गोरक्ष समाचारदाता
दाङ, १२ कात्तिक । घोराहीमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सहुलियत पसलबाट ७२ हजार रुपैयाँको नुन बिक्री गरेको छ । गत भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको थियो । सरकारले चार्डपर्वको समयमा उपभोक्तालाई सहज होस् भनेर सहुलियत पसल सञ्चालनमा ल्याइएको हो ।
सहुलियत पसलसमेत बन्द गरिएको छ । साल्ट ट्रेडिङले नुन र चिनी बिक्री गर्ने भनिए पनि नुन मात्र बिक्री गरेको थियो । चिनी विभिन्न समस्याको कारण पसलबाट बिक्री गर्न नसकेको कारण नुन मात्र बिक्री गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए । नुनमा दुई रुपैयाँ प्रतिकेजी छुट दिएर बिक्री गरिएको थियो ।
खुद्रा दर २६ रुपैयाँ भएकाले पोकाको २४ रुपैयाँमा बिक्री गरेको प्रमुख गुप्ताले जानकारी दिए । पाँच सय जनालाई नुन बिक्री गरिएको उनको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख गुप्ताले सुपथ मूल्य पसलमा चिनी पनि ल्याउने तयारी भएकोमा देशको विषम परिस्थितिका कारण ल्याउन नसकिएको बताए । ‘हामी केन्द्रको निर्देशन बमोजिम काम गर्ने हो । हामीले पोहोर जस्तै यस वर्ष पनि चिनी ल्याउने योजना बनाएका थियौँ तर जेन–जीको आन्दोलनले भएको विषम परिस्थितिका कारण सकेनौं’, उनले भने ।