calander

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Goraksha

National Daily

मुक्त कमलरीको गुनासो, ‘उचित व्यवस्थापनमा ध्यान दिइएन’

प्रिया स्मृती गजमेर
लमही, १५ कात्तिक । मुक्त कमलरीले सरकारले आफूहरूलाई मुक्त घोषणा गरे पनि उचित व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन् । मुक्त कमलरी विकास मञ्चले शुक्रवार लमहीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद कार्यक्रममा मुक्त कमलरी घोषणा गरिएको लामो समय बितिसक्दा पनि सरकारले पहिचान, पुनःस्थापना र आवासको व्यवस्था गर्न नसकेको गुनासो गरेका हुन् ।

मुक्त कमलरीले अझै पनि घरबारविहीन जीवन बिताइरहनुपर्ने बाध्यता रहेको भन्दै सरकारसँग पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन् । लमही नगरपालिका–६ निवासी मुक्त कमलरी गीता चौधरीले भूमिहीन दलित र सुकुम्बासीलाई जस्तै मुक्त कमलरीलाई जग्गा दिएर पुनःस्थापना गर्न सरकारसँग माग गरेकी छिन् ।

चौधरीले भनिन, ‘भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिन सकिन्छ भने मुक्त कमलरीलाई किन जग्गा दिन मिल्दैन ? यसको जवाफ राज्यले हामीलाई दिनुपर्छ ।’ मुक्त कमलरी परिचयपत्र वितरण गर्ने भनिए पनि राज्यका तीनै तहका सरकारले गम्भीरता नदेखाएको उनको आरोप छ । मुक्त घोषणा भएको वर्षौं बितिसक्दा पनि सरकारले परिचयपत्र वितरण प्रक्रिया पूरा नगर्दा छात्रवृतिमा समेत समस्या रहेको मुक्त कमलरीको गुनासो छ ।

बर्दिया निवासी मुक्त कमलरी जंगीकुमारी थारूले स्थानीय पालिकामा पटक पटक गएर अनुरोध गर्दा पनि गैरजिम्मेवारीपूर्ण व्यवहार गरिएको गुनासो गरिन् । राज्यकै कर्मचारीबाट मुक्त कमलरीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले भनिन्, ‘हामी हात जोडेर बिन्ती गर्छौँ तर कर्मचारीले फुर्सद छैन भनेर फर्काइदिन्छन् ।’

मुक्त कमलरीले पहिचान, पुनःस्थापना र आवास अधिकार सुनिश्चितता गर्न राज्यका तीनै तहका सरकारले तत्काल ठोस पहल गर्नुपर्ने माग गरेका छन् । राज्यले वास्तविक पुनःस्थापनाको नीति ल्याए मात्र मुक्त कमलरीको समस्या समाधान हुने बताएका छन् ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मुक्त कमलरीका मुद्दामा राज्य गम्भीर बन्नुपर्ने बताइन् । मुक्त कमलरी विकास मञ्चले शुक्रवार लमहीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख योगीले राज्यका तीनै तहका सरकारले मुक्त कमलरीलाई न्यायोचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने धारणा राखेकी थिइन् । लामो समयदेखि अभिभावक र घरबारविहीन बनेका मुक्त कमलरीको जीवनस्तर सुधारका लागि राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उपप्रमुख योगीको भनाइ थियो । गढवा गाउँपालिकाले मुक्त कमलरीका हितमा विशेष कार्यविधि तयार गरेको उपाध्यक्ष शारदाकुमारी चौधरीले बताइन् ।

कार्यविधि कार्यपालिका बैठकले स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा प्रवेश गर्ने भन्दै उपाध्यक्ष चौधरीले भनिन्, ‘मुक्त कमलरीका पक्षमा पालिकाले कार्यविधि तयार गरिसकेको छ, अब कार्यपालिका बैठकले पास गरेपछि कार्यान्वयनको पाटोमा जानेछ ।’ पूर्व कमलरी तथा मुक्त कमलरी विकास मञ्चकी सल्लाहकार उर्मिला चौधरीले मुक्त कमलरीको इच्छा र चाहनालाई सरकारले सम्बोधन गर्नुपर्ने बताइन् । उनका अनुसार, मुक्त घोषणा भएको वर्षौँ बितिसक्दा पनि उनीहरू अझै गरिबी र बेवास्तामा रहेको भन्दै जति सक्यो चाँडै पुनःस्थापना गर्न सके पढ्न, लेख्नसँगै आयआर्जनमा जोडिन सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा सहभागी वक्ताले मुक्त कमलरीको शिक्षा, स्वास्थ्य, रोजगारी र आवासका अधिकार सुनिश्चितता गर्न राज्यको सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए । मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्ष हिरामोतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मुक्त कमलरी विकास मञ्चका कार्यक्रम संयोजक सुवोध चौधरीले गरेका थिए ।