गोरक्ष समाचारदाता
दाङ, १३ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका नाममा देशको राजधानीलगायतका ठाउँमा भएको तोडफोड र आगजनीका घट्ना अकल्पनीय र इतिहासकै दुःखद् भएको बताएका छन् । जेन–जी आन्दोलनका क्रममा घोराही उपमहानगरपालिकामा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको बुधवार निरीक्षण गर्दै महासचिव पोख्रेलले जेन–जी आन्दोलनका नाममा अराजक समूहबाट नियोजित रूपमा लोकतन्त्रसँगै स्थानीय तहलाई कमजोर बनाउने काम भएको बताएका हुन् ।
जेन–जीका नाममा नवयुवाहरूले राखेका माग सामान्य भए पनि अराजक समूहको घुसपैठले सरकारी कार्यालय, सुरक्षा निकाय, निजी सम्पत्तिसँगै राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्ने काम गरेको बताएका थिए । उनले दाङमा जेन–जीका नाममा भएको तोडफोड र आगजनी आवेगपूर्ण भएको बताए । क्षणिक आवेगमा आएर सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने कार्यले मुलुकलाई कमजोर बनाएको बताए । आन्दोलनका नाममा सरकारी संरचनामा आगजनी र तोडफोड गर्ने समूहले धीरता गुमाएर लोकतान्त्रिक व्यवस्थासँगै देशलाई कमजोर बनाउने खेल भएको बताएका हुन् ।
परिवर्तनका नाममा देशलाई कमजोर बनाउने र जनतालाई दुःख दिने काम भएको बताउँदै महासचिव पोख्रेलले भने, ‘जेन–जीको माग देशमा सुशासन कायमसँगै सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउनुपर्ने थियो तर जेन–जीको नाममा घुसपैठ गराएर अराजकता मच्चाउने काम भयो । देशको सम्पत्तिमा क्षति पु¥याइयो ।’ सच्चा राष्ट्रवादी नागरिकले देशको सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न नसक्ने भन्दै महासचिव पोख्रेलले आवेग र उत्तेजनामा गरिएको कार्यले स्वयम् व्यक्तिलाई पछुताउनुपर्ने अवस्था आउने बताए ।
महासचिव पोख्रेलले जेन–जी आन्दोलनको आक्रोश सामान्य भए पनि देशी–विदेशीको चलखेल भएको बताए । आन्दोलनका नाममा अराजकता मच्चाउने र देशलाई कमजोर बनाउने खराब तत्वलाई जनताले चिनिसकेको भन्दै महासचिव पोख्रेलले त्यस्ता तत्वसँग सचेत रहनुपर्ने बताए । उनले लोकतन्त्रको आधारस्तम्भ राजनीतिक दलहरू रहेको भन्दै दललाई कमजोर बनाउने खेल अहिले पनि भइरहेको भन्दै त्यस्ता चलखेल सफल नहुने विश्वास व्यक्त गरे । घोराही उपमहानगरपालिकामा भएको क्षतिबारे नगर प्रमुख नरुलाल चौधरीले जानकारी गराएका थिए ।