खेमराज रिजाल
तुलसीपुर, १२ कात्तिक । किसानको क्यालेन्डर हुँदैन, मनसुनको भर हुँदैन । सरकारको खेती नीति छैन । यही अवस्थाले तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुरका किसान कुमार पुनको मन रुझेको धान हेर्दै रोइरहेको छ । सोमवार मात्रै उनले अधिया लगाएको १२ कट्ठाको धान मजुरी लगाएर कटाएका थिए ।
‘आज मात्रै पानी नपरेको भए गरोमै धान भिजाउने थिएन, कम्तीमा खराइ लगाउन पाउँथे तर बिनाभरको झरीले मन रोएको छ’, कुमारले मलिन अनुहारमा भने । कुमार जस्ता आइतवार र सोमवार धान कटाएर खेतमै फिजाएका किसान धेरै छन् । कसैले पनि ढलाएको धान ओतमा राख्न भ्याएनन् । झरी अरू दुई दिन थपिए काटिएको धान खेतमै उम्रनेछ । यही बिचमा तिहार पर्व परेकाले पाकेको धान भित्राउन चाहेर पनि नपाएको किसानको गुनासो छ । यही समयमा तिहार नपरिदिएको भए सायद झरीमा पाकेको धान रुझ्ने थिएन ।
तुलसीपुर उपमहानगरपालिका–१९ ग्वार खोला फाँटमा पनि काटिएको धान खेतमै असरल्ल रुझेको छ । किसानले आकाश खुल्छ कि भनेर आशा गरिरहेका छन् । ‘मोबाइलमा हेछौँ, रेडियो सुन्छौँ, थप तीन दिन झरी लाग्ने सुन्दा मन भकभकी उम्लिएको छ’, ग्वार खोलाको फाँटमा भेटिएका किसान कल्लु चौधरीले भने । उनले पनि जमिनदारको खेत अधिया लगाएका छन् । ‘कति लहलह फलेको थियो, दैवले स्याहार्न दिएन’, कल्लुले भने ।
तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरका किसान मोहन बस्नेतले २०७६ को झरी झल्झल्ती सम्झेका छन् । त्यो साल पनि उनको १० कट्ठा खेतमा लगाएको धान स्याहार्न नपाउँदै उम्रिएको थियो । मोतीपुर त्यसै पनि गनारी खेत भएको क्षेत्र हो । उब्जनीका हिसाबले उत्तम छ तर बढी वर्षात भयो भने गराको पानी गरामै डम्म बसिदिन्छ । त्यसैले पनि काटेको धान दुई दिनकै झरीले पनि उम्रने सम्भावना रहन्छ । यो वर्ष पनि उनले अस्ति मात्र धान ढलाएर खेतमै राखेका छन् । घाम लागेको भए मङ्गलवारै थ्रेसर लगाउने तयारीमा थिए, उनी ।
सोही क्षेत्रका वेदबहादुर वली पनि त्यहाँका किसान हुन् । उनको खेत पनि गनारीमा छ । खेतमा पानी सुकिसकेको छैन । त्यसैले धान काट्न भने पाएका छैनन् तर काट्ने उमेर भएका धान नकाटेर झरी लामो समयसम्म प¥यो भने बोटमै धान टुसाउने गरेको उनलाई स्मरण छ । २०७६ सालमा पनि मोतीपुरका किसानको बोटमै धान उम्रन तयार थियो । त्यो वर्ष मोतीपुर पूरै डुबानमा परेर सयौँ बिघा धानबाली नष्ट भएको थियो ।
कृषि ज्ञान केन्द्र दाङको अनुमानित तथ्याङ्क अनुसार दाङको देउखुरी क्षेत्रमा करिब करिब सबै किसानले धानबाली भित्राइसकेका छन् तर दाङ उपत्यकाका धेरै धान भित्राउन बाँकी रहेको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा अझै पनि कम्तिमा २५ प्रतिशत धान भित्राउन बाँकी छ । यो देउखुरीसहितको तथ्याङ्क हो ।
दाङ उपत्यकाको मात्रै तथ्याङ्क हेर्ने हो भने करिब आधाआधी क्षेत्रफलमा धान भित्राउन बाँकी रहेको देखिन्छ । यदि झरी अरू तीन दिन लम्बिएमा काटेको धान गरोमै उम्रन सक्ने कृषि विज्ञले बताएका छन् । नकाटेर ढलेको धान पनि खेतमै उम्रन सक्नेछ । ठाडो धान भने केही दिनको झरीले बिग्रने छैन । यो वर्ष दाङमा कम्तिमा ३७ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । कृषि विज्ञले थप दुई दिन धान नकाट्न पनि किसानलाई अनुरोध गरेका छन् ।
यस्तो छ मौसम पूर्वानुमान
सोमवार रातिदेखि नै देशका अधिकांश भागमा सिमसिम पानी पर्न थाल्यो, झरीको दर मङ्गलवार साँझसम्म वृद्धि भइरहेको छ । हिमाली भेगमा सोमवार रातिदेखि नै हिमपात बढेर जनजीवन कष्टकर बन्दै गएको छ । यो नेपाल भित्रिएको एउटा मौसमी प्रणालीको असर हो । यसैगरी अर्को मौसमी प्रणाली अहिले नेपाल भित्रिने क्रममा छ । दुवै प्रणाली मिसिएपछि त्यसले थप प्रतिकूल असर पार्ने मौसमविद बताउँछन् ।
सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठुलो पानी पर्दैन तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ । यसपालि त्यस्तै हुने देखियो । अहिले अरब सागर र बंगालको खाडीबाट पानी पार्ने दुई छुट्टाछुट्टै प्रणाली नेपाल प्रवेश गर्दैछ । सोमवार रातिबाट देखिन थालेको प्रभाव अरब सागरमा उत्पन्न भई नेपाल प्रवेश गरेको प्रणालीले ल्याएको हो । बंगालको खाडीमा विकास भइरहेको मोन्था चक्रवात नेपाल छिर्न बाँकी नै छ । त्यसैले झरी कति दिन जारी रहने भन्ने निश्चित छैन ।
नेपाल भित्रिसकेको अरब सागरको प्रणालीले हिमाली क्षेत्र प्रभावित तुल्याएको छ । मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, धादिङ, रसुवालगायत जिल्लाको हिमाली भेगमा बाक्लो हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ । यो प्रणालीको प्रभाव मङ्गलवार साँझबाट घट्ने अनुमान छ । धेरै भू–भागमा बुधवार वर्षा हुँदैन । केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुनेछ । बिहिबार बिहान पनि मौसम उघ्रनेछ ।
बिहिबारदेखि अर्को मनसुन प्रणाली
मौसमविदका अनुसार बंगालको खाडीमा विकास भइरहेको अर्को प्रणाली मोन्था चक्रवात बिहिबारसम्म नेपाल आइपुग्नेछ । यसले पनि लुम्बिनी प्रदेशलाई हल्का झरी पार्न सक्नेछ । यसबिच धानबाली काट्ने, पराल थन्क्याउनेलगायत क्रियाकलाप नगर्न पनि मौसमविद्ले आग्रह गरेका छन् । विज्ञका अनुसार मोन्था चक्रवात १४ किलोमिटर प्रतिघण्टाको गतिमा नेपालतर्फ बढिरहेको छ ।