राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याव सेवा

खेमराज रिजाल
दाङ, ११ कात्तिक । महेन्द्र अस्पतालबाट स्तरोन्नति भएर उपक्षेत्रीय अस्पताल हुँदै गुणस्तरीय स्वास्थ्य सेवा र मेडिकल शिक्षाको थालनी गर्न दाङको घोराहीमा स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘क्याथ ल्याव’ सेवाको अन्तिम तयारी गरेको छ । यसले खास गरी मुटु रोगसम्बन्धी बिरामीलाई तत्काल उपचारको अभावमा ज्यान जाने जोखिमबाट बचाउन सकिनेछ ।

क्याथ ल्याव सेवा सञ्चालनका लागि सवैभन्दा पहिला भौतिक पूर्वाधार निर्माण हो । यसको तयारी भइसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थीले जानकारी दिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वार्डको तल्लो तलामा क्याथ ल्याव सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यो सेवा मुटु रोग विशेषज्ञले मात्र उपलब्ध गराउन सक्छन् । यो सेवा सञ्चालनको अन्तिम तयारीसँगै मुटुरोग विशेषज्ञ पनि प्रतिष्ठानमा आउने सहमति भइसकेको छ । मुटुरोग विशेषज्ञ पनि दाङकै स्थानियबासी हुन् । हाल उनले शिक्षण अस्पताल महाराजगन्जबाट कार्डियोलोजिस्टको पढाइ पूरा गरिसकेका छन् ।

मुटुरोग विशेषज्ञका अनुसार क्याथ ल्याव भनेको मुटुका रक्तनली खुम्चिएमा वा ब्लक भएमा त्यसलाई पाइप राखेर खुलाउने उपचार पद्धति हो । उच्च रक्तचाप वा रक्तनलीमा बोसो जमेका कारण बलक भएमा तत्काल ब्लक खुलाउन रक्तनलीमा सामान्य शल्यक्रियाका माध्यमबाट कृत्रिम पाइप घुसाइन्छ । यसलाई मेडिकल भाषामा स्ट्यान्ट राख्ने पनि भनिन्छ । यो सेवा तत्काल उपलब्ध नभएमा बिरामीलाई हर्ट–अट्याकको सम्भावना बढी रहन्छ । हाल यो सेवा लिन बिरामीलाई कम्तिमा पनि नेपालगन्ज वा भैरहवासम्म पुग्नु परेको छ ।

भैरहवा दाङको घोराहीबाट कम्तीमा एक सय ८० किमीको दुरीमा छ भने नेपालगन्ज पनि करिब करिब त्यत्तिकै दुरीमा रहेको छ । सडक यात्रायातका हिसाबले ती स्थानमा पुग्न मात्र कम्तिमा तीन घण्टा लाग्छ । त्यो अवधिमा एम्बुलेन्समै बिरामीको हृदयघातका कारण ज्यान जान सक्ने खतरासमेत रहने चिकित्सक बताउँछन् । त्यसैले चिकित्सा क्षेत्रमा यसलाई मुटु रोगीको आकस्मिक उपचार सेवाका रूपमा पनि लिइन्छ ।

क्याथ ल्याव सेवाका लागि क्याथ ल्याव मेसिन खरिद प्रक्रिया अघि बढिसकेको छ । सप्लायर्स कम्पनीले कार्गोमार्फत् मेसिन पठाइसकेको छ । केही दिनपछि मेसिन आइपुग्ने अस्पताल प्रशासनले जनाएको छ । ‘कार्डियोलोजिस्टको व्यवस्थापन, प्राविधिकको तालिम, सिसियु कक्ष व्यवस्थापनलगायत सम्पूर्ण पूर्वाधार तयार भएपछि सम्भवतः पुस पहिलो साता क्याथ ल्याव सेवा सञ्चालन गरिनेछ’, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले गोरक्षलाई बताए । विशेष गरी मुटु रोगीहरूको अकालमा ज्यान नजाओस् भनेर यो सेवा सञ्चालन अपरिहार्य भएको पनि उनले बताए ।

क्याथ ल्याव सेवा दिनका लागि एक जना मुटुरोग विशेषज्ञसँग सहमति भइसकेको छ । उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जमा कार्डियोलोजीमा डिएम आउँदो मङ्सिरमा पूरा गर्दै छन् । उनी दाङकै स्थानियबासी हुन् । सेवा सञ्चालनका लागि अन्य दक्ष जनशक्ति पनि आवश्यक पर्ने भएकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जना स्टाफ नर्शलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा तालिममा पठाएको छ । साथै एक जना टेक्नोलोजिस्ट र कार्डियोलोजिस्टको विज्ञापनसमेत भइसकेको प्रतिष्ठान प्रशासनले जनाएको छ । टेक्नोलोजिस्टको अन्तर्वार्ता भइसकेको छ ।

यो सेवा थपिएसँगै अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेफ्रोलोजिस्टको सेवा मात्र अधुरो छ । युरोलोजी, न्युरो सर्जन, एनेस्थेसिया, प्याडियाट्रिक, गाइनो, डर्माटोलोजी, जनरल सर्जरी, जनरल मेडिसिन, इएनटी, अर्थोलगायतका विशेषज्ञ सेवा उपलब्ध छन् । अस्पतालमा हाल दैनिक करिब छ सय ७५ को सङ्ख्यामा बिरामीहरू सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा नेपाल सरकारले निःशुल्क गरेका आधारभूत स्वास्थ्य सेवा सबै उपलब्ध छन् । गरिब तथा असहाय बिरामीका लागि सामाजिक सेवामार्फत् निःशुल्क स्वास्थ्य उपचार सेवा तथा योगदानमा आधारित स्वास्थ्य बिमा सेवासमेत उपलब्ध छ ।

अस्पतालमा समस्या भनेको सुकुम्बासी हटाउने हो । यसमा अझै पनि राजनीतिक सहमति जुट्न सकेको छैन । केही शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आएका छन् तर चार सय बेडको अस्पताल निर्माणलगायत शैक्षिक प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिएको छैन । ‘जग्गा प्राप्तिको प्रक्रिया स्वास्थ्य मन्त्रालयबाट टुङ्गिएर वन मन्त्रालयमा पुगेको छ, सम्भवतः एक÷दुई हप्तामै यो प्रक्रिया टुङ्गिने छ’, प्रतिष्ठानका रजिस्टार लम्सालले भने ।

शिक्षण अस्पताल निर्माणका लागि अस्पतालको स्वामित्वमा रहेका भाडाका टहरा हटाउन सूचना जारी भइसकेको छ । तोकिएको समयमा टहराहरू खाली हुने विश्वास प्रतिष्ठानले गरेको छ । त्यसमा चार सय बेडको अस्पताल निर्माण गरिनेछ । हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएन, बिएस्सी नर्सिङ र एमएनको पढाइ भइरहेको छ । यसैगरी एमडी मेडिसिन, सर्जरी, प्याडियाटिक, गाइनोक्लोजिस्ट, एमडिजिपी, अर्थोमा एमडीको पढाइ भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।