संस्कारी हुँदै दीर्घरोग, उन्मूलन भएका रोगको पुनरागमन

दाङको वार्षिक स्वास्थ्य समीक्षा
खेमराज रिजाल
दाङ, ३१ असोज । दाङ जिल्लामा आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम बिहिबार घोराहीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सम्पादन भएका विभिन्न कार्यक्रमको समीक्षा गर्दै चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउनसमेत आवश्यक सुझाव लिइने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको समीक्षा कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य क्षेत्रमा काम गर्ने दातृ निकायका साझेदार संस्थाका प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि तथा राप्ती प्रादेशिक अस्पतालका प्रतिनिधि एवम् जिल्लाका विभिन्न सञ्चार माध्यममा क्रियाशील सञ्चारकर्मीको सहभागिता रहेको छ ।

समीक्षा कार्यक्रमको औपचारिक सेसनमा बोल्ने स्वास्थ्य क्षेत्र समृद्ध अधिकारी तथा जनप्रतिनिधिले पछिल्लो समस्या भनेको विश्वबाटै उन्मूलन भइसकेका रोगहरूको पुनरागमन र दीर्घरोग संस्कारी बन्दै गएको चुनौतीलाई चिर्न एकीकृत अध्ययन र अनुसन्धान आवश्यक रहेको औल्याइएको थियो । कार्यक्रमका सहभागीले समीक्षा गोष्ठीमा सुझाव दिँदै पछिल्लो समयमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मृगौला रोग तथा क्यान्सरको अवस्था भयावह बन्दै गएकोमा चिन्ता र चासो व्यक्त गरे ।

उन्मूलन भइसकेको जापानिज इन्सिफ्लाइटिस जस्ता रोगको पुनरागमन पनि एउटा चुनौतीको विषय रहेको अभिव्यक्ति दिए । यसमा सुधार ल्याउन खानपानमा सुधारसँगै नियमित आरोग्यताका विषयमा पनि गम्भीर बन्नुपर्ने सुझाव राखेका थिए । यसैगरी सहभागीको चिन्ता कुपोषणको अवस्थासँगै मातृशिशु मृत्युदरमा सुधार ल्याउनतर्फ पनि केन्द्रित थियो ।

‘तपाईँहरूले आफ्ना नागरिकको स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन भरमग्दुर प्रयास गरिरहनुभएको छ तर पनि हामी सामु अझै स्वास्थ्यका केही इन्डिकेटरमाथि उठ्न सकिरहेका छैनन्’, प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भने । पूर्णखोप कार्यक्रमको निरन्तरतासँगै पूर्ण संस्थागत डेलिभरी अभियान र पोषण कार्यक्रमले मातृशिशु मृत्युदरमा कमी ल्याउन सक्ने उनको सुझाव थियो ।

वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका पूर्वसचिव तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले कसैको आशा गरिरहने र कसैलाई हुन्छ भनिरहने प्रवृत्तिले आधारभूत स्वास्थ्य सेवासमेत प्रभावकारी हुन नसकेको बताए । दाङ जिल्लामा समेत कुपोषणको अवस्था व्यापक भएको उल्लेख गर्दै निर्देशक पन्थीले यस क्षेत्रमा काम गर्ने संस्था भने अर्कैको डाटामा खेलेर बसिरहेको अभिव्यक्ति दिए । उनले ती संस्थालाई समुदायसम्म पुग्नसमेत सुझाव दिए ।

यसैगरी उनले चिकित्सकले बिरामीलाई समुचित काउन्सिलिङ गर्नसमेत चुकिरहेको यथार्थ सुनाए । उनले अब पब्लिक हेल्थ मात्र नभएर सोसल हेल्थसँगै जोडेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा अर्का विशिष्ट अतिथि तथा घोराही उपमहानगरपालिका प्रमुख हुमा डिसीले नसर्ने रोगहरूको अवस्था दिन प्रतिदिन भयावह भइरहेको भन्दै यसमा किन यस्तो भयो भनेर अनुसन्धान गर्नुपर्ने समय आएको बताइन् ।

‘घातक नसर्ने रोगहरू संस्कारी भइदिन थाले, उन्मूलन भइसकेका रोगहरू पुनरागमन हुन थाल्नु हामी सबैको चिन्ता र चासोको विषय हो’, उपप्रमुख डिसीले भनिन् । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० देखि भौतिक विकासभन्दा मानव संशोधनको विकासलाई प्राथमिकतामा राखेर आधारभूत स्वास्थ्य सेवाको पहँुच आम नागरिकमा स्थापित गर्न लागिरहेको बताइन् ।

