बालाराम खड्का
तुलसीपुर, १७ कात्तिक । नेपाल–भारत सीमा नाका अन्तर्गत गढवा गाउँपालिका–८ कोइलासमा ८१ जनाक मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । कोइलावासमा रहेको आँखा उपचार केन्द्रमा भएको निःशुल्क आँखाको शल्यक्रिया शिविरमा ८१ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग तथा रुइत फाउन्डेसनको आर्थिक सहयोगमा आँखा उपचार केन्द्रमा शिविर भएको थियो ।
दाङ र भारतको सीमाना पर्ने उक्त स्थानमा निःशुल्क आँखाको शल्यक्रिया पाएसँगै स्थानीय र छिमेकी देशका नागरिकले खुसी व्यक्त गरेका थिए । कोइलावासमा आँखा उपचार केन्द्र स्थापना गरेर दैनिक आँखा उपचार सेवा दिनुका साथै केही वर्षदेखि मासिक आँखाको शल्यक्रिया शिविर सञ्चालन गरिँदै आएको छ ।
उपचार केन्द्रमा शल्यक्रिया गर्न आउनेको सङ्ख्या बढदै गएको र आगामी दिनमा उपचार सेवा अझ प्रभावकारी बनाउने उपचार केन्द्रका इन्चार्ज राकेश चौधरीले जानकारी दिए ।
उपचार केन्द्रमा नेपाली तथा छिमेकी राष्ट्र भारतका नागरिकसमेत आँखा उपचार सेवा लिन आउने गरेका छन् । प्राडा प्रदीप बास्तोलासहितको प्राविधिक टोलीले शिविरमा शल्यक्रिया सेवा दिएको नेत्र सहयाक अमृत नेपालले जानकारी दिए ।
सात सय बढीको निःशुल्क आँखा जाँच
यसैबिच तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको छ । राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरको प्राविधिक सहयोग तथा एनएबिपी नर्वेको आर्थिक सहयोगमा तुलसीपुर–११ मा भएको आँखा जाँच कार्यक्रममा तीन सय १४ जनाको आँखा जाँच गरिएको थियो ।
जसमध्ये ६१ जना मोतियाविन्दुका बिरामीलाई राप्ती आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका–१० मा भएको निःशुल्क आँखा जाँच कार्यक्रममा दुई सय १३ जनाको आँखा जाँच गरिएको थियो भने ३७ जना मोतियाविन्दुका बिरामी फेला परेको नेत्रसहायक रोहित कडायतले जानकारी दिए ।
सैगरी तुलसीपुर उपमहानगरपालिका–१४ मा भएको निःशुल्क आँखा जाँच कार्यक्रममा दुई सय ३८ जनाको आँखा जाँच गरिएको थियो । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको निःशुल्क आँखा जाँच कार्यक्रममा ४८ जना मोतियाविन्दुका बिरामीलाई राप्ती आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको बाह्य कार्यक्रम सहसंयोजक पूर्णबहादुर वलीले जानकारी दिए । उनीहरूलाई एनएबिपी नर्वेको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिने अस्पताले जनाएको छ ।