बालाराम खड्का
तुलसीपुर, १४ कात्तिक । तुलसीपुर–७, गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेपुर पार्क) मा पालिएका माछा बिक्री सुरु गरिएको छ । तुलसीपुर क्षेत्रको उत्कृष्ट पर्यटकीय गतव्यको रूपमा विकास भएको राप्ती शान्ति उद्यानमा निर्माण भएको कृत्रिम तालमा पालन गरिएका माछा बिक्री सुरु गरेको राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिएका छन् ।
शान्ति उद्यानमा आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको कृत्रिम तालमा माछापालनसमेत गरेर वार्षिक लाखौँ रकम सङ्कलन हुने गरेको समितिले जानकारी दिएको छ । यसले एकातिर उद्यानको आम्दानीको स्रोतमा वृद्धि भएको छ भने अर्कोतिर पर्यटकसमेत डुङ्गामा सयर गरेर आन्द लिने गरेका छन् ।
कृत्रिम तालमा राखिएका पाँच हजार माछाका भुरा हुर्किसकेपछि बिक्री सुरु गरिएको राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए । उनका अनुसार उद्यानलाई माछा बिक्रीबाट वार्षिक लाखौँको आम्दानी हुने गरेको छ । उनले वार्षिक एक डेढ लाख बढी डुङ्गाबाट र माछा बिक्री गरेर यस वर्ष करिब आठ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए ।
‘हामीले पाँच हजार माछाका भुरा तालमा राखेका थियौँ, खुला ठाउँमा भएकाले ती माछाका भुरा कति हुर्किए र कति मरे भन्ने यकिन छैन तर हुर्किएका माछा बिक्री गर्न लागयक भइसकेका छन्’, अध्यक्ष भण्डारीले भने ।
कृत्रिम तालबाट हालसम्म करिब ८÷१० क्विन्टल माछा झिकेको उनले बताए । थोकमा लग्नेका लागि प्रतिकिलो दुई सय ५० र फुटकरमा प्रतिकिलो दुई सय ७५ रुपैयाँमा माछा बिक्री गरिरहेको उनले बताए । ‘यसले एकातिर हाम्रो आन्तरिक आम्दानीको स्रोत बढेको छ भने अर्कोतिर किसानलाई कृषिमा आकर्षण गर्नमा थप टेवा पुग्नेछ’, अध्यक्ष भण्डारीले भने ।
उनले अन्य किसानले पनि यस्तै सिको गरेर माछापालन गरे आम्दानी राम्रो हुने रहेछ भन्ने सिकाइ हुने बताए । डेढ किलो बढी तौल भएकाका माछा अहिले तालबाट झिकेर बिक्री गर्ने गरिएको भण्डारीले बताए । करिब चार कट्ठा जमिनमा केही वर्ष पहिले पर्यटन मन्त्रालयको ५५ लाख रुपैयाँको लागतमा कृत्रिम ताल निर्माण गरिएको थियो । यहाँ आउने पर्यटकलाई डुङ्गा सयरका लागि बनाइएको तालमा डुङ्गासँगै माछापालन थालिएको थियो । हाल सो तालमा चार वटा डुङ्गा सञ्चालनमा छन् ।
डुङ्गा सयर गरेको प्रतिव्यक्ति ५० रुपैयाँका दरले समितिले शुल्क निर्धारण गरेको छ । सो शुल्कबाट करिब एक लाख रुपैयाँ बढी वार्षिक आम्दानी हुने गरेको छ । यसैगरी तुलसीपुरमा रहेको पर्यटकीय स्थल ‘राप्ती शान्ति उद्यान’ बाह्य तथा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्नेगरेको छ । २०६० सालमा वन ऐन बमोजिम विधान तथा कार्ययोजनामै समावेश गरी यस क्षेत्रलाई उद्यानको रूपमा विकास गरी पर्यटकीय स्थल बनाउन समूहभित्रका उपभोक्ता, राजनीतिक दल, नागरिक समाजको संयुक्त भेलाबाट निर्णय पारित गरी उद्यानको स्थापना गरिएको थियो । त्यस पश्चात् उद्यानको विकास, विस्तार, प्रचारप्रसारलाई व्यापक बनाइएको छ ।
द्वन्द्वकालमा शान्तिको सन्देश दिन भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोजका लागि दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको पार्क व्यवस्थापन समितिले जनाएको छ । करिब १२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गर्छ ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किलोमिटर उत्तरमा श्रीगैँबाट डेढ किलोमिटर पूर्व पर्ने उक्त पार्कको पूर्व–दक्षिणमा वनजङ्गल, पश्चिम तथा उत्तरमा गणेशपुर गाउँ पर्छ । जिल्लामा आउने जो कोही राप्ती शान्ति उद्यानको अवलोकन गरेर जाने गरेका छन् । शान्ति उद्यानमा बर्सेनि नयाँ पर्यटकलाई आकर्षण गर्ने भौतिक निर्माण र मनोरम दृश्यहरू थपिँदै गएका छन्् ।