calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

उत्तरबाहिनी चिनाउन महायज्ञ : व्यवस्थापक भट्टराई[अन्तर्वार्ता]

उत्तरबाहिनी धार्मिकस्थल दाङको घोराही उपमहानगरपालिका–७ शुक्रवार पर्दछ । बबई नदी उत्तरबाट दक्षिणतर्फ बगेको उक्त स्थानलाई पवित्रस्थलका रुपमा विकास गर्दै विगत तीन वर्षदेखि उक्त स्थानमा माता पवित्रादेवी साङ्वेद संस्कृत गुरुकुल समेत सञ्चालन हुँदै आएको छ ।

२०७५ सालमा घोराही–१७ चौघेरादेखि सञ्चालन भएको गुरुकुल २०७९ जेठदेखि उत्तरबाहिनी क्षेत्रबाट सञ्चालन भइरहेको छ । उत्तरबाहिनी क्षेत्रको प्रचारप्रसारसँगै संस्कृत गुरुकुललाई व्यवस्थित रुपमा सञ्चालनार्थ आउने मङ्सिर ९ गतेदेखि १६ गते ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धनधान्याचल’ सञ्चालन गर्न थालिएको छ ।

यसै सन्दर्भमा उत्तरबाहिनी क्षेत्रको धार्मिक महत्व, विकासका लागि गर्नु पर्ने कामसँगै महायज्ञ किन लगाउनु पर्ने आवश्यकता प¥यो भन्ने विषयमा केन्द्रित रहेर गोरक्ष दैनिकका लागि पत्रकार लीलाधर वलीले गुरुकुलका प्रमुख व्यवस्थापक एवम् महायज्ञ मुल आयोजक समितिका सदस्य सचिव प्रकाश भट्टराईसँग गरिएको कुराकानीको सार सङ्क्षेप ।

— उत्तरबाहिनी क्षेत्रमा महायज्ञ सञ्चालन गर्ने तयारी गर्नुभएको रहिछ, किन आवश्यक प¥यो महायज्ञ ?

उत्तरबाहिनी क्षेत्र दाङको पवित्र धार्मिकस्थल हो । यसको प्रचारप्रसार हुन नसक्दा धार्मिक दृष्टिले महत्वपूर्ण रहे पनि पछि परेको छ । उत्तरबाहिनी क्षेत्रको प्रचारप्रसारसँगै विगत तीन÷चार वर्षदेखि सञ्चालन भइरहेको माता पवित्रादेवी सांङ्वेद संस्कृत गुरुकुल सञ्चालनार्थ महायज्ञ सञ्चालनको तयारीमा जुटेका छौँ ।

आउने मङ्सिर ९ गतेदेखि १६ गतेसम्म उत्तरबाहिनी क्षेत्रमा महायज्ञ सञ्चालन हुनेछ । उक्त महायज्ञमा सुप्रशिद्ध कथावाचिका नर्मदा दासीले कथावाचन गर्नु हुनेछ । त्यसका लागि घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपीराम चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठनसँगै महायज्ञको मिति घोषणा गरेका छाँै बाँकी समिति विस्तारसँगै प्रचारप्रसारलगायतका अन्य तयारीमा जुटेका छौँ ।

— उत्तरबाहिनी क्षेत्र भनेको के हो, यसको महत्व कति छ ?

जुनसुकै ठाउँमा नदी, खोलाको प्रभाव उत्तरबाट दक्षिणतिर भएको देखिन्छ । प्राय विरलै ठाउँहरूमा दक्षिणबाट उत्तरतर्फ नदी तथा खोलाहरू बगेको देख्न सकिन्छ । त्यही अवस्था छ, घोराही उपमहानगरपालिका–७ शुक्रवारमा पनि सरयु नदी (बबई नदी) । दक्षिणबाट उत्तरतर्फ बगेको छ । त्यही हुनाले यसलाई उत्तरबाहिनी क्षेत्रका रूपमा चिन्ने गरिन्छ ।

उत्तर बाहिनीको महत्व जहाँ–जहाँ गंगा उत्तरबाट दक्षिणतिर बग्ने गर्दछिन्, त्यसलाई धार्मिक दृष्टिकोणले पवित्र मान्ने गरिन्छ । जसरी भारतको बनारस र नेपाल गोकर्णलाई लिने गरिन्छ । धेरै मानिसहरू पितृको श्राद्ध गर्न बनारस तथा गोकर्ण जाने गर्दछन् । यसरी बग्ने गंगास्थलमा पितृ कार्य गर्दा पितृको उद्धार हुने, मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास छ ।

यस्ता ठाउँमा पितृ कार्य गर्दा परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास छ । शुक्रवारमा पनि पहिलेदेखि रहे पनि बिचमा ओझेलमा परेको थियो । चौघेरामा रहेको गुरुकुल शुक्रवारमा आएसँगै उत्तरबाहिनी क्षेत्रको चर्चा हुन थालेको छ । उत्तरबाहिनी क्षेत्रमा पनि पछिल्लो समय पितृ कार्यका लागि मानिसहरू आउन थाल्नुभएको छ तर सबैलाई यसका बारेमा जानकारी नहुँदा टाढा–टाढा जाने गर्नुहुन्छ, त्यही भएर सबैलाई जानकारी दिने गरी महायज्ञ सञ्चालन गर्न थालेका हौँ ।

दाङमा पहिलो पटक सञ्चालन भएको महायज्ञबाट आर्थिक सङ्कलन गरेर प्युठानको प्रसिद्ध स्वर्गद्वारी जाने सडक बनाए जसरी हामै्र ठाउँको पवित्र क्षेत्र उत्तरबाहिनीलाई बनाउने गरी महायज्ञ लगाउन थालेका छौँ, यो कार्यमा सबैको साथ र सहयोग हुने अपेक्षा छ ।

— महायज्ञका लागि स्थानीयको कत्तिको साथ र सहयोग पाउनुभएको छ ?

हो, महायज्ञ सञ्चालनका लागि स्थानीयको साथ र सहयोग सबैभन्दा महत्वपूर्ण कुरा हो । स्थानीयको साथ र सहयोगले हामी महायज्ञको तयारीमा जुटेका छौँ । शुक्रवारसँगै वडा नं. ७ र ५ का विभिन्न बस्तीमा पुगेर सुझाव पनि लिएका छौँ ।

अहिले भर्खरै चाडपर्व सकिएको र किसान लगत्तै धानबाली भित्राउन थालेकाले बृहत रूपमा छलफल गर्न सकेका छैनौँ । स्थानीयबासी, बुद्धिजीवि, अग्रज, राजनीतिक दल, धार्मिक संघसस्थालगायत सबैसँग सरसल्लाह गरेर महायज्ञ सञ्चालन गर्ने छौँ ।

— अहिले गुरुकुल कसरी सञ्चालन गरिरहनुभएको छ ?

माता पवित्रा देवी सांङ्वेद संस्कृत विद्यालय (गुरुकुल) २०२१ सालमा राष्ट्र गुरु योगी नरहरी नाथले स्थापना भएको थियो । योगी नरहरी नाथको ध्यान दृष्टि परिसकेपछि उहाँले जग्गा दाता छेमकान्त धिताललाई भन्नुभएको र उहाँले विद्यालयलाई दान गरेपछि विद्यालय सञ्चालन भएको हो ।

अहिले सरकारी तथा निजी विद्यालय सञ्चालन भइरहेको समयमा गुरुकुलको किन आवश्यता प¥यो भन्ने प्रश्नमा जहाँ गुरु र शिष्यको परम्परा हुन्छ । त्यहाँ गुरुसँग विद्यार्थी अध्ययन गर्नका लागि जान्छन् र निःशुल्क रूपमा शिक्षा आदानप्रदान हुने निकाय गुरुकुल हो । गुरुकुलमा बिहान उठ्ने बेलादेखि साँझ सुत्ने बेलासम्म हुने गतिविधि छन्, ती सबै गुरुकुलीय परम्परा अनुसार, ऋषि कुल परम्परा अनुसार हुने गर्दछन् ।

बैद्धिक कालमा ऋषिको सानिध्यमा गएर गुरुहरूको छत्रछायाँमा बसेर विद्या लिने परम्परा थियो । त्यही परम्परालाई अङ्गालेर गुरुकुल चलाएका छौँ । सबैले बुझ्ने गरीभन्दा गुरुकुल भनेको गुरु र शिष्यबिचको परम्परा हो । यहाँ पढ्दा बालबालिका बिग्रदैनन् र समाजका लागि आवश्यक योग्य जनशक्ति उत्पादन हुने गर्दछन् ।

— अहिले गुरुकुल शिक्षाको कत्तिको आवश्यकता देख्निुहुन्छ ?

गुरुकुल शिक्षा मानिसलाई आफ्नो जीवनको महत्व सिकाउने परम्परासँगै घर, समाज र राष्ट्रका लागि योग्य नागरिक उत्पादन गर्ने गर्दछ । अहिले आधुनिक शिक्षाको विकासले गुरुकुल शिक्षा पछि परेको अवस्था छ । जसका कारण पढ्दै युवा जनशक्ति विदेशिने क्रम बढेको छ । गाउँघर वा हाम्रो समाजमा युवा पिढीलाई भेटाउन समस्या भइरहेको छ । त्यसले पनि गुरुकुल शिक्षाको आवश्यकता देखिन्छ ।

राष्ट्रलाई मात्र गर्ने नागरिक भेटाउन समस्या भइरहेको समयमा शैक्षिक ज्ञानसँगै धार्मिक एवम् आध्यात्मिक ज्ञानका माध्यमबाट योग्य, सक्षम र नैतिकवान नागरिक उत्पादनका लागि गुरुकुल शिक्षाको महत्व छ । हामीले बालबालिकालाई आधुनिक शिक्षासँगै धार्मिक, सांस्कृतिक एवम् नैतिक शिक्षा सिकाउने काम गरिरहेका छौँ । यसले योग्य नागरिक उत्पादनमा सहयोग गर्ने विश्वास छ ।

— गुरुकुल सञ्चालन गर्ने सोच कसरी बनाउनुभयो ?

अहिले गुरुकुलभन्दा पनि निजी स्कुल, उद्योग व्यवसाय सञ्चालन भइरहेका छन् । फाइदा दृष्टिले पनि लगानी त्यता गर्दा धेरै हुन्छ होला तर हामीले निस्वार्थ रूपमा, समाजका लागि घोराही उपमहानगरपालिका–१७ चौघेरामा २०७५ सालमा गुरुकुल सञ्चालन गरेका थियौँ ।

सुरुमा सामान्य रूपमा सञ्चालन गरे पनि बुझ्दै जादाँ गुरुकुल भनेको गहन विषय भन्ने थाहा भयो । विद्यार्थीको कक्षागत वृद्धिसँगै गुरुको प्रवेशले हामीलाई गहन रूपमा सोच्न बाध्य बनायो । त्यही कारण पनि चौघेरामा सञ्चालन भएको गुरुकुललाई २०७९ जेठ १९ गतेदेखि घोराही–७ शुक्रवारस्थित उत्तरबाहिनी क्षेत्रबाट सञ्चालन गरेका छौँ ।

यो ठाउँमा २०२२ सालदेखि करिब २०५० सम्म संस्कृत शिक्षा पढाइ भए पनि बिचमा छुटेको थियो । पछि हामीले राष्ट्र गुरु योगी नरहरी नाथको दृष्टिले समेत देखेको पवित्र ठाउँलाई रोजेर २०७९ जेठ १९ गतेदेखि गुरुकुल सञ्चालनमा लागेका हौँ । विस्तारै सबैको सात र सहयोग मिल्दै गएको छ । यो ठाउँलाई पवित्र स्थलका रूपमा विकास गरिरहेका छौँ । पढ्ने बटुक पनि थपिँदै गएका छन् । कतिपय बालबालिका आफ्नो रहरका कारण घरमा सल्लाह गरेर आउने गर्दछन् भने कतिपय बालबालिकालाई अभिभावकले पनि पठाउने गर्नुभएको छ ।

अहिले २५ जना बटुकले शिक्षा लिइरहेका छन्, यो सकारात्मक पक्ष हो । गुरुकुलको सबैभन्दा धेरै विकास भएको देवघाट र त्यसपछि झापा जिल्ला हो । त्यहाँको तुलनामा कम भए पनि विस्तारै गुरुकुलमा आउने बालबालिका बढ्दै गएका छन् । यो गुरुकुल जिल्लामा भएको एक मात्र गुरुकुल हो । अहिले गुरुकुलमा दाङसहित प्युठान, बाँके, बर्दिया, अर्घाखाँचीका बालबालिकासँगै एकजना नेपाली मुलका भारतमा बस्दै आएका बालक समेत पढिरहेका छन् ।

गुरुकुलको व्यवस्थित रूपमा विकास गर्दै धार्मिक एवम् ऐतिहासिक तीर्थस्थलका रूपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गर्नु पर्ने आवश्यकता छ । गुरुयोजना निर्माणका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । सुनेका छौँ, कार्यपालिकाबाट निर्णय समेत भइसकेकाले यसै वर्ष गुरुयोजना समेत बन्ने छ । गुरुयोजना बनेपछि उत्तरबाहिनी क्षेत्रमा गुरुकुलका लागि आवश्यक पर्ने मठ, यज्ञस्थल, पढ्नका लागि भवन, धर्मशाला, गौशाला, गंगा जल ल्याउन नदी जानका लागि सिढी, जडिबुटी क्षेत्र, नदीमा तटबन्ध गर्नेलगायत निर्माण हुनेछन् ।

त्यसले उत्तरबाहिनी क्षेत्रलाई धार्मिक पर्यटनका रूपमा अघि बढाउनका लागि धेरै सहयोग गर्नेछ । यी सबै पूर्वाधार निर्माण गर्दै प्रचारप्रसार गर्नसके उत्तरबाहिनी क्षेत्रलाई उत्कृष्ठ धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ ।

— गुरुकुलको दीर्घकालीन विकासका लागि के गर्न आवश्यक छ ?

बाहिनी क्षेत्रमा रहेको दाङको एक मात्र गुरुकुल हो । नयाँ भए पनि प्रशस्त सम्पत्ति रहेको छ तर व्यवस्थितसँगै प्रचारप्रसारको आवश्यकता छ । पूर्वाधार विकाससँगै गुरुकुललाई व्यवस्थित गर्नका लागि स्थानीय सरकार, निजी क्षेत्रसँगै बौद्धिक वर्ग, स्थानीयबासी सबैको साथ र सहयोग आवश्यक छ ।

सबैको साथ र सहयोगबाट गुरुकुललाई व्यवस्थित गर्नु पर्ने छ । स्कुलको नाममा करिब १६ विगाह जग्गा रहेको छ, त्यसलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्दै आम्दानीसँग जोड्न सकियो भने गुरुकुल सञ्चालनका लागि समस्या पर्ने छैन । त्यससँगै गुरुकुलको आम्दानी बढाउनका लागि प्रचारप्रसार गर्दै आन्तरिक तथा बाध्य पर्यटकलाई आकर्षण गर्नु पर्ने छ ।

त्यसका लागि यस क्षेत्रमा आवश्यक पूर्वाधारसँगै लगानी बढाउन आवश्यक छ । अहिले केही व्यक्तिहरूले आफन्तको सम्झनामा अक्षकोष स्थापना गर्ने काम बढेको छ । यसले गुरुकुललाई आर्थिक रूपमा बलियो बनाउन सहयोग गर्नेछ । गुरुकुलका लागि यज्ञ लगाउने सोचमा रहेका छौँ, सबैको साथ र सहयोग मिल्यो भने त्यसबाट पनि केही पैसा सङ्कलन हुने आशा रहेको छ ।

— अन्त्यमा केही भन्नु छ ?

धेरै कुरा भनिसकेको छु । उत्तरबाहिनी क्षेत्रमा रहेको जिल्लाको एक मात्र गुरुकुल हो । यसको प्रचारप्रसारसँगै विकासमा लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धनधान्याचल सञ्चालन गर्न थालेका छाँै । यो पवित्र कार्यमा सबैको साथ र सहयोग रहोस भन्न चाहान्छु ।