गोरक्ष समाचारदाता
दाङ, १८ कात्तिक । बराह क्षेत्र खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा भएको अनियमितताबारे छानबिन गर्न माग गरिएको छ ।
समितिका उपाध्यक्ष इन्द्रा बुढा मगर, कोषाध्यक्ष हरिजोनी घर्ती मगर, सदस्यहरू शान्तकुमार विक र अर्चना चौधरीले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर घोराही उपमहानगरपालिका–१३ र १६ मा रहेको बराहा क्षेत्र खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।
उनीहरूले समितिका अध्यक्ष गोकर्ण गिरी, सचिव देउमन दमाई र सहसचिव अजय दर्लामीले सार्वजनिक खरिद ऐन २०६३ विपरीत मनोमानी ढङ्गले ठेक्का सम्झौता गरेको र कोषाध्यक्षलाई थाहा नै नदिएर बैंकबाट पैसा निकाल्ने गरेको समेत आरोप लगाएका छन् ।
२०८१ फागुन २९ गते कार्यसमिति बैठकले पाँच लाख रुपैयाँसम्मको काम अमानतमा गर्ने निर्णय गरे पनि कसलाई कति रुपैयाँमा ठेक्का दिने भन्ने समितिमा छलफल नै नगरेर समितिका अध्यक्ष गिरी, सचिव दमाई र सहसचिव दर्लामीले म्यानेजिङ निर्देशक दिनेश नेपाली रहेको मुक्ति निर्माण एन्ड सप्लायर्स प्रालिसँग तीन करोड १० लाख ९७ हजार तीन सय २१ रुपैयाँ ३० पैसामा सम्झौता गरेको आरोप लगाएका छन् ।
निर्माण कार्य मेसिनमार्फत् सुरु भएपछि मात्र आपूmहरूले थाहा पाएको पत्रकार सम्मेलनमा उपाध्यक्ष इन्द्र बुढाले बताइन् । कानुनी प्रक्रिया अनुसार खानेपानी आयोजना निर्माणको कार्यलाई अघि बढाउन पटक पटक आग्रह गर्दा पनि बेवस्ता गरिएको र वडा कार्यालय तथा प्रशासनमा उजुरी गरिएपछि मात्र काम रोकिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बुढा मगरले उपभोक्ताको श्रम, कर र श्रेयअधिकारमाथि अन्याय भएपछि पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । पत्रकार सम्मेलनमा उनीहरूले सरोकारवालाको सहभागितामा समिति गठन गरी ७ दिनभित्र छानबिन र दोषीमाथि कारबाहीसँगै सम्झौता गर्ने अध्यक्षसहित संलग्न पदाधिकारीको राजीनामा माग गरेका छन् । यता समितिका अध्यक्ष गोकर्ण गिरीले आरोप अस्वीकार गर्दै निर्माण कार्य कोटेसन विधि र सार्वजनिक सूचनामार्फत अघि बढाइएको बताएका छन् ।