मेरो खुशी : फूलबारीमा मुहार छाएको …

मानिसलाई खुसी हुन धेरै कुरा चाहिँदैन सानो र आफूले गुमाएको कुरा पाउँदा धेरै मानिस खुसी हुने गर्छन् । हरेक मानवको लक्ष्य खुसी प्राप्ति नै हो । जीवनका लक्ष्यहरू मनको खुसीसँग जोडिएको हुन्छ । भविष्यका रहरहरूलाई खुसीरूपी आशाका किरणहरूले उज्यालो बनाउँछ । उनी शारिरीक रूपले कोही अशक्तसँगै केही वर्षदेखि दुवै आँखा देख्न छोडेपछि उनको खुसी नै हराएको थियो ।

नलगाड–७ जाजरकोटकी फुलबारी वादीका दुवै आँखा विस्तारै बन्द हुँदै गएपछि उनका सबै खुुसी हराउँदै गएको उनले बताइन् । उनका दुवै आँखाहरू मोतिविन्दुका कारण केही महिनादेखि बन्द भएपछि उनले उज्यालो संसारमा रमाउन आशा निराशामा परिवर्तन भएको बताइन् ।

फुलबारीले दुवै आँखाहरू बन्द भएपछि अर्काको साहारामा दैनिकी काटनु परेको उनले सम्झीइन् । ‘मेरा छोरीहरू मात्र छन् दुवै आँखा बन्द पछि कहिले कुन छोरी कहिले कुनै छोरीको घरमा बस्दै आएको थिए’ फुलवारीले भनिन् । उनले आफूले दुवै आँखा बन्द भएपछि छोरीहरूकै घरमा अरूको साहारामा बस्न बाध्य भएको भन्दै जाजरकोटमा आँखा शिविर हुने गाउँका एकजना डाक्टरले भनेपछि आफू आँखा शिवरमा आएको बताइन् ।

छोरीका छोरीहरूले बोकेर आँखा शिविरमा लिएपछि चेक जाँच गर्दा उनका दुवै आँखामा मोतिविन्दु भएका कारण आँखा नदेख्ने भएको उनले थाहा पाएको बताइन् । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा रिडले आइफाउण्डेशनको आर्थिक सहयोगमा जाजरकोटमा भएको निःशुल्क आँखा शिविरमा उनले पहिलो दिन दायाँ आँखा शल्यक्रिया गरेकी थिइन् ।

आर्थिक अवस्था कम्जोरीका कारण अनेत्र उपचारका लागि जान नसकेको उनले बताइन् । आर्थिक अवस्था समेत कम्जोर भएकी फुलबारीले त्यस दिन एउटा आँखा शल्यक्रिया गरेपछि भोलि फेरि अर्को आँखा शल्यक्रिया गर्ने भनेपछि उनको मनमा केही डर थियो तर त्यो डर अर्को दिन हरायो । अर्को दिन बिहान आँखामा लगाएको पट्टि खोलेपछि फुलबारीले एउटा आँखा पहिले जस्तै देखेको बताइन् ।

‘यसरी मैले पहिले जस्तो आँखा देखुला र यस्तो होला भन्ने कल्पना गरेको थिएन आज नयाँ संसार देखे उनले भनिन् । त्यो सँगै अर्को दिन अर्को आँखाको समेत शल्यक्रिया गरी दुवै आँखा देख्ने भएपछि फुलबारीको बर्षौँ पछिको हराएको खुसी मुहारमा झल्कियो । उनले शिविरमा पुगेको स्वास्थ्यकर्मीलाई गीत बजाइदिन अनुरोध गर्दै खुसीका साथ आफू र अन्य बिरामीलाई समेत छम्छम्ती नचाइन् ।

पहिले अरूको साहारामा शिविरमा आएकी फुलबारीले दुवै आँखा देख्ने भएपछि खुसी हुँदै छमछमी नाचिन् । खुसीको भावले मानव मन र मस्तिष्कलाई स्वस्थ बनाउँछ भने जस्तै उनको अर्को शारिरीक समस्या समेत कम भयो । मानिस खुसी हुनु भनेको स्वस्थ हुनु पनि हो । ‘म आज जीवनमा सबैभन्दा खुसी भएको दिन हो त्यसैले म अशक्त हुँदा हुँदै पनि आँखा देख्ने भएपछि मेरा अन्य रोगहरू समेत हराए’ फुलवारीले भनिन् ।

उनले भगवान् भनेको मानिस रहेछन् भन्दै खुसीले गधगध हुँदै सबैलाई धन्यवाद दिइन् । ‘हामीहरूले भगवान् भन्ने छुट्टै हुन्छन् भन्ने मलाई लागेको थियो तर भगवान् भनेका मानिस नै रहेछन् तपाईहरूले मेरा दुवै आँखा देखाइदिनुभयो म आज धेरै खुसी छु’ उनले भनिन् ।

उनी सँगै अघिल्लो दिन बोकेर शिविरमा ल्याएका उनका आफ्ना आफन्तीहरू समेत उनको त्यो खुसी र उत्साह देख्दा निकै भावुक बनेका थिए । उनका घरपरिवार र अन्य इष्टमित्रले मुहारमा समेत खुसी झल्केको थियो । उनीहरूले समेत निकै खुसी व्यक्त गरेका थिए । पहिलो दिन नातिनिहरूको साहारामा आएकी फुलबारी अर्को दिन आफै हिडेर घर जान लाग्दा वरपरका छरछिमेकहरूले समेत खुसी व्यक्त गरेका थिए ।

फुलबारीले घर आँगनमै निःशुल्क शल्यक्रिया सेवा पाएर आफूले बर्षौँ पछि उज्यालो संसारमा फेरि रमाउन पाउँदा आफूलाई निकै खुसी मिलेको सुनाइन् । ‘यो बुढेसकालमा मेरा यो भन्दा अर्को खुसी के हुन सक्छ र मेरा दुवै आँखा खुलाई दिएर उज्यालो देखाइदिनुभयो म यसैमा खुसी छु’ फुलबारी वादीले भनिन् । हाम्रा ज्ञानेन्द्रियले दिने रमाइलो खुसी हो भने इच्छापूर्तिले दिने सन्तुष्टि सहितको रमाइलो सुख हो ।

नलगाड–७ जाजरकोटीकी फुलाबारी वादी विगत केही महिनादेखि दुवै आँखा मोतियाविन्दुका कारण बन्द भएपछि निःशुल्क आँखा शिविरमा शल्यक्रिया पछि आँखा देख्ने भएकी हुन् ।

प्रस्तुति : बालाराम खड्का