भरत विश्वकर्मा
रोल्पा, १८ कातिक । सुनिलस्मृति गाउँपालिका–७ तेवाङका साहिराम पुनको घरमा केही वर्ष अघिसम्म हल–गोरु थिए । हल गोरुकै सहायताले उनले खेतबारी जोतेर अन्न उब्जाउने गर्दथे तर केही वर्षदेखि उनको घरमा हलगोरु छैन । गोरुले गर्ने काम ट्याक्टर (मिनी टिलर) ले गर्न थालेपछि उनले गोरु पाल्न छोडेका हुन् ।
केही वर्ष यता आफूले ट्याक्टरकै प्रयोगबाट खेतबारी जोत्दै आएको उनले बताए । ‘केही समय अघिसम्म सबैले बारी जोत्न गोरु प्रयोग गर्थे तर पछिल्लो समय क्रमशः गोरु पाल्ने परम्परा हराउँदै गएको छ’, उनले भने, ‘अहिले गाउँमा प्रायः सबैको घरमा गोरु छैनन्, बिस्तारै गोरु पाल्न छोड्दैछन् ।’
आधुनिक प्रविधिले गर्दा खेती गर्दा लाग्ने समय र खर्चमा कमी आएको पुनको भनाइ छ । ट्याक्टरको प्रयोगले खेत तथा बारी जोत्दा छिटो र छरितो हुने गरेको पुन बताउँछन् । ‘वर्षभरि गोरु पाल्यो, वर्षभरि खुवायो, खेतीको समयमा मात्र हो गोरुको काम, गोरुको प्रयोगबाट बारी जोत्न पनि समय धेरै लाग्ने, बारीका कुनाकाप्चासम्म गोरुले जोत्न नसक्ने, पछि फेरी खेताला लगाएर कोदालोले खन्नुपर्ने, मिलाउनुपर्ने, डल्ला फुटाउनुपर्ने’, उनले थपे, ‘अहिले मिनी टिलरले जोत्दा काम छिटो हुन्छ, कुनाकाप्चा सबै ठाउँमा भ्याउँछ, कोदालोको पनि कामै हुन्न, डल्ला फुटाउनुपर्ने झन्झट पनि हरायो, खर्चको हिसाबले पनि सस्तो हुन्छ ।’
अर्का किसान दीपक विष्टले देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरू बिदेसिएकाले गाउँ खाली जस्तै भएको र काम गर्ने युवा नै नभएपछि गोरु पाल्ने चलन हराउँदै गएको बताए । ‘घरमा काम गर्ने मान्छे छैनन्, गोरु चराउने, घाँस पानी गर्ने कोही नभएपछि बिस्तारै गाउँका मान्छेले गोरु पाल्न छाड्दै गएका छन्’, उनी थप्छन्, ‘मिनी टिलरले काम गर्दा छिटो हुन्छ, समयको बचत हुन्छ, खर्च पनि कम हुन्छ, गोरुको प्रयोगबाट जोत्दा खर्च डबल हुन्छ ।’
केही वर्ष अघिसम्म गाउँघरका प्रायः सबै किसानका घरमा हल गोरु हुन्थे । हरेक परिवारले हल गोरु पाल्ने र खेतीको समयमा गोरुले खेतबारी जोतेर अन्न खेती गर्दथे । पछिल्लो समयमा भने गाउँघरमा गोरु पाल्ने परम्परा क्रमशः कम हुँदै गएको छ । किसानले गोरु पाल्न छोडेर गोरुको काम आधुनिक प्रविधिबाट गर्दै आएका छन् ।
बारीमा मकै, गहुँ, जौँ, फापरलगायतका अन्न बाली लगाउन र धान रोप्न, खेत जोत्ने काम अहिले गोरुको सटो हाते ट्याक्टर (मिनी टिलर)को प्रयोगबाट गर्दै आएका छन् । अहिले किसानलाई मकै, धानबाली भित्राउने र बारी जोत्ने चटारो छ । बारी जोत्नका लागि गाउँका किसानले मिनी टिलरको प्रयोग पनि गर्ने गरेका छन्, कसै–कसैका बारीमा हल गोरुले जोतेको देख्न सकिन्छ । प्रविधिको प्रयोगमा वृद्धि भइरहेको छ । युवाशक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराए जस्तै भएको स्थानीय बताउँछन् ।
गोरुले जोतेको जमिनमा र मिनी टिलरले जोतेको जमिनमा उत्पादनमा भने केही फरक हुने गरेको किसानको अनुभव छ । प्रविधिले गर्दा जोत्ने काममा छिटो, छरितो र सहज भए पनि अन्नबाली उत्पादनमा भने फरक हुने गरेको किसान बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लागे पनि उत्पादन राम्रो हुने गरेको र मिनी टिलरले बारी जोत्दा छिटो भए पनि उत्पादनमा केही कमी आएको किसान बताउँछन् ।
पछिल्लो समय कृषिमा आधुनिक प्रविधिको प्रयोगमा वृद्धि गर्दै उत्पादनमा वृद्धि गर्ने हिसाबले विभिन्न निकायले अनुदानमा विभिन्न कृषि उपकरण वितरण गरेका छन् । निकायहरूले वितरण गरेको कृषि उपकरणले कृषकलाई सहज भए पनि परम्परागत सिप लोप हुने चिन्ता थपिएको छ ।