स्वदेशी उपचार र संस्कारको पुनर्जागरण

भुपेन्द्र सुवेदी

यस वर्षभरि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण हामी सबैले आफ्ना संस्कार र संस्कृतिअनुसारका चाडपर्वहरु मनाउन सक्ने सहज वातावरण गुमायौँ । सम्पूर्ण विश्वमा फैलिएको यो रोगले मानव जीवन मात्र होइन, हाम्रो परम्परा, विश्वास, सामाजिक व्यवहार र पारिवारिक नातासम्बन्धमा समेत गहिरो असर पारेको छ ।

आम नागरिकहरु भय र त्रासको मनोविज्ञानमा बाँधिँदा, उत्सव र उमङ्गका दिनहरु पनि नीरस बनेका छन् । विशेषगरी हामी नेपालीहरुका लागि दसैँ, तिहार, छठ, माघे संक्रान्ति जस्ता पर्वहरु सधैँ उत्साहपूर्वक मनाइने राष्ट्रिय चाड हुन् । तर यस वर्ष सबैलाई सावधानीका साथ घरभित्रै बस्न, स्वास्थ्यको ख्याल राख्न र सुरक्षित रहन प्रेरित गरिएको छ ।

महामारीले हाम्रो दैनिक जीवनलाई ठप्प पारेको छ, तर हामीले स्वास्थ्यलाई प्राथमिकता दिँदै घरमै बसेर दियो बाल्ने, पुजा गर्ने र परिवारसहित सादगीपूर्वक पर्व मनाउने अभ्यास गर्न थालेका छौँ ।

यदि हामी यस वर्ष धैर्यपूर्वक सुरक्षित रह्यौँ भने, आउने वर्षमा अर्थात् २०७८ सालमा हामी फेरि उमङ्गका साथ चाडपर्व मनाउन सक्ने आशा गर्न सक्छौँ । तर अहिलेको अवस्थामा नागरिकहरुले अपेक्षा गरेअनुसार सरकारबाट उपचार सुविधा पाउन सकेका छैनन् । धेरैले भनेका छन् कि मानवीय अनियमितता र प्रकृतिप्रति गरिएको अवहेलाका कारण यस्ता रोगहरु देखा परेका हुन्, तर हामी अझै पनि प्रकृतिप्रतिको जिम्मेवारीबोधमा गम्भीर बन्न सकेका छैनौँ ।

कतिपयले यो रोगलाई राजनीतिक र आर्थिक स्वार्थसँग पनि जोडेर हेर्ने गरेका छन् । धेरै ठाउँमा कोरोना परीक्षण र तथ्याङ्कमा भ्रम देखिएको छ । कहिले परीक्षणका नतिजा अविश्वसनीय देखिन्छन् भने कहिले संक्रमितको सङ्ख्यामा अनिश्चितता देखिन्छ । कसको कमजोरी हो—सरकारको, स्वास्थ्य उपकरणको वा प्रयोगशालाका प्राविधिकहरुको—यो प्रश्न अझै अनुत्तरित छ ।

अनेक उदाहरणले देखाउँछ कि कतिपय मानिसहरु क्वारेन्टिनमा बस्दै तातो पानी पिएर र घरेलु उपचार अपनाएर निको भएका छन् । वैद्यहरु र आयुर्वेद विज्ञहरुले पनि प्राकृतिक उपचारलाई प्रभावकारी ठहराएका छन् । तर दुर्भाग्यवश, नेपाल सरकारले उनीहरुलाई स्वास्थ्य नीति निर्माणमा सहभागी गराउन सकेको छैन ।

वास्तवमा, हाम्रो देश प्राकृतिक सम्पदाले समृद्ध छ । हिमालदेखि तराईसम्म जडीबुटी र औषधीय वनस्पतिहरु पाइन्छन् । यिनै स्रोत र परम्परागत ज्ञानको प्रयोगबाट हामीले रोगसँग लड्ने सामथ्र्य विकास गर्न सक्छौँ । आयुर्वेद र वैद्यक पद्धतिलाई वैज्ञानिक अनुसन्धानसँग जोड्न सकेमा नेपालले आफ्नै ढङ्ग्को स्वास्थ्य प्रणाली निर्माण गर्न सक्छ ।

नेपाल मात्र होइन, अन्य हिन्दू धर्मावलम्बी देशहरुका मानिसहरु पनि दसैँ, तिहार, छठ जस्ता पर्वहरु मनाउनबाट रोकिए । यसले उनीहरुको आस्था मात्र होइन, संस्कार र पहिचानमा समेत असर पारेको छ । धेरै नेपालीहरु रोजगारीका लागि भारत वा अन्य देशमा रहेका कारण आफ्ना घर फर्कन सकेनन् ।

महामारीको डर र नेपालमा उपचारको अनिश्चितताले उनीहरुलाई विदेशमै बस्न बाध्य बनायो । यसले सरकारप्रति असन्तोष बढेको छ । नागरिकको स्वास्थ्य, शिक्षा र सुरक्षाको जिम्मेवारी बोकेको सरकारले अपेक्षित काम गर्न नसक्दा आलोचना बढ्नु स्वाभाविक हो ।

हालसम्म सरकारले औषधि वा खोपको स्थायी समाधान नपाएको बताउँदै आएको छ । तर, हाम्रो देशको मौलिक सम्पदा—जडीबुटी र आयुर्वेद—प्रति सरकारले ध्यान नदिँदा हामी आफ्नै सामथ्र्यबाट बञ्चित भएका छौँ । हाम्रा पुर्खाले सिकाएका उपचार विधिहरुलाई नबिर्सौं, वैद्य र अनुसन्धानकर्ताहरुलाई सम्मान दिऔँ र उनीहरुलाई रोग निवारणमा सहभागी गराऔँ ।

सरकारले आगामी दिनमा यस्ता महामारीहरुको सामना गर्नका लागि स्थानीय नागरिक, बुद्धिजीवी, शिक्षक र विद्यार्थीलाई समेत सहभागितामा ल्याउनुपर्छ । स्वदेशी ज्ञान र औषधिको प्रचार–प्रसार गर्न सके नेपाल आत्मनिर्भर बन्न सक्छ ।

हामीले यो पनि बुझ्नुपर्छ कि राजनीति, भ्रष्टाचार र व्यक्तिगत स्वार्थले राष्ट्रलाई कमजोर बनाएको छ । आजका नेताहरु जनताको शिक्षा, स्वास्थ्य र सुरक्षाभन्दा सत्तामा टिकिरहनका उपाय खोजिरहेका छन् । भारत, चीन र नेपालबीचका सिमाना विवाद, आन्तरिक अस्थिरता र जनताप्रतिको उदासीनता सबै हाम्रो असफलताको कारण हुन् । समाजमा बढ्दो अनैतिकता, असभ्य व्यवहार, नकारात्मक फेसन र सांस्कृतिक क्षयले हाम्रो संस्कृतिलाई कमजोर बनाइरहेको छ ।

हाम्रा पुर्खाहरुले सादगी, मर्यादा र सभ्यताको शिक्षा दिएका थिए, तर आज युवापुस्ता त्यसबाट विचलित हुँदै विदेशी चालचलनको अन्धानुकरण गरिरहेका छन् । यसले समाजमा नकारात्मक सोच र विकृति फैलाइरहेको छ ।

समाजमा बढ्दै गएको अपराध, बलात्कार, अश्लीलता र सामाजिक विचलनले हामीलाई सोच्न बाध्य बनाएको छ । जब राज्य धर्म, संस्कृति र मूल्यबाट टाढा रहन्छ, तब नैतिक पतन सुरु हुन्छ । सरकारको जिम्मेवारी नागरिकको चेतना जगाउने र सांस्कृतिक एकता कायम गर्ने हो । जबसम्म हामी आफ्नै संस्कार, संस्कृति र धर्मप्रतिको आस्था पुनःस्थापित गर्न सक्दैनौँ, तबसम्म राष्ट्र सुदृढ हुन सक्दैन ।

कोरोना महामारीले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ—मानवले प्रकृतिसँग असन्तुलित व्यवहार गर्न बन्द गर्नुपर्छ । जब जब मानवले प्रकृतिलाई चुनौती दिन खोज्छ, तब तब प्रकृतिले कठोर रुप देखाउँछ । नदीका धार परिवर्तन हुन्छन्, बन्यजन्तु विस्थापित हुन्छन्, जैविक विविधता नष्ट हुन्छ, र अन्ततः रोगरुपी प्रकोपको रुपमा मानवले त्यसको परिणाम भोग्नुपर्छ ।

अब समय आएको छ कि हामी सबै नेपालीले आत्मचिन्तन गरौँ, प्रकृतिको सम्मान गरौँ, र आफ्नै देशको स्रोत र ज्ञानको कदर गर्दै स्वदेशी उपचार र स्वावलम्बनको बाटोमा अघि बढौँ । यही बाटोले हामीलाई साँचो अर्थमा स्वतन्त्र र आत्मनिर्भर बनाउनेछ ।