बेमौसमी वर्षाले तीन प्रतिशत धानमा क्षति

गोरक्ष समाचारदाता
दाङ, १९ कात्तिक । दाङमा बेमौसमी वर्षाका कारण तीन प्रतिशत धानमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसारका कात्तिक ११ देखि १४ गतेसम्म परेको वर्षाका कारण काटिसकेको तीन प्रतिशत अर्थात् एक हजार ९४ दशमलव ४३ हेक्टर जमिनमा काटेको धान पानीले भिजेर क्षति भएको हो ।

जिल्लामा धान खेती भएको ३६ हजार चार सय ८१ हेक्टर क्षेत्रफलमध्ये ८२ प्रतिशत अर्थात् २९ हजार नौ सय १५ हेक्टर क्षेत्रफल खेतको धान वर्षा अघि नै किसानले भित्राइसकेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन् । कार्यालय प्रमुख भण्डारीका अनुसार जिल्लामा अझै १५ प्रतिशत अर्थात् पाँच हजार चार सय ७२ हेक्टर क्षेत्रफल जमिनमा रोपेको धान काट्न बाँकी रहेको छ ।

‘जिल्लामा किसानले धान काटेर भित्राउने तयारी रहेको तीन प्रतिशत जमिनमा मात्र क्षति हुन पुगेको छ’, कार्यालय प्रमुख भण्डारीले भने, ‘धेरैजसो किसानले पहिले नै धान भित्राइसकेको र कतिपय धान नकाटेको हुनाले क्षति हुनबाट बचेको छ ।’

वर्षाबाट केही किसानलाई क्षति पुगे पनि समग्रमा जिल्लामा न्यून नै रहेको कार्यालय प्रमुख भण्डारी बताउँछन् । जिल्लाका १० वटै स्थानीय तहमा सम्पर्क गरेर क्षतिको विवरण सङ्कलन गरिएको र देउखुरी क्षेत्रमा अधिकांश किसानले पहिले नै धान भित्राइसकेकाले दाङ उपत्यकामा धानमा कम क्षति देखिएको बताए ।