भयावह बन्दै नसर्ने रोग, खुम्चँदै आयुर्वेद चिकित्सा

खेमराज रिजाल
दाङ, १३ कात्तिक । जनप्रतिनिधि तथा स्वास्थ्य संबद्ध क्षेत्रका उच्च पदस्त कर्मचारीले आयुर्वेद चिकित्साको महत्वका विषयमा हरेक स्वास्थ्यका कार्यक्रममा प्रवचन दिइरहन्छन् । पछिल्लो समयमा सर्ने रोगको भन्दा नसर्ने रोगको अवस्था भयावह भएको र यसले राज्यको ठुलो धनराशी खर्च भएको भन्दै वक्तव्य र मन्तव्य दिइरहन्छन् तर व्यवहारमा भने आयुर्वेद चिकित्सा क्षेत्र ओझेलमा परेको छ । राप्ती आयुर्वेद चिकित्सालय दोघरेको आयोजनामा बुधवार भएको जिल्लास्थित आयुर्वेद स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा तथा भावि रणनीति विषयको कार्यक्रममा यस्तै झल्को देखियो ।

विश्वभर आयुर्वेद चिकित्साको व्यापक प्रचारप्रसार र प्रयोग बढिरहँदा दाङको आयुर्वेद स्वास्थ्य संस्थामा बिरामीलाई निःशुल्क ओखती पु¥याउनै मुस्किल छ । जिल्लाका हरेक पालिकामा १०÷१५ बेडको अस्पताल निर्माण गर्न करोडौँ रुपैयाँ खर्च भइरहँदा जिल्लाभरिका स्वास्थ्य संस्थाहरूको वार्षिक बजेट आधा करोड रुपैयाँ पनि छैन । सरकारले आयुर्वेद स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रूपमा परिभाषित गरे पनि यसलाई व्यवहारमा उतार्न न त सङ्घीय सरकार बजेट र कार्यक्रम दिन उदार देखिन्छ न त प्रदेश सरकार र स्थानीय सरकार नै आयुर्वेद चिकित्साको विकाश र सदृढीकरणमा गम्भीर देखिएका छन् ।

अहिले जिल्लाभर तुलसीपुरमा राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा प्रादेशिक आयुर्वेद चिकित्सालय, गढवामा एउटा आयुर्वेद औषधालय र राजपुरमा दुईवटा आयुर्वेद औषधालयहरू सञ्चालनमा छन् । त्यहाँ विनियोजित हुने बजेटले कर्मचारीले तलव खाने र केही ओखती वितरण गर्ने शिवाय केही औचित्यपूर्ण योगदान आयुर्वेद चिकित्सा क्षेत्रमा गर्न सकेका छैनन् । औषधालय र चिकित्सालयलाई दिइएको औषधी किन्ने बजेटले आधा वर्ष पनि औषधी नपुग्ने गरेको वार्षिक समीक्षा कार्यक्रममा बताइएको छ ।

यी चिकित्सालय र औषधालय बाहेक अन्य पालिकाहरूमा आयुर्वेद चिकित्साकै सानो इकाइ नागरिक आरोग्य केन्द्र सञ्चालनमा छन् तर ती संस्थाहरू नाम मात्रका छन् । न ती संस्थालाई चलायमान बनाउन सरकारले आवश्यक कार्यक्रम दिन्छन् न त आवश्यक बजेट नै । केन्द्र खोलेर दिन कटाउने बाहेक उत्कृष्ट क्रियाकलाप नागरिक आरोग्य केन्द्रबाट हुन नसकेको गुनासो स्वयम् केन्द्रका पदाधिकारीले गरेका छन् । यो वर्षदेखि घोराही उपमहानगरपालिकाले त नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा चासो देखाएको छैन ।

यस अघिसम्म जिल्लास्तरीय राप्ती आयुर्वेद चिकित्सालय दोघरेको माताहतमा रहेका नागरिक आरोग्य केन्द्रहरू यो आर्थिक वर्षदेखि स्थानीय सरकारको मातहतमा गएका छन् । ती केन्द्रमा काम गर्ने कर्मचारी, प्राविधिकको पारिश्रमिक पनि सम्बन्धित स्थानीय तहमै गएको छ तर घोराही उपमहानगरपालिकाको नागरिक आरोग्य केन्द्रका कर्मचारी, प्राविधिकहरूले तीन महिनादेखि मासिक पारिश्रमिक पनि पाएका छैनन् । घोराही उपमहानगरपालिकाले यसमा प्रदेश सरकारको सहयोग नलिने मनसाय देखाएपछि यहाँको नागरिक आरोग्य केन्द्र अलपत्र पर्नसक्ने समीक्षा कार्यक्रममा राप्ती प्रादेशिक चिकित्सालय दोघरेका प्रमुख डा मदन बिसीले जानकारी दिएका छन् ।

आयुर्वेद चिकित्सा क्योरेटिभभन्दा पनि प्रिभेन्टिभ हो भन्ने जानकारी सबै नागरिकलाई छ । रोगको निदान गर्नुभन्दा आयुर्वेद निरोगिताको गन्तव्य पछ्याउँछ । यसका लागि आहार, विहार, खानपान, योग अभ्यासलगायतका थुप्रै कार्यक्रम हुन्छन् । खानपानको समुचित व्यवस्थापनको अभावसँगै समाजमा मौलाउँदै गएको अल्छीपनाका कारण मानव शरीरमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, हाडजोर्नीको समस्यालगायतका थुप्रै नसर्ने रोगको अवस्था भयावह भइरहेको छ । प्राणघातक क्यान्सर रोग पनि यस्तै आहार, विहार र नियमित योग अभ्याससँग जोडिएको हुन्छ । राज्यले नसर्ने रोगको उपचार गर्न अर्बौँ रुपैयाँ खर्च गर्नुपरेको छ तर नागरिकलाई नसर्ने रोगबाट मुक्त बनाउने आयुर्वेद चिकित्सामा लगानी भने नगन्य देखिएको छ । यसले विश्वास जित्दै गएका आयुर्वेद संस्था पनि मृत्यु श्ययामा छटपटाउने अवस्थामा रहेको नागरिक अगुवाहरू बताउँछन् ।

यस्तै यस्तै गुनासाबिच झिनो उपस्थितिमा जिल्लास्थित आयुर्वेद स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा तथा भावि रणनीति निर्माणसम्बन्धी एकदिने कार्यशाला बुधवार घोराहीमा सम्पन्न भएको छ । तुलसीपुरको दोघरेस्थित राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा मदन बिसीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा जिल्लाका दुई चिकित्सालय, चार वटा औषधालय र छ वटा नागरिक आरोग्य केन्द्रका प्रतिनिधिहरूको सहभागितामा सो कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा प्रादेशिक आयुर्वेद चिकित्सालयका कार्यवाहक निमित्त निर्देशक अर्जुनराज शर्माले आफ्नो संस्थाको वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा राप्ती प्रादेशिक चिकित्सालय तुलसीपुरका प्रमुख डा बिसीले पनि वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । चिकित्सालयका बरिष्ठ कविराज विष्णु पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार राकेश बस्नेतले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण डा कैलाश न्यौपानेले गरेका थिए ।