रोल्पामा टिमुरबाट आम्दानी

भरत विश्वकर्मा
रोल्पा, ३१ असोज । खेती गरिरहेको बारीको ढिस्को अनि बाँझो बारीमा पाइने टिमुर पछिल्लो समय आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । अन्य खेतीभन्दा उत्पादन राम्रो हुने र बजार मूल्य पनि राम्रो भएकाले टिमुर खेतीप्रति किसान आकर्षित बनेका हुन् ।

परम्परागत खेती प्रणालीबाट सोचे जस्तो आम्दानी हुन छोडेपछि किसान टिमुर खेतीमा लागेका हुन् । एक दशक अघिसम्म धान, मकै, जौँ, गहुँ, कोदोलगायतका बाली लगाएर जीविकोपार्जन गरिरहेका सुनिलस्मृति गाउँपालिका–७ तेवाङ लेखका किसानका लागि टिमुर खेती आम्दानीको मुख्य स्रोत बनेको छ । दशक अघिसम्म अन्य खेतीमा निर्भर रहेका यहाँका किसान अहिले टिमुरको व्यावसायिक खेती गर्न थालेका छन् ।

सुनिलस्मृति–७ तेवाङ लेखका डोरबहादुर विष्टको बारीको ढिस्को र बाँझो जमिनमा प्रशस्त टिमुरका बोट छन् । परम्परागत खेती प्रणालीभन्दा टिमुर खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले थप विस्तार गर्दै लगेका हुन् । पछिल्लो समय अन्य खेतीबाट भन्दा टिमुर खेतीबाट राम्रो आम्दानी भइरहेको उनले बताए । उनले गत वर्ष मात्र टिमुर बिक्री गरेर दुई लाख रुपैयाँ बढी आम्दानी भएको बताए ।

‘टिमुरबाट वर्ष दिनसम्म खान, लाउन पुगेको छ’, उनले भने, ‘टिमुरले राम्रो उत्पादन दिन थालेपछि बाँझो बारी र अन्य खाली रहेको जमिनमा समेत धेरै मात्रामा बिरुवा रोपेको छु ।’ बर्सेनि सिजनमा उनको बारीबाट टिमुर टिप्न केहीले रोजगारीसमेत पाउने गरेका छन् । सिजनमा १०÷१५ जनालाई छोटो समयका लागि रोजगारी दिएको उनी बताउँछन् ।

भदौ, असोज सुरु भएसँगै यहाँका किसानलाई टिमुर टिप्न भ्याइ नभ्याइ हुन्छ । तेवाङको लेखमा विष्टले मात्र नभई त्यो भेगका अधिकांश कृषकको आम्दानीको बलियो स्रोत बनेको छ, टिमुर खेती । तेवाङका प्रायः किसानको बारीमा टिमुर पाइन्छ, टिमुर बेचेरै गाउँका धेरैले जीविकोपार्जन गरिरहेका छन् ।

गाउँको करिब सय घरपरिवार टिमुरखेतीमा संलग्न छन् । टिमुर खेतीमा हेरचाह तथा सुरक्षाको आवश्यकता पनि नपर्ने भएकाले अन्य खेतीलाई प्राथमिकता दिँदै किसानले वैकल्पिक खेतीको रूपमा आम्दानी गरिरहेका छन् । दसैं, तिहार, छठ जस्ता पर्वमा टिमुर हुने परिवारले टिमुर बेचेरै चाडपर्वको लागि खर्च जोहो गर्ने गर्दछन् ।

अर्का किसान पूर्णबहादुर रोका जीविकोपार्जनका लागि गर्दै आएको खेतीबाट राम्रो उत्पादन नभएपछि टिमुरलाई व्यावसायिक खेतीका रूपमा अगाडि बढाउने सोच बनाएको बताए । अहिले उनले बिरुवा रोप्ने गरेको बताए । ‘टिमुर खेती गर्न सजिलो छ, मानिसहरू बाँझो बारी राखेर बिदेसिने गरेका छन्, त्यही बारीमा खेती गर्ने हो भने मनग्य आम्दानी हुनेथियो’, उनले भने ।

खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने तथा सिँचाइको समेत सुविधा नभएकाले टिमुर खेती उत्तम भएको उनको भनाइ छ । बर्सेनि चार लाख रुपैयाँ बराबरको कारोबार गर्ने गरेको उनले बताए । टिमुर खेतीका लागि खासै रोगको प्रकोप नहुने र टिमुर रोपेको करिब ३ वर्षमै उत्पादन दिने भएकाले कृषक यसप्रति आकर्षित हुँदै गएका छन् ।

टिमुर खेती गर्नका लागि अन्य खेती जस्तो गोडमेल तथा हेरचाह पनि गर्नु पर्दैन । टिमुर प्रायः बारीमा साउन भदौदेखि पाक्न सुरु गर्दछ र असोजदेखि किसानलाई टिमुर टिप्ने चटारो हुन्छ । टिमुर गाउँघरमा व्यापारीले मानापाथीको नापोबाट खरिद गर्छन् । प्रतिपाथी पाँच सयदेखि आठ÷नौ सय रुपैयाँसम्ममा टिमुर खरिद÷बिक्री हुने गर्दछ । व्यापारीहरू टिमुर खरिद गर्न गाउँसम्मै आउने भएकाले किसानलाई बिक्रीमा समस्या छैन ।

टिमुर विशेष गरी भान्सामा प्रयोग गर्न र औषधी बनाउन महत्वपूर्ण जडिबुटीको रूपमा लिने गरिन्छ । सुनिलस्मृति गाउँपालिका–७ तेबाङका वडाध्यक्ष रेशम शर्मा रिजालले यस भेगमा टिमुर खेती अत्यधिक हुने भएकाले किसानका लागि आम्दानीको राम्रो स्रोत बन्न पुगेको बताए । टिमुर खरिद÷बिक्रीबाट बर्सेनि करोडौँको कारोबार हुँदै आएको उनले बताए । पछिल्लो समय यसको उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ । जिल्लामा बर्सेनि कति परिमाणमा टिमुर उत्पादन हुन्छ र बिक्री हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि यहाँका किसानले बर्सेनि करोडौँ रुपैयाँको कारोबार गरिरहेका छन् ।