गोरक्ष समाचारदाता
दाङ, १५ कात्तिक । जग्गाधनीहरूले सक्कल प्रमाणपत्रसहित आएमा नयाँ श्रेस्ता कायम गर्न नागरिक समाज दाङले माग गरेको छ । नागरिक समाजको बैठकले यस्तो निर्णय गरेको हो ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुँदा मालपोत तथा भुमि सुधार कार्यालयका अभिलेख जलेर नष्ट भएकाले जग्गाधनी स्वयम् उपस्थित भई जग्गाधनी प्रमाण पुर्जा, नागरिकता र मालपोत तिरेको रसिदका आधारमा श्रेस्ता अद्यावधिक गर्न मालपोत कार्यालय तथा भुमि सुधार कार्यालयल आग्रह गरेको छ ।
बैठकले नेपाल सरकारले फागुन २१ गते तोकेको आम निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकोले सार्वभौम सत्ता सम्पन्न जनता भएको हुँदा निष्पक्ष, भयमुक्त वातावरणमा मतदान गर्न पाउने वातावरण निर्माण गर्न माग गरिएको छ । जेन–जी आन्दोलनपछि दाङलगायतका विभिन्न स्थानमा चोरी, डकैती, लागूपदार्थ ओसारपसार र हिंसात्मक गतिविधि बढेको भन्दै बैठकले तत्काल शान्ति, सुरक्षा र अमन चयन कायम गर्न प्रशासन, सुरक्षा निकाय र स्थानीय राजनीतिक तहको ध्यानाकर्षण गराएको छ ।
यसैगरी आन्दोलनका कारण क्षति भएका भौतिक संरचना, शिक्षा र स्वास्थ्य क्षेत्रमा समय सापेक्षा अनुगमन गर्ने निर्णय भएको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । बैठकले नारायण विवशलाई नयाँ प्रेस संयोजक र अनिता पोख्रेललाई सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।