पाँच महिनामा २७७ जनाको मृगौला–पत्थरीको शल्यक्रिया

गोरक्ष समाचारदाता
दाङ, १५ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच महिनाको अवधिमा दुई सय ७७ जनाको मृगौला–पत्थरीको शल्यक्रिया भएको छ । प्रतिष्ठानमा गत जेठदेखि युरोलोजी सेवा सुरु भएसँगै असोजसम्म दुई सय ७७ जनाको मृगौलामा भएको पत्थरीको शल्यक्रिया भएको हो ।

मृगौलामा पत्थरी भएका बिरामीमध्ये एक सय ५७ जनाको जटिल प्रकृतिको शल्यक्रिया गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा. सुशील खनियाँले जानकारी दिएका छन् । उनका अनुसार २२ जनाको मध्यम तथा ९९ जनाको सामान्य प्रकृतिको अप्रेसन गरिएको छ ।

यस अघि जिल्लामा युरोलोजी सेवा नहुँदा बिरामीलाई सामान्यदेखि विशेषज्ञ उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो तर प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहितको युरोलोजी सेवा सञ्चालनमा आएपछि बिरामीलाई सेवा लिन सहज भएको प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा. खनियाँले जानकारी दिएका छन् । उनका अनुसार प्रतिष्ठानमा युरोलोजी ओपिडीमार्फत् दैनिक करिब ७० बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् ।

प्रतिष्ठानमा युरोलोजी सेवा अन्तर्गत पिसाबसम्बन्धी समस्या, प्रोस्टेट, मृगौला र पित्तथैलीमा पत्थरी, पिसाबको नली, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिनेलगायतका समस्याका बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थीले जानकारी दिएका छन् । उनका अनुसार युरोलोजी सेवा प्रभावकारी बन्दै गएपछि बिरामी स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा पाउँदा सन्तुष्ट र खुसी देखिएका छन् । प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डा खनियाँको नेतृत्वमा डा. विवेक थापा, डा पंकज नेपालीसहितको चिकित्सक टोलीले सानादेखि ठुला शल्यक्रियासम्मका उपचार सफलतापूर्वक सम्पन्न गर्न थालेपछि सेवा प्रभावकारी बन्दै गएको हो ।