धर्मशालाबाट सेवा दिँदै आन्तरिक राजस्व कार्यालय

बालाराम खड्का
तुलसीपुर, १८ कात्तिक । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले धर्मशालाबाट सेवा सुरु गरेको छ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कार्यालयमा गरिएको आगजनीबाट राजस्व कार्यालयको भवन खण्डहर बनेपछि सोमवारदेखि तुलसीपुर–६ स्थित त्रिशिद्धेश्वरी कालिका मन्दिरको धर्मशालाबाट सेवा सुरु गरेको हो ।

करसहित मासिक ७५ हजार भाडा तिरेर मन्दिरको धर्मशालामा कार्यालय सरेको कार्यालय प्रमुख श्रीधर टन्डनले जानकारी दिएका छन् । उनका अनुसार असोज ५ गतेदेखि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको थियो । राजस्व कार्यालय प्रमुख टन्डनले सार्वजनिक खरिद ऐन अन्तर्गतको प्रक्रिया पूरा गरी कर कार्यालयले मन्दिरको धर्मशाला मासिक ७५ हजार रुपैयाँमा भाडामा लिएको बताए ।

विगत २०४२ सालदेखि आन्तरिक राजस्व कार्यालयले तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित अरनीको मैदान नजिकबाट सेवा दिँदै आएको थियो । आन्तरिक राजस्व कार्यालय भाडामा बस्न थालेको धर्मशालामा कुल २३ वटा कोठा छन् । ती कोठामध्ये हाल राजस्व कार्यालय भुइँ तलाका १३ र त्यसभन्दा माथिल्लो तलाका दुई वटा कोठा गरी १५ वटा कोठा भाडामा लिएको छ ।

कार्यालय प्रमुख टन्डनका अनुसार भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कार्यालयका तीन वटा भवन, सवारी साधनसमेत आगजनी भएपछि करोडौँको क्षति भएको थियो । प्राविधिक टोलीले आगजनीबाट ध्वस्त संरचना बस्नका लागि उपयुक्त नरहेको निष्कर्ष निकालेको थियो । त्यसपछि उद्योग वाणिज्य संघले निःशुल्क रूपमा उपलब्ध गराएको कार्यालयमार्फत् राजस्व कार्यालयले सेवा दिँदै आएको थियो ।

‘आगजनी भएको भवनहरूको अनुगमनमा केही समयमा केन्द्रबाट टोली आउने भएको छ, त्यहाँबाट सेवा दिन समय लाग्नसक्छ । त्यति समयका लागि धर्मशालाबाटै सेवा दिनेछौँ’, उनले भने ।