ब्रुकलिन ब्रिज : दृढ सङ्कल्प र विश्वासको प्रतिमा
तुफानबाबु श्रेष्ठ
मानव जीवनमा कहिले काहीँ यस्ता घटना घट्छन् जसले सम्पूर्ण मानव सभ्यतालाई नयाँ सोच र प्रेरणा दिन्छ । मानिसले आफ्नो इच्छाशक्ति, आत्मविश्वास र धैर्यका माध्यमबाट असम्भव जस्तो देखिने कुरा पनि सम्भव बनाउन सक्छ भन्ने प्रमाण संसारमा अनेक ठाउँमा भेटिन्छन् ।
त्यस्ता उदाहरणमध्ये एक हो, ब्रुकलिन ब्रिज निर्माणको प्रसंग । यो केवल इन्जिनियरिङ इतिहास होइन, यो दृढ सङ्कल्प, माया, विश्वास र ‘हार कहिल्यै नमान्ने’ जीवनदृष्टिको सजीव प्रतिमा हो । सन् १८८३ तिर अमेरिकाका प्रसिद्ध इन्जिनियर जोन रोब्लिङले न्यूयोर्क र लंग आइल्याण्डलाई जोड्ने विशाल पुल बनाउने सपना देखे । त्यो समयमा यस्तो सोच पनि साहसी मानिन्थ्यो, किनभने त्यति ठूलो संरचना बनाउने कुरा असम्भव जस्तो लाग्थ्यो ।
धेरै विज्ञले उनको विचारलाई हाँस्यास्पद भन्दै अस्वीकार गरे तर रोब्लिङ आफ्नो दृष्टि र आत्मविश्वासमा अडिग रहे । उनका अनुसार, ‘यदि सोच सही छ भने संसारको कुनै पनि कुरा असम्भव हुँदैन ।’ उनको यो सपनामा विश्वास गर्ने एक मात्र व्यक्ति थिए उनका छोरा वासिङ्टन रोब्लिङ, जो आफैँ पनि एक दक्ष इन्जिनियर थिए ।
बुबा–छोरा मिलेर योजनाको विस्तृत खाका तयार गरे र पुल निर्माणको तयारी सुरु गरियो तर सुरु भएको केही समयमै एक दुर्घटनामा परेर जोन रोब्लिङको मृत्यु भयो । यो घटनाले सबैलाई निराश बनायो । यति ठूलो सपना, यति ठूलो काम अब कसरी सम्भव होला भन्ने प्रश्न सबैको मनमा थियो तर वासिङ्टनले बुबाको सपना अधुरो रहन दिएनन् । उनले बुबाको इच्छालाई आफ्नो लक्ष्य बनाएर काम अघि बढाए ।
तर नियतिले फेरि कठोर परीक्षा लियो । निर्माणका क्रममा वासिङ्टन पनि गम्भीर रूपमा घाइते भए र उनको मस्तिष्कमा क्षति पुग्यो । उनी बोल्न, हिँड्न र सामान्य रूपमा काम गर्न अक्षम बने । यस्तो अवस्थामा धेरैले यो परियोजना असम्भव भन्दै अन्त्य गर्न सुझाव दिए तर वासिङ्टनको आत्मबल अझै जीवित थियो । उनले मनमनै प्रतिज्ञा गरे, बुबाको सपना पूरा गरेरै छोड्छु ।
त्यसपछि उनले केवल आफ्नो औंलाको सानो चलायमान भाग प्रयोग गरेर सङ्केत दिन थाले । उनले आफ्नी श्रीमती एमिली रोब्लिङलाई एउटा कोड प्रणाली सिकाए, जसको माध्यमबाट उनी इन्जिनियरलाई निर्देशन पठाउँथे । एमिलीले पति र निर्माण टोलीबीच संवादको माध्यमको रूपमा १३ वर्षसम्म अहोरात्र काम गरिन् । उनले प्रतिदिन वासिङ्टनका औंलाका सङ्केत बुझ्थिन्, नोट गर्थिन् र ती निर्देशन इन्जिनियरलाई सुनाउँथिन् ।
उनको अथक परिश्रम, माया र समर्पणका कारण अन्ततः १३ वर्षपछि ब्रुकलिन ब्रिज तयार भयो । आज यो पुल केवल न्यूयोर्कको गौरव होइन, सम्पूर्ण मानव इच्छाशक्ति र धैर्यको प्रतिक हो। हजारौँ मानिस यस पुलबाट दैनिक यात्रा गर्छन्, तर सायद थोरैले मात्र यसको पछाडिको त्याग र संघर्ष महसुस गर्छन् ।
ब्रुकलिन ब्रिज निर्माणको यो प्रसंग हामी सबैका लागि जीवनको एउटा गहिरो सन्देश हो । यसले सिकाउँछ कि जीवनमा परिस्थिति सधैं सजिला हुँदैनन् । कहिले काहीँ ती असम्भव र पीडादायी पनि हुन्छन् तर जसले आफ्नो सपना, उद्देश्य र मर्म बुझेर हार मान्दैन अन्ततः सफलता उसैले प्राप्त गर्छ । माया, विश्वास, समर्पण र धैर्य यी यस्ता गुण हुन् जसले मानिसलाई असम्भवलाई सम्भव बनाउन सक्षम बनाउँछन् ।
आज पनि जब हामी ब्रुकलिन ब्रिज हेर्छौँ, त्यो केवल फलाम र ढुंगाको पुल होइन, त्यो जोन, वासिङ्टन र एमिलीको सपनाको प्रतिरूप हो । त्यसैले यदि विश्वास, दृढता र उद्देश्य साँचो छ भने संसारमा असम्भव भन्ने केही हुँदैन ।
