यक्त गरे । उमेरले सानै भए पनि समाजमा ठुलो जिम्मेवारी सम्हाल्न पाउँदा सबैले विश्वास गरे रसहयोग गर्दा आफू सफल भएको भन्दै खुसी भएको उनले बताए । यसैगरी अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको सचिवको समेत नेतृत्व गरेका रावतले आफूजस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरूको हक, हितमा काम गर्न पाएकोमा खुसी लाग्ने गरेको सनाए । ‘धेरै किसिमका अपाङ्गता हुन्छन् तर ती अपाङ्गता भएका व्यक्तिहरूले पनि जिम्मेवारी पाए जुनसुकै काम गर्न सक्षम हुन्छन् र सक्छन् भन्ने उदाहरणका रूपमा मलाई समाजले लिँदा गर्व लाग्छ अनि खुसी लाग्छ’, रावतले भने ।

रावतले अपाङ्ग समाज सुधार केन्द्रमा नेतृत्व गदै गर्दा आफूहरूले फिजियोथेरापी सेन्टर सञ्चालन गरी धेरैको निःशुल्क उपचार सेवा दिन पाउँदा पनि खुसी लागेको सुनाए । यसैगरी उनले विभिन्न संस्थाको सहयोगमा अपाङ्गता भएकाको लागि सहायक सामग्री वितरणदेखि विभिन्न कार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले तुलसीपुर–४ का उजरसिंह बुढा पहिले घरभित्रै थलिएको र आफूले उनलाई सानो सहयोग स्वरूप ह्विलचेयर उपलब्ध गराएर विस्तारै उनको अवस्थामा सुधार आएको देख्दा खुसी मिलेको सुनाए । ‘अहिले उहाँले बैसाखीको सहाराले हिडडुल गर्नुहुन्छ उहाँको जीवनमा केही न केही परिवर्तन आएको छ, यो देख्दा खुसी लाग्छ’, रावतले भने ।

आफुले विभिन्न क्षेत्रमा सेवा गर्दा घरपरिवार, श्रीमती तथा समाजले सहयोग गरेको र सबैबाट सहयोग पाएकोमा पनि खुसी व्यक्त गरे । ‘इन्छा, चाहना र जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सकिन्छ, चाहे त्यो शारीरिक अपाङ्गता भएको मान्छे होस् वा सवलाङ्ग, मलाई समाजले त्यो जिम्मेवारी दिनुभएको छ त्यो मैले पूरा गरेको जस्तो लाग्छ । सायद यही होला खुसी, होइन र ?’ उनले भने ।

प्रस्तुति : बालाराम खड्का