लमहीमा ६१ विपन्न परिवारलाई सुधारिएको चुलो

प्रिया स्मृती जगमेर
लमही, १७ कात्तिक । लमही नगरपालिका–४ मा विपन्न तथा अतिविपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, सिएसआरसी परियोजना र लमही नगरपालिकाको सहकार्यमा ६१ घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको हो ।

लाभान्वित हुनेमध्ये विपन्न, अतिविपन्न, एकल महिला, सुकुम्बासी, मुस्लिम तथा अपाङ्ग परिवार रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले सुधारिएको चुलोले इन्धनको खपत घटाउने, धुवाँको असर कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा व्यक्त गरिन् ।

उनले यस्ता खालका कार्यक्रमले वातावरण संरक्षणसँगै परिवारको आर्थिक बोझ घटाउने बताइन् । सुधारिएको चुलो प्रयोग गर्दा परम्परागत चुलोको तुलनामा काठको बचत हुने, खाना छिटो पकाउने, घरभित्रको धुवाँ न्यून हुने र वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ । यसले विशेष गरी महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यसैगरी वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष उमाकान्त चौधरीले सुधारिएको चुलोले धुवाँरहित वातावरण कायम गर्न, खाना पकाउने दक्षता बढाउन र वायु प्रदूषण घटाउन सहयोग गर्ने बताए । उनले अनुसार यसले बालबालिका र वृद्ध व्यक्तिको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रममा स्थानीयबासीले यस्ता प्रविधिहरू गाउँघरमा विस्तार हुँदा वातावरणमैत्री र स्वस्थ जीवनशैली प्रवर्धन गर्न सहज हुने धारणा व्यक्त गरे । लमही नगरपालिकाले आगामी दिनमा अन्य वडामा पनि सुधारिएको चुलो वितरण कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ । कार्यक्रममा लमही नगरपालिका वन तथा वातावरण शाखा तथा विपत शाखा प्रमुख गायत्री थापाले सुधारिएको चुलोको बारेमा जानकारी दिएकी थिइन् ।