भविष्यको हुरी : प्रविधि, चेतना र नेपालको दिशा

 

गणेश विश्वकर्मा
मानव सभ्यताको नयाँ मोडमा हामी उभिएका छौँ यस्तो मोड जहाँ प्रविधि, चेतना र शक्ति सन्तुलनको परिभाषा नै फेरिँदैछ । अबको युगमा आउने परिवर्तन कुनै साधारण लहर होइन, एक यस्तो हुरी हो जसले संसारको स्वरुप नै बदल्न सक्छ ।

इतिहासले ढुङ्गे युगदेखि कृषि, औद्योगिक हुँदै डिजिटल युगसम्मको लामो यात्रा पार गरिसक्दा अहिले हामी कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि र क्वान्टम कम्प्युटिङको संगममा पुगेका छौँ । यही संगमले अब मानव सभ्यतालाई नयाँ चरण “अर्धमानव” अर्थात् साइबोर्ग युगतर्फ धकेल्दैछ । कम्प्युटर र मानिसबीचको दूरी घट्दै जाँदा मानव क्षमतामाथि प्रविधिको नियन्त्रण तीव्र हुँदै गएको छ । आज शक्ति सत्तामा बस्नेले होइन, प्रविधि नियन्त्रण गर्नेले पाउँछ । सेनाको संख्याभन्दा सर्भरको क्षमता निर्णायक बन्दैछ । भूमि भन्दा डेटा मूल्यवान् भएको छ र युद्ध बन्दुकले होइन, एल्गोरिद्म र सूचना प्रवाहले लडिन्छ ।

जसले प्रविधिलाई बुझ्दैन, उसले भविष्य गुमाउँछ । जसले चेतनालाई प्रविधिसँग जोड्न सक्छ, ऊ सभ्यताको नेतृत्वमा उभिन्छ । भविष्यको शक्ति सन्तुलन फेरिँदै गर्दा प्रविधिमा पछि परेका देशहरु स्वतन्त्र रहँदैनन् । उनीहरु प्रविधिशाली मुलुकका अधीनमा पर्ने सम्भावना छ । संसारमा आज करिब दुई सय बढी देश छन्, तर भविष्यमा तीमध्ये सयौँ देश केवल नाममा मात्र बाँकी रहनेछन् । युद्धले होइन, डिजिटल वर्चस्वले धेरै राष्ट्रहरुको अस्तित्व हराउनेछ ।

नेपालका लागि यो चेतावनी अझ गम्भीर छ । हामी अझै फाइल र हस्ताक्षरमा अड्किएको शासन प्रणालीमा छौँ, जबकि विश्व क्लाउड कम्प्युटिङ र कृत्रिम बुद्धिमत्ताबाट सञ्चालित अर्थतन्त्रमा प्रवेश गरिसकेको छ । हाम्रो शिक्षा प्रणाली अझै पुरानो ढाँचामा सीमित छ, जब कि बाहिरी संसारमा विद्यार्थीहरु रोबोटिक्स, कोडिङ र एआई साक्षरता पढिरहेका छन् । हामीले अझै प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्न सकेका छैनौँ ।

नेपालमा अहिलेको पुस्ता, विशेषतः जेन जेड डिजिटल युगमा हुर्किएको पुस्ता हो । उनीहरुका लागि मोबाइल केवल सम्पर्कको माध्यम होइन, विचार व्यक्त गर्ने हतियार बनेको छ । टिकटक, युट्युव, फेसबुक र एक्स–ट्वीटरमार्फत् उनीहरुले आफ्नो आवाजलाई शक्तिमा रुपान्तरण गरेका छन् । उनीहरु पुरानो राजनीति र ढिलासुस्तीको विरुद्ध स्वतन्त्र सोच र पारदर्शिताको खोजीमा छन् ।

