अमरराज आचार्य
दाङ, १८ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तुलसीपुरले कातिक २३ गतेबाट दाङमा धान खरिद गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमवार घोराहीस्थीत जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कात्तिक २३ गतेबाट धान खरिद गर्ने निर्णय गरेको हो ।
बैठकले गढवा गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिकाबाट धान खरिद गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिएका छन् । उनका अनुसार धान खरिदका लागि गढवासँग सम्झौता भइसकेको छ भने अन्य पालिकाहरूसँग सम्झौता हुन बाँकी छ । केन्द्रले दिएको कोटा अनुसार पाँच हजार क्विन्टल धान खरिद गरिने भएको उनले बताए ।
खाद्यले धान खरिद गर्न ढिला गरेको कृषकले गुनासो गर्दै आएका छन् । जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले करिब २० हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको थियो तर केन्द्रले जिल्लाबाट पाँच हजार क्विन्टल मात्र धान खरिद गर्ने भनेपछि समस्या भएको कम्पनीले जनाएको छ । ‘हामीले केन्द्रको निर्देशन अनुसार धान खरिद गर्न हो’, सूचना अधिकारी डाँगीले भने ।
अघिल्लो वर्षमा खाद्यले धान खरिद गर्न चाहेको मरिमाणमा धान पाउन नसकेकाले केन्द्रले कोटा घटाएको हुनसक्ने डाँगी बताउँछन् । ‘पहिलेको अवस्था हेरेर पनि कोटा निर्धारण भएको हुनसक्छ पहिले भने अनुसार धान नपाएकाले जिल्लामा कोटा घटेको हुनसक्छ’, उनले भने । धान खरिदका लागि गढवा गाउँपालिकामा केन्द्र निर्धारण गरिएको स्थानमा काँटा तथा बोरासमेत लगिसकिएको उनको भनाइ छ ।