विधि, नीति, नियम, कानुन जीवनलाई सहज बनाउने साधन हुन्, साध्य होइनन्

नारायणप्रसाद श्रेष्ठ

जीवन धागोको डल्लो सरी हुन्छ । धागो फुकाउन जाने यो सजिलै फुक्दै जान्छ तर फुकाउन नजाने जेलिएर यो टुक्रा–टुक्रा भई गुजिल्टिन पनि सक्छ । जसरी धागो फुकाउन नजान्दा यो गुजुल्टिएर काम नलाग्ने हुन्छ त्यसरी नै जीवनले पनि सही र निर्दिष्ट गोरेटो समाउन सकेन भने यो पनि बरवादी नै हुन्छ ।

सही गोरेटो समाउन सके जीवन सरल र सहज बन्दै जान्छ अन्यथा जीवनको प्रत्येक कदममा धोका, दुःखकष्ट र विविध समस्या आइरहन्छ । परिस्थिति असहज बन्दै जान्छ । तसर्थ मानवीय मूल्य र मान्यताभित्र हुर्कदै आएको मानवता, संस्कार र चिन्तनलाई साध्य बनाउनेतर्फ सधै चिन्तनशील भइरहनु पर्छ । धन, सम्पत्ति, वैवभ, मान सम्मान, शरीर, आत्माको साधन हुन, कर्म व्यवहार र मानवीय आचरण यसको गन्तव्य हो ।

साधनलाई साध्य बनाउनु छ भने यसको गन्तव्यलाई सहज बनाउन सक्नु पर्दछ । तसर्थ हाड मासुको शरीरलाई गतिशिल हुन उत्प्रेरित गर्ने जीवतत्व (जीवन) र यसको गन्तव्यलाई बुझेर साध्य बनाउन सधै सकारात्मक चिन्तनतर्फ आफूलाई समर्पण गरिरहनु पर्दछ । बाह्य आवरणमा देखिने भौतिकता क्षणिक सपना मात्र हुन् । यो कुनै पनि बेला नष्ट (क्षय) हुनसक्छ । जसरी समय बिहान दिउँसो र राति भएर बदलिरहन्छ ।

त्यसरी नै भौतिकता भित्रको विलासीपन पनि बदलिरहन्छ । यसले क्षणिक आनन्दको अनुभूति गराए पनि यसको परिणाम छाडा र गतिहीन गन्तव्य हुनसक्छ । किनकि बाह्य आवरणमा देखिने भौतिक विलासी बस्तुले जीवनलाई खोक्रो गतिहीन बनाएको धेरै उदाहरण पाइन्छ । अर्को कुरा रुपैयाँ पैसा साधन हो साध्य होइन यो सधैं चञ्चलताभित्र रम्ने भव्य हो ।

चञ्चलता यसको स्वभावै हो । यो सधैं एक ठाउँमा रहन सक्दैन । छिनछिनमा एकअर्काबिच सामिप्यता जोड्दै, छोड्दै, जाने यसको गुण र स्वभाव हुन्छ । यो केवल साधन मात्र हो । आफैमा साध्य होइन ।

हो ! यसको उचित प्रयोगले मानिसले आफ्नो आवश्यकता पूरा गर्न सक्लान्, खुसी साटासाट गर्न सक्लान्, जीवनलाई क्षैणिक आनन्दको सागरमा डुबुल्की मार्न सक्लान्, मनमा लागेको चिज वस्तु खरिद गरी आफूलाई सम्पन्नताको गरी गुथ्दै हैकमवादी सोच प्रवाह गर्न सक्लान् तर यसको परिणाम सधैँभरी क्षनिक हुन सक्छ र भविष्यमा आइपर्ने समस्या डरलाग्दो पनि हुनसक्छ ।

यस्तो सोच र चिन्तन गर्नु भनेको मानिसको मनभित्र अहंकार पैदा गरी मानिसलाई पतित आचरणहीनतर्फ डो¥याउन पनि हो । यति मात्र होइन यसले मानिसलाई अविश्वासी, घमण्डी र अहंकारी बनाउँदै समाजदेखि बहिष्कृत गराउन पनि सक्छ । त्यसैले क्षणिकता र चञ्चलतामा होमिनु पर्ने यसको वास्तविकतालाई पहिचान गरी धन, सम्पत्ति, रुपैयाँ पैसातिर मानसिकता नबढाइ यसको उचित रुपमा प्रयोग गर्ने विवेकशील प्राणी बन्न सक्नु पर्दछ ।
यो नै मानव जीवनको मानवीयता हो । रुपैयाँ नै सबै हो भन्ने सोच राख्नु हुँदैन । रुपैयाँ साधन हो साध्य होइन । यसैगरी कर्मलाई साध्य बनाउन आचरण र व्यवहारलाई परिष्कृत गर्दै लैजान सक्ने क्षमता राख्नु पर्दछ । जीवनमा हरेक क्षणमा आउन सक्ने गरी यथार्थ परक सेवा र सद्भावमा आधारित विचारलाई प्रशय दिएर जीवनलाई साध्य बनाउनेतर्फ आफ्ना भावना र विचारलाई मुखरित गर्ने वातावरण बनाउनु पर्दछ ।

यदि विचारलाई छटनी गर्न सकिएन वा वातावरण अनुकूल आफ्ना भावनालाई मनको तराजुमा तौलन जानियन भने जीवनले खोजेको उद्देश्य कहिलै पूरा हुँदैन । त्यसैले जीवनको यही सारलाई बुझेर यसको उद्देश्य र गतिशीलतामा देखा परेका बाधा अडचनलाई फुकाउँदै धैर्य र लगनशील बनेर नीति, विधि र नैतिक चरित्रमा आधारित व्यावहारिक जीवनशैली अपनाउनु पर्दछ ।

साधनलाई साध्य बनाउने गरी कर्म र व्यवहारलाई परिस्कृत गर्दै जीवनलाई उत्तम गति दिन लागि पर्नु पर्दछ । लगनशील र दृढ संकल्पका साथ जीवनलाई सही गन्तव्यतर्फ डो¥याउनु पर्दछ । मनमा आउने व्यर्थ संकल्पलाई परित्याग गर्न सक्नुपर्दछ । जुन संकल्पले पवित्र विचारलाई तथा आत्मसम्मानलाई ठेस पु¥याउँछ वा दुषित बनाउन छ त्यसलाई गम्भीर भएर बुझी बढी सजग र सतर्क रहेर आफूलाई प्रदर्शन गर्नुपर्दछ ।

वर्तमान समयमा मानिस केवल धन सम्पत्ति रुपैयाँ पैसा नै सबै हो भन्ने मानसिकतामा अल्झिएको छ । नाता कुल कुटुम्ब, इष्टमित्र, सामाजिक परिवेशभन्दा पनि धनसम्पत्ति र मान प्रतिष्ठालाई आफ्नो गन्तव्य बनाई रकमबाट के गर्न सकिँदैन ? भन्ने भावना जगाई अहंकार र घमण्ड बढाइरहेको छ ।

अहिले समाजमा मै खाउ मै लाउ, मै मोज मजा गरु भन्ने संकुचित विचार प्रशस्त देखिन्छ । यही विचारले समाज अहिले दुषित वातावरणमा अल्झिएको पनि छ । यस अवस्थामा सही र स्पष्ट विचार पनि सुषुप्त हुने अवस्था रहन सक्छ । तसर्थ यसको गाम्भिर्यतालाई बुझी भौतिक आकर्षणले ल्याएको अहंकार इमान, जमान, विश्वास, नाता, इष्टमित्र, कुलकुटुम्ब, माया ममता सबै खरिद गर्न सकिने बस्तु हुन् भनी अघि बढ्ने हाम्रो चिन्तनलाई जरैदेखि उखलेर फाल्ने संकल्प गर्नुपर्दछ ।

वास्तवमा रकम धन सम्पत्तिबाट सबै खरिद गर्न सकिन्छ भन्ने चिन्तन गर्नु भनेको डल्लाको धागो सरी जीवनलाई अझ बल्झाउदै जानु हो । तसर्थ समय र परिस्थितिको आंकलन गरी जीवनको उद्देश्य र गतिशिलतालाई सरल र सहज बनाइ (जीवन) शरीर केवल साधन मात्र हो, साध्य बनाउने भनेको हाम्रो आचरण र व्यवहार नै रहेछ भनी अन्तर मनको सच्चाइ बुझी आफूलाई प्रदर्शन गर्नुपर्दछ ।

जसरी जीवनको गोरेटोमा रुपैयाँ पैसालाई साधन मानिन्छ, त्यसैगरी परिवार, समाज र राष्ट्र पनि जीवन जिउने सिलसिलामा रचना गरिएका यथार्थ हुन् । विधि, नीतिनियम, कानुन, जीवनलाई सहजता र गतिशिल बनाउने माध्यम (साधन) हुन् । यसलाई साध्य बनाउने भनेको विवेक र नैतिकता हो । नैतिकता र चरित्रहीन विचारले जीवनको गन्तव्य कहिले निर्दिष्ट गतिशिलतामा हुर्कन सक्दैन ।

न त राज्य सञ्चालन प्रक्रिया सरल र सहज बन्न सक्छ, न त परिवार, समाज आदर्श गति उन्मुख हुनसक्छ । त्यसैले साधनलाई साध्य बनाउने भनेको मानवता र नैतिक आचरण र कर्म नै हुन भन्ने यथार्थ बुझी मन बचन र कर्मलाई एउटै धरातलमा राखी जीवनको सत्य गोरेटो पहिल्याउन सक्नुपर्दछ ।

वर्तमान समयमा देखिएको जति पनि सामाजिक विकृति र विसंगति तथा मानवीय आकांक्षामा देखिएको स्वार्थपरक चिन्तन छन् तथा अहंकारले जसरी समाजमा विविध विकृति जन्य घटना घटिरहेका छन्, यी सबै स्वार्थका कारण सामाजिक अपराध बढ्नुको कारणले हुन्, साथै आचरण र व्यवहारमा जति पनि अमर्यादित गतिविधि भइरहेका छन् ती सबै हाम्रै कारणले भएका हुन् ।

हाम्रै असावधानीका कारण अहिले नीति र नैतिकता कमजोर भइरहेको छ । न्याय सम्पादनमा चाकडी र मोल मोलाहिचा बढेको देखिन्छ । दण्डहीनता कमजोर भई चोरी, डकैती, बलात्कार जस्ता अपराध प्रवृत्ति बढ्दै छ । आचरणहीन कर्मतर्फ मानवीय चिन्तन बढेको छ । जीवनलाई रकममा सटही गर्ने कार्य भइरहेको अवस्था छ ।

यस्तो विषम परिस्थितिमा जीवनले निर्वाह गर्नु पर्ने आचरणमा यदि कहीँ कतै यस्तै गलत परिस्थिति सिर्जना हुँदै जाने र स्वार्थले जकडिएको चिन्तन हाबी हुँदै जाने हो भने जीवनले कस्तो गति लिने हो ? सबैको चिन्ताको विषय बन्दै गएको छ । मानवीय आदर्शलाई बिर्सेर क्षणिकतालाई वास्तविकतामा परिणत गर्ने जुन सोच वर्तमानमा विकसित भइरहेको छ, यसले कतै हामीले हाम्रो गन्तव्य बिर्सिएको त होइन ? यो पनि प्रश्न उठिरहेको छ ।

सामाजिक दर्पणको रुपमा काम गर्नुपर्ने समयमा प्राप्त भएका अवसर र परिस्थितिलाई यदि सदुपयोग गर्न जानिएन वा साधनलाई साध्य बनाउने चिन्तन गर्न चुक्यौ भने हाम्रो भविष्य कस्तो रहला ? यस्तै आँखाले देखेको सत्य मात्र स्वीकार्ने प्रवृत्ति तथा खान लाउन र मोजमजामा मात्र जीवनको गतिलाई अगाडि बढाइने हो भने हाम्रो गन्तव्य कतातिर मोडिने हो ? अहिले गम्भीर रुपले चिन्तन गर्नुपर्ने बेला भएको छ ।

हो ! जहाँ अवसर हुन्छ त्यहाँ चुनौती पनि हुन्छ तथा जिम्मेवारी पनि हुन्छ । जब चुनौती र जिम्मेवारी बढ्छ, त्यस बेलामा यदि हामीले हाम्रो धैर्यता, लगनशीलता र नैतिकतालाई सौदाबाजीमा परिणत गर्ने हो भने हाम्रो स्वाभिमानले कस्तो परिणाम भोग्नु पर्ने हो ? हामी सबैले चिन्तन गरेका छौँ ? तसर्थ यस्तो विषम परिस्थितिमा आउने उतारचढाबलाई हृदयको तराजुमा तौलिएर पवित्रताको मूलद्वार भेट्टाउन सबैले आफ्ना चिन्तन र मननलाई नैतिकताको कसौडीमा कसी लगाएर प्रस्तुत गर्नुपर्ने समय आएको छ ।

साधनलाई साध्य बनाउने नारा मात्र होइन चिन्तन, आचरण र व्यवहारबाट पनि परिष्कृत गर्दै लैजानु परेको छ । अहिले जे जति घटना र परि घटना देखा परिरहेका छन् वास्तव यी सबै हामीले आफ्नो आचरण र व्यवहारलाई परिस्कृत गर्न नसक्नाको कारणले हो । जिम्मेवारी बोध गर्न नसकेकोले हो । अब पनि फेरि त्यही प्रवृतिलाई दोहो¥याउँदै लैजाने हो भने हाम्रो भविष्य अन्धकार नहोला भन्न सकिन्न ।

म नै सबै हु भन्ने अहंकार बढाउने हो र क्षणिक स्वार्थमा अल्झिने हो भने पनि न रहे बाँस, न बझे बासुरी भन्ने उखान सार्थकता नहोला भन्ने आधार कमजोर छ । त्यसैले साधनलाई साध्य बनाउने भनेको हाम्रै विवेक र र्नैतिक आचरण रहेछ भन्ने बुझी सबैले आफूलाई सच्याइ अघि बढनु पर्ने अवस्था आएको छ । चेतना भया ।