अनुदानमा किसानलाई गहुँको बिउ

प्रमोद आचार्य
दंगीशरण, १७ कात्तिक । दंगीशरण गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । गाउँपालिकाले आइतवार पालिका भित्रका ६१ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको हो ।

किसानको माग अनुसार तीन लाख ६८ हजार एक सय ८० रुपैयाँ बराबरको गहुँको बिउ खरिद गरिएको कृषि साखा प्रमुख सरु भुसालले जानकारी दिइन् । उनका अनुसार प्रतिकेजी ८२ रुपैयाँ पर्ने गहुँ किसानको ४१ र गाउँपालिकाको ४१ रुपैयाँ गरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

वितरण गरिएको गहुँको बिउमा एनएल–९७१ तीन हजार तीन सय ४० केजी, विजय चार हजार चार सय ८० केजी, वाणगङ्गा एक हजार एक सय ३० केजी गरी जम्मा आठ हजार नौ सय ८० केजी गहुँको बिउ वितरण गरिएको हो । गहुँको बिउ वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक वर्ष २०८२÷८३ मा अफूहरूले खाद्यान्न बाली बिउ वितरणका लागि पाँच लाख रुपैयाँ बजेट वितरण गरिएको र जस अन्तर्गत गहुँको बिउको माग अत्यधिक आएकाले किसानको मागलाई सम्बोधन गर्न गहुँको बिउ वितरण गरिएको बताए ।

अध्यक्ष गिरीले आफूले यहाँका किसानले बढीभन्दा बढी कृषि बाली उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले उत्पादन गरेको कृषि बालिनालीलाई सही र सुरक्षित भण्डारणका लागि ५० प्रतिशत अनुदानमा हर्मेटिक व्यागसमेत वितरण गरिएको जानकारी दिए ।