समीक्षा कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका बरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीले स्वास्थ्य सेवालाई अब ‘ट्रेडिस्नल वे’बाट ‘इन्नोसियटिभ वे’तर्फ लैजान स्वास्थ्य क्षेत्र जागरुक हुनुपर्ने बताइन् । यसका लागि मन्त्रालयले आवश्यक निति निर्माणको काम थालेको उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले दाङ हरेक क्षेत्रमा समृद्धिको सम्भावना बोकेको जिल्ला भएको आफूले अनुभूति गरेको बताउँदै स्वास्थ्य सेवाका क्षेत्रमा देखिएका ग्यापको पहिचान गरी अघि बढ्न स्वास्थ्य अधिकारीलाई सुझाव दिए । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका अच्युत न्यौपाने, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, फेयर मेड फाउन्डेसनका लुम्बिनी प्रदेश प्रतिनिधि राजेन्द्र रुचाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा जिल्लाका समग्र स्वास्थ्य कार्यक्रमको हालको अवस्थाका विषयमा स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन गजेन्द्र यादवले प्रस्तुति राखेका थिए । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख शरद घिमिरेले गरेका थिए । शुक्रवारसम्म चल्ने कार्यक्रममा १० वटै पालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादन गरेका कार्यक्रमसँगै चालु आर्थिक वर्षमा सम्पादन गरिने कार्यक्रमको समग्र प्रस्तुति गर्नेछन् । साथै स्वास्थ्य साझेदार संस्थाले आआफ्ना वार्षिक कार्यक्रमका विषयमा जानकारी दिनेछन् ।

किशोरीमा बढ्दै रक्तअल्पताको समस्या
यसैविच दाङका किशोरीहरूमा रक्तअल्पताको समस्या देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच हजार बढी किशोरीमा रक्त परीक्षण गर्दा करिब आधा अर्थात ५६ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको हो ।

जिल्लाका १० स्थानीय तहका विभिन्न १९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत पाँच हजार सात सय नौ जना किशोरीको रक्त परीक्षण गर्दा ५६ प्रतिशत अर्थात् तीन हजार दुई सय १६ जनामा रक्तअल्पताको समस्या देखिएको जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका क्षय÷कुष्ठ रोग फोकल पर्सन गजेन्द्र यादवले जानकारी दिएका छन् ।

उनका अनुसार रक्तअल्पता देखिएकामध्ये ४४ जना गम्भीर र तीन हजार एक सय ७२ जनामा सामान्य रहेको छ । घोराही उपमहानगरपालिकामा सात सय दुई जना किशोरीमा रक्त परीक्षण गर्दा ४३ प्रतिशत अर्थात् तीन सय ३६ जनामा देखिएको हो । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा एक हजार नौ सय ८९ जनामध्ये ५२ दशमलव आठ प्रतिशत अर्थात् एक हजार ५२ जना, शान्तिनगर गाउँपालिकामा दुई सय एक जनामध्ये ८२ दशमलव पाँच प्रतिशत अर्थात् एक सय ८० जना, बंगलाचुलीमा एक सय ६५ जनामध्ये ६९ प्रतिशत अर्थात् एक सय १४ जनामा रक्तअल्पता देखिएको हो ।

यसैगरी बबई गाउँपालिकामा आठ सय ६४ जनामध्ये ७४ प्रतिशत अर्थात् छ सय ३९ जना, दंगीशरण गाउँपालिकामा तीन सय पाँच जनामध्ये ५३ प्रतिशत अर्थात् एक सय ६४ जना, लमहीमा छ सय ५२ जनामध्ये ३५ दशमलव आठ प्रतिशत अर्थात् दुई सय ३४ जना, राप्ती गाउँपालिकामा तीन सय दुई जनामध्ये ६९ दशमलव चार प्रतिशत अर्थात् दुई सय ६५ जना, गढवा गाउँपालिकामा दुई सय चार जनामध्ये ६५ प्रतिशत अर्थात् एक सय ३३ जना र राजपुर गाउँपालिकामा एक सय चार जनामध्ये ६६ दशमलव नौ प्रतिशत अर्थात् ९९ जनामा रक्तअल्पताको समस्या देखिएको यादवले जानकारी दिएका छन् ।

दुई हजार आठ सयले लिए सुरक्षित गर्भपतन सेवा

यसैगरी आर्थिक वर्ष २०८१÷०८२ मा दुई हजार आठ सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार २० वर्ष कम उमेर समूहका एक सय ९१ जना र २० वर्ष माथि उमेर समूहका दुई हजार छ सय ७६ जनाले गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय दाङका यादवले जानकारी दिए । उनका अनुसार १२ हप्तासम्मको गर्भपतन औषधी खाएर ६९ जना र सर्जिकलका माध्यमबाट ८९ जनाले गर्भपतन गराएका छन् ।