calander

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Goraksha

National Daily

दाङमा ४१ फरार प्रतिवादी पक्राउ

गोरक्ष समाचारदाता
दाङ, १५ कात्तिक । दाङमा प्रहरीले एक महिनाको अवधिमा ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन गरिएको विशेष अभियान अन्तर्गत दाङमा प्रहरीले असोज १६ देखि कात्तिक १४ गतेसम्म ४१ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ परेका प्रतिवादीबाट ९० हजार सात सय ७० रुपैयाँ नगद जरिवाना तथा १५ वर्ष चार महिना २० दिनको कैद फैसला भएको छ । खोजतलासका क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर कैद सजाय भुक्तानका लागि जिल्ला अदालत दाङमा बुझाइएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् ।

एक सय ५५ जना कैदीबन्दी पक्राउ

यसैबिच जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय तुलसीपुरबाट भागेका दुई सय ५३ कैदीबन्दीमध्ये एक सय ५५ जना पक्राउ परेका छन् । पक्राउ परेका एक सय ५५ जना कैदीबन्दीमध्ये एक सय ४५ जना कैदी र १० जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी शाहले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार कारागार कार्यालय तुलसीपुरबाट भदौ २४ गते दुई सय ३३ जना कैदी र २० जना थुनुवा गरेर दुई सय ५३ जना कैदीबन्दी भागेका थिए । पक्राउ परेका कैदीबन्दीमध्ये १५ कैदी र सात जना थुनुवालाई जिल्ला बाहिरबाट पक्राउ गरिएको थियो । कारागारबाट भागेका एक सय ५५ जना कैदीबन्दीलाई कारागार कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको भए पनि अझै ७६ जना कैदीबन्दी फरार रहेका छन् ।

फरार रहेका कैदीबन्दीमध्ये ७३ जना कैदी र तीन जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले अन्य जिल्लामा रहेका कारागारबाट भागेर दाङ आएका २४ जना कैदीबन्दीलाई समेत पक्राउ गरेर सम्बन्धित जिल्लास्थित कारागार कार्यालय पठाएको छ । फरार रहेका कैदीबन्दीको खोजीका लागि विशेष टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।