सहकारीद्वारा तरकारी सङ्कलन र बिक्री सुरु

प्रिया स्मृती गजमेर
लमही, १९ कात्तिक । दीपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले मङ्गलवारदेखि तरकारी सङ्कलन गरी बिक्री वितरण गर्न सुरु गरेको छ । सहकारीमा आवद्ध र बाहिरका किसानले उत्पादन गरेका विभिन्न तरकारी सहकारीको बिक्री केन्द्रमार्फत् बिक्री गर्ने व्यवस्था गरिएको हो ।

उद्घाटन कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले बजार मूल्यको मार खेपिरहेका किसानका लागि बिक्री केन्द्रले दिने विश्वास व्यक्त गरिन् । उनले तरकारी सङ्कलन तथा बिक्री केन्द्रले किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य पाउने, उपभोक्ताले ताजा र सस्तो दरमा तरकारी खरिद गर्न सक्ने र बिचौलियाको प्रभाव घटाउन सहयोग गर्ने बताइन् ।

किसानले उत्पादन गरेको तरकारी बारीकै छेउबाट उचित मूल्यमा बिक्री गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । अघिल्ला वर्षहरूमा बारीमै कुहिएर नष्ट हुने तरकारी अब सहजै बजारमा पुग्ने विश्वास किसानले लिएका छन् । तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनले तरकारी उत्पादक किसानलाई सहयोग गर्ने लमही नगरपालिका–८ सतबरियाका किसान देउमणि चौधरी बताउँछन् ।

चार बिघा जमिनमा तरकारी खेती गर्दै आएका चौधरीले अब तरकारी बिक्रीका लागि सहज हुने बताए । तरकारी खेतीमा लामो अनुभव लिएका चौधरीले भने, ‘थोरै खेती गर्नेका लागि बिक्री गर्न कठिन हुन्छ तर धेरै जग्गामा खेती गर्नेका लागि सजिलो छ, ठुला व्यापारी बारीमै तरकारी लिन आउँछन् ।’

देउमणि जस्तै बताउँछिन्, देखउुरीको सतबरियामा विगत चार वर्षदेखि तरकारी खेती गर्दै आएका घोराही उपमहानगरपालिका–२ रामपुर निवासी किसान शेरबहादुर चौधरीले पनि । दुई बिघा दुई कट्ठामा युएस–९१७ जातको खुर्सानी खेती गरेका चौधरीले गाउँमै सहकारीले तरकारी किनिदिँदा आपूm जस्ता किसानलाई बिक्रीका लागि बजार जान नपर्ने बताउँछन् ।

सतबरियामा किसानले प्रतिकट्ठा दुईदेखि दुई हजार पाँच सय रुपैयाँसम्म भाडा तिरेर खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष पुनम घर्ती मगरका अनुसार किसानले उत्पादन गरेका तरकारी लिन सहकारी आफैँ बारीसम्म पुग्नुका साथै किसानले तरकारी आफैँ बिक्री केन्द्रसम्म ल्याए ढुवानी खर्च सहकारीले नै उपलब्ध गराउने गर्छ ।

हाल दीपन सामाजिक उद्यमी महिला सहकारीमा पाँच कट्ठा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने दुई सय ५० बढी किसान आबद्ध छन् । किसानद्वारा उत्पादित तरकारीको बजारीकरणमा सहजता ल्याउन सहकारीले नौ सदस्यीय तरकारी बजारीकरण समिति गठन गरेको छ । समितिको संयोजकमा अध्यक्ष घर्ती मगर छिन् ।

दीपन कृषि उपज सङ्कलन केन्द्र स्थापनाका लागि दीपन सहकारीको १० लाख ५७ हजार रुपैयाँ, हेफर इन्टरनेसनलको सहयोगमा सात लाख रुपैयाँ र ग्रामीण महिला उत्थान केन्द्र दाङको सहभागितासहित १७ लाख ५७ हजार रुपैयाँमा केन्द्र स्थापना गरिएको हो ।