प्रशिक्षार्थी तथा अभिभावकलाई अभिमुखीकरण

गोरक्ष समाचारदाता
तुलसीपुर, १३ कात्तिक । राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालयमा एक कार्यक्रमको आयोजना गरी नेत्र सहायक अध्ययनरत विद्यार्थीलाई बुधवार स्वागत तथा अभिमुखीकरण गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज, अध्ययन, तालिम तथा अनुसन्धान कार्यक्रम राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय तुलसीपुर–४ रक्षाचौर, दाङको आयोजनामा नवागन्तुक प्रशिक्षार्थी तथा अभिभावकलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमम दशौँ व्याचका नेत्रसहायक अध्ययन गर्ने प्रथम वर्षका विद्यार्थी र उनीहरूका अभिभावकको सहभागिता रहेको थियो । राप्ती आँखा अस्पताल, नेत्रजयोति प्राविधिक शिक्षालयका एकाडेमिक चिफ राप्ती आँखा अस्पतालका सहायक प्राडा रञ्जितकुमार साहको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहकोषाध्यक्ष प्रणवकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले नेत्र सहायकले आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्षता हासिल गरी संसारभर अन्धोपन न्यूनीकरण गर्न मद्दत पु¥याएको भन्दै विद्यार्थीले आफ्नो उद्देश्य पूरा गर्न निरन्तरता दिनुपर्ने बताएका थिए । सहकोषाध्यक्ष खड्काले नेत्रसहयाक विद्यार्थीले शिक्षासँगै आँखा जस्तो संवेदनशील क्षेत्रमा ज्ञान हासिल गरी सेवा गर्नुपर्ने भएकाले जिम्मेवारीपूर्वक शिक्षा हासिल गरेर सेवा प्रवाह गर्नुपर्ने बताए ।

यसैगरी नेपाल नेत्रज्योति संघ दाङका सदस्य सुरेन्द्रबहादुर खड्काले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए । राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक तथा संघका सदस्य ध्रुव गौतम, ताराप्रसाद पोख्रेल, राप्ती आँखा अस्पतालका अस्पताल व्यवस्थापक शशि लामिछानेलगायतले आँखाका बिरामीसँग प्रत्यक्ष सरोकार राख्ने पेसा भएको हुँदा सचेत भएर अध्ययन गरी आँखाका बिरामीको सेवामा लाग्नुपर्ने भन्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सहायक प्राडा साहले यो क्षेत्र अतिजिम्मेवार र संवेदनशील भएको भन्दै शिक्षा हासिल गरिसकेर गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्ने भएकाले जिम्मेवारीपूर्वक आफ्नो सैद्धान्तिक र प्राज्ञिक ज्ञान हासिल गर्न लगनशील भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा गुरु जजुर माविका प्राधानाध्यापक तथा प्रशिक्षक विष्णुकुमारी केसीले यो शिक्षा हासिल गरिसकेपछि अन्धोपन न्यूनीकरणमा नेत्रसहायकहरूको अहम भूमिका रहने बताइन् । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले देशको अन्धोपन न्यूनीकरणमा नेत्रसहायकहरूले अहम भूमिका खेलिरहेको बताएका थिए । उनले नेपाल नेत्रज्योति संघ अन्तर्गतका अस्पताल उपचार केन्द्रहरूले अन्धोपन न्यूनीकरणमा गरेको सेवा, यस पछिका अवसर र महत्वका विषयमा जानकारी गराएका थिए ।

राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालयका प्रशासन तथा लेखा अधिकृत प्रेमाकुमारी सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लाइब्रेरियन निरला अर्यालले विद्यार्थीले पालना गर्नुपर्ने नियम निर्देशिकाको विषयमा प्रकाश पारेका थिए । राप्ती आँखा अस्पताल नेत्रज्योति प्राविधिक शिक्षालयमा देशका सातै वटा प्रदेशबाट नेत्र सहायक अध्ययन गर्न आउने गरेका छन् भने विशेष गरी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट धेरै सङ्ख्यामा विद्यार्थी आउने गरेको तथ्याङ्क रहेको छ । यहाँ अध्ययन गरेका केहीले अस्पताल र उपचार केन्द्रमा सेवा गरिरहेका छन् भने केहीले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् ।