डिजिटल मिडियाको प्रयोग गरेर उनीहरुले सत्ता, नेतृत्व र निर्णय प्रक्रिया माथि सीधा प्रश्न उठाएका छन् । उनीहरुको असन्तोष अब सडकमा होइन, स्क्रिनमा व्यक्त हुन्छ । सामाजिक सञ्जाल उनीहरुको आन्दोलनको मैदान बनेको छ, जहाँ ट्याग, ह्यासट्याग र लाइभ भिडियोहरु नारा बनेका छन् । तर यो डिजिटल स्वतन्त्रताको बीचमा एउटा नयाँ खतरा पनि जन्मिएको छ “डिजिटल मिडिया ट्रायल” । तथ्य भन्दा भावनाले नेतृत्व गरेको, अनुसन्धान भन्दा आरोपले शासन गरेको यो प्रवृत्तिले केही हप्ताभित्रै कसैको प्रतिष्ठा नष्ट गर्न, करिअर तहसनहस पार्न सक्ने स्थिति बनाएको छ । यस्तो डिजिटल न्याय प्रणालीले स्वतन्त्रताको नैतिक सीमामा प्रश्न उठाएको छ । प्रविधि स्वतन्त्रताको प्रतीक हो कि हतियार रु यहीँबाट नेपालको भविष्यको बहस सुरु हुन्छ ।

प्रविधि र स्वतन्त्रता दुवै दोधारी तरवार हुन् । तिनको प्रयोगले समाजलाई जागरुक पनि बनाउन सक्छ, ध्वस्त पनि पार्न सक्छ । त्यसको दिशा जनचेतना र नीति निर्माताको जिम्मेवारीमा निर्भर गर्छ । आजको युवा पुस्ता अद्भुत रुपमा सशक्त छ उनीहरु सूचना सँग प्रत्यक्ष जोडिएका छन् । तर त्यही सूचना गलत प्रयोग भए विनाशकारी हुन सक्छ । स्वतन्त्रता अब केवल भौगोलिक सीमामा होइन, डिजिटल क्षेत्रमा परिभाषित हुन्छ । हाम्रो डाटा, आवाज र विचार सबै डिजिटल प्लेटफर्ममा बन्धक बन्न सक्छन्, । त्यसैले नेपालले अब छिट्टै “डिजिटल सार्वभौमिकता” सुनिश्चित गर्नुपर्छ । हाम्रो व्यक्तिगत र राष्ट्रिय जानकारी विदेशी सर्भरमा रहँदा स्वतन्त्रता केवल नामको हुन्छ ।

त्यसैले राष्ट्रिय क्लाउड, साइबर सुरक्षा परिषद् र डाटा संरक्षण नीति अब विलम्ब नगरी लागू हुनुपर्छ । जबसम्म हामी आफ्नै डाटा, प्लेटफर्म र प्रविधि क्षमता विकास गर्न सक्दैनौँ, तबसम्म पूर्ण स्वतन्त्रता सम्भव हुँदैन । युवाहरुको आन्दोलनले स्पष्ट सन्देश दिएको छ नेपालको भविष्य पुरानो सोचले होइन, नयाँ चेतना र प्रविधिले लेखिनेछ । तर यो नयाँ सोच भावनामा होइन, तर्कमा आधारित हुनुपर्छ ।

आलोचना लोकतन्त्रको सौन्दर्य हो, तर तथ्य बिना हल्ला फैलाउनु लोकतन्त्रको आत्माको अपमान हो । प्रविधि स्वतन्त्रताको माध्यम हो, तर त्यसको जिम्मेवार प्रयोग गर्न सिक्नुपर्ने बेला आएको छ । अब नेपालका नीति निर्माताहरुले बुझ्नुपर्ने कुरा के हो भने, विकासको प्राथमिकता अब भौतिक संरचनामा मात्र होइन, नवप्रवर्तन, विज्ञान र प्रविधिको ज्ञान, सीप उत्पादनमा केन्द्रित हुनुपर्छ ।

संसारका ठुला मुलुकहरु अमेरिका, चीन, भारत र युरोप सबैले कृत्रिम बुद्धिमत्तामा अर्बौं लगानी गरिरहेका छन् । नेपाल भने अझै ‘डिजिटल नेपाल’ को पहिलो चरणमै अड्किएको छ । भविष्यमा देशको शक्ति सिमा वा सेनाले होइन, सर्भर र सुरक्षा प्रणालीले निर्धारण गर्नेछ । जस देशको प्रविधिमा स्वामित्व हुनेछ, उसले नै राजनीतिक स्वतन्त्रता पनि जोगाउन सक्नेछ ।

शिक्षा प्रणालीलाई २१औँ शताब्दी अनुकूल रुपान्तरण गर्नैपर्छ । विद्यालय र विश्वविद्यालयहरुले विद्यार्थीलाई केवल रोजगारका लागि होइन, समस्या समाधानका लागि तयार गर्नुपर्छ । कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, डाटा एनालिटिक्स, ब्लकचेन र डिजिटल नैतिकता अब वैकल्पिक होइन, अनिवार्य विषय हुनुपर्छ । जसरी हामी जलविद्युतमा आत्मनिर्भर बन्न खोजिरहेका छौँ, त्यसरी नै डाटामा पनि आत्मनिर्भर बन्न जरुरी छ । भविष्यमा जानकारी नै राष्ट्रिय सुरक्षाको केन्द्र हुनेछ । जसले आफ्नो डाटा र सूचना नियन्त्रण गर्छ, उसले आफ्नो भविष्य नियन्त्रण गर्छ ।

नेपालले प्रविधि खरिद गरेर होइन, प्रविधि सिर्जना गरेर मात्रै रुपान्तरण गर्न सक्छ । त्यसका लागि घरेलु अनुसन्धान, स्टार्टअप इकोसिस्टम र डिजिटल नवप्रवर्तनलाई नीतिगत संरक्षण दिनुपर्छ । यदि सरकारले शिक्षा, अनुसन्धान र प्रविधि उद्यममा लगानी गर्न सकेन भने, हामी केवल उपभोक्ता बनेर बस्नेछौँ । नेपालले अब प्रविधिलाई विकासको केन्द्रविन्दुका रुपमा स्वीकार्नुपर्छ । युवाहरुको क्षमता, उद्यमशीलता र डिजिटल चेतनालाई नीति र योजनासँग जोड्न सक्यौँ भने, सानो देश भएर पनि ठुलो परिवर्तन सम्भव छ ।

नेपालको भू–राजनीतिक स्थिति पनि नयाँ अर्थमा महत्त्वपूर्ण बन्दैछ । भारत र चीनजस्ता छिमेकी देशहरु एआई र क्वान्टम प्रविधिमा तीव्र अग्रसर छन् । नेपालले तटस्थ प्रविधि नीति अपनाएर दुबै देशसँग सहकार्य गर्दै आफ्नो सानो तर सशक्त भूमिका तय गर्न सक्छ । सानो राष्ट्र भएर पनि “स्मार्ट डिजिटल राष्ट्र” बन्ने सम्भावना नेपालमा प्रशस्त छ, तर त्यसका लागि स्पष्ट नीति र दृष्टि चाहिन्छ ।

हामी अहिले प्रविधिको युगमा छौँ । यहाँ शक्ति होइन, ज्ञान निर्णायक छ जनसंख्या होइन, नवप्रवर्तन निर्णायक छ र राजनीतिक नारा भन्दा बढी प्रविधि साक्षरता निर्णायक हुनेछ । जेन जेड पुस्ताले देखाएको ऊर्जा प्रश्न गर्ने क्षमता र डिजिटल सशक्तीकरणलाई यदि सही दिशामा मोड्न सक्यौँ भने नेपालले भविष्यमा आफैंलाई नयाँ पहिचान दिलाउन सक्छ । भविष्य टाढाको कुरा होइन यो त अहिले नै सुरु भइसकेको छ । हाम्रो मोबाइल स्क्रिनमा, हाम्रो निर्णयमा र हाम्रो मौनतामा नै भविष्य लेखिँदैछ ।

यदि हामीले अहिले सचेत निर्णय गर्न सक्यौँ भने, नेपाल अझै पनि अवसरको मुलुक बन्न सक्छ जहाँ युवाको बुद्धि, प्रविधिको शक्ति र राष्ट्रिय चेतना एकै ठाउँमा मिल्छ । तर यदि हामी पुरानै सोच र ढाँचामा अड्कियौँ भने यो हुरीले हामीलाई समयको इतिहासबाटै मेटाइदिनेछ । अब विकल्प स्पष्ट छ यो हुरीबाट लुक्ने होइन, त्यससँग चल्न सिक्ने हो । भविष्य त्यहीले लेख्नेछ, जसले आज अनुकूलन गर्ने साहस गर्छ । नेपालका युवाहरु, विशेषगरी डिजिटल चेतनासँग सुसज्जित नयाँ पुस्ता यो परिवर्तनको नेतृत्व गर्न सक्छन् । यदि उनीहरुले प्रविधि, राजनीति र मूल्यलाई जोड्न सके भने, यही सानो देशले पनि विश्वको नयाँ युगमा आफ्नो नाम सुरक्षित गर्न सक्नेछ ।

(लेखक दाङको बंगलाचुली गाउँपालिकाका कार्यपालिका सदस्य तथा युवा राजनैतिक एवं सामाजिक अभियान्ता हुनुहुन्छ)