calander

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Goraksha

National Daily

भिजेको धान स्याहार्दै किसान, खेतमै उम्रिने चिन्ता

लीलाधर वली
दाङ, १५ कात्तिक । खेतमा पाकेको धान काटेर घर भित्राउने तयारीमा रहेका किसान वर्षात्का कारण भिजेपछि समस्यामा परेका छन् । मोन्था चक्रवातको प्रभावका कारण कात्तिक ११ गतेदेखि परेको पानीले काटेको धान खेतमै भिजेपछि वर्षभरको मेहनत खेर जाने हो कि भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।

पाकेको धान घरमा भित्राउनका लागि काटेर दाउने तयारीमा रहेका बेला पानीले भिजाएपछि अहिले घोराही उपमहानगरपालिका–१६ खिरिट्टे निवासी किरण श्रेष्ठलाई भिजेको धान कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । वर्षात्का कारण श्रेष्ठले खिरिट्टेमा १७ कट्ठा खेतमा काटेर घरमा भित्राउने अवस्थामा रहेको धान बिहिबारदेखि भिजेको छ । पानीमा भिजेको धानलाई खेतबाट ओभानो ठाउँमा सारिरहेका किसान श्रेष्ठले भने, ‘पानीका कारण खेतमै धान उम्रिन्छ कि भन्ने चिन्ता थपिएको छ, त्यही भएर अग्लो ठाउँमा राख्दैछु ।’

पानीका कारण धान भिज्नुका साथै परालसमेत कुहिने भएकाले पशुपालनमा समेत समस्या हुने उनी बताउँछन् । धान पाकेपछि हतार गरेर मेसिनबाट काटेको तर पानीले घर भित्राउनै नदिएको उनी बताउँछन् । श्रेष्ठ जस्तै घोराही–६ चोरगाउँ निवासी किसान चिरन्जीवी चौधरीको करिब १८ कट्ठा जग्गामा काटेको धान तीन दिनदेखि पानीमा भिजिरहेको छ । तिहार मानेर हतार गरेर काटेको धान बिहिबारदेखि डुवानमा परेको बताए । वर्षाका कारण खेतभरि पानी भएकाले धानलाई अन्यत्र सार्नसमेत नसकेको भन्दै किसान चौधरीले भने, ‘अहिले पानी पर्न छोडेकाले भिजेको धान अग्लो ठाउँमा सारेर सुकाउनुका साथै जमेको पानीलाई कुलो लाउने गरेका छौँ ।’

ठुलो परिवार हुने र थोरै खेती गर्नेले खेतमै धानलाई एक ठाउँमा जम्मा गरेर प्लास्टिकले छोपेर बचाए पनि धेरै धान भएका कारण आपूmले बचाउन नसकेको उनी बताउँछन् । उनका अनुसार पानीले धान भिज्दा धान कुहिने, चामल पनि कुटाउँदा काटिने र परालसमेत काम नलाग्ने हुने गर्छ । वर्ष दिनभरि परिवारका लागि आवश्यक पर्ने धान घरमा भित्राउने बेला परेको वर्षाले समस्या निम्त्याएको घोराही–६ पन्नेपुरका किसान पूर्णबहादुर बस्नेत बताउँछन् ।

पाकेको धान खेतमै भिजेर उम्रिने अवस्था भएपछि मेहनत खेर जाने चिन्ता थपिएृको भन्दै किसान बस्नेतले भने, ‘वर्षभरि खाने अन्न स्याहार्ने बेलामा पानी परिदियो, खेतमै धान उम्रिन्छ कि भन्ने डर छ, काटेको धान कसरी बचाउने भन्ने अन्योल छ ।’ खेतमा भिजेको धान उठाएर आलीमा राखिए पनि वर्षा भइरहेकाले सुक्न नपाएको उनी बताउँछन् ।

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवम् कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा करिब २५ देखि ३० प्रतिशत किसानको तयारी अवस्थामा रहेको धान वर्षाका कारण भिजेको छ । पहिले रोपेको धान किसानले भित्राए पनि पछि रोपेको धान किसानले तिहारपछि काटेको र लगत्तै वर्षा हुँदा भिज्न गएको सूचना अधिकारी लामिछानेले बताए । उनका अनुसार जिल्लामा ३७ हजार दुई सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने जमिनमध्ये यस वर्ष ३६ हजार चार सय ८० हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएको थियो